विद्यालयमा कुनै किसिमको आर्थिक अनियमितता सह्य हुँदैन : अध्यक्ष ठाकुर

    • भदौ २७, २०८०
    • २८९ पटक पढिएको
    • गमक पाेस्ट

    लहान, २७ भदौ। लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखरभिन्डामा रहेको जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिकधार नमुना विद्यालयमा कुनै किसिमको आर्थिक अनियमितता सह्य नहुने सरोकारवालाले बताएका छन्।

    राष्ट्रिय लोकमार्गदेखि चार किलोमिटर दक्षिण ग्रामीण भेगमा रहेको त्यस नमुना विद्यालयमा एक करोडभन्दा बढी अनियमितता भएको स्थानीय एक पक्षले आरोप लगाइरहेका छन्। स्थानीय अर्को पक्षले भने आरोप निराधार भएको बताउँछन्।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रनारायण चौधरीको संयोजकत्वमा गठित छानबिन समितिले एक करोड चार लाख ८८ हजार रुपियाँ बेरुजु देखाएर तयार पारेको प्रतिवेदनमा विद्यालयका प्रधानाध्यापक पशुपति साहले अनियमितता गरेको उल्लेख छ। दुई दिनअघि मात्रै प्रधानाध्यापक बस्ने कार्यालयमा तालाबन्दी गरिएको छ। बेरुजु देखिएको रकम प्रअ साहले विद्यालयको खातामा जम्मा नगरे हाजिरी हुन नदिइने बताउँदै संयोजक चौधरीले प्रअको कार्यकक्षमा तालाबन्दी गरी विद्यालयको शैक्षिक गतिविधि भने सञ्चालन नै राखेको बताउनुभयो।

    छानबिन समितिका अर्का सदस्य चन्द्रशेखर यादवका अनुसार अधिकार सम्पन्न समितिले तयार गरेको प्रतिवेदनलाई गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले कार्यान्वयन गर्ने सहमति जनाएपछि समितिले कार्य सुरु गरेको थियो। विद्यालयलाई २३ कट्ठा जग्गा दिएका दाता सूर्यनारायण चौधरी भन्नुहुन्छ, “म पनि १३ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिएँ। प्रअ साहको इमानदारिता लगनशीलता र मेहनतले नै यो विद्यालयको मुहार फेरिएको छ। नमुना विद्यालय भएपछि दाता परिवारलाई गौरवान्वित महसुस भएको छ। सम्मान दिन नसके अनावश्यक आरोप लगाएर अपमान पनि गर्नु हुँदैन।”

    “एक करोडभन्दा बढी बेरुजु भएको रकम अनियमितता भएकै हो भने प्रअ साहलाई पनि कारबाही हुनुपर्छ,” विद्यालय व्यवस्थापन समितिका अर्का पूर्वअध्यक्ष महेश्वर कामैतले भन्नुभयो, “तर यसको छानबिन सरकारी आधिकारिक निकायले गर्नुपर्छ, स्थानीय व्यक्तिले गरेर हुँदैन।” उहाँका अनुसार पहिलो वर्षबाहेक चार वर्ष विद्यालयको भौतिक संरचना निर्माणका लागि अनलाइन ठेक्कामार्फत काम हुँदै आएको छ।

    गाउँपालिकाका अध्यक्ष ठाकुरले छानबिन समितिको प्रतिवेदन अनुसार नै प्रअ साहमाथि कारबाही गर्न नमिल्ने बताउनुभयो। “छानबिन जिल्ला प्रशासन कार्यालय वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायले गर्नुपर्ने हो,” उहाँले भन्नुभयो, “नमुना विद्यालयमा अनियमितता सह्य हुँदैन। नमुना विद्यालय बनाउन अहोरात्र खटिनुभएका प्रअ साहमाथि राजनीति स्वार्थका लागि निराधार आरोप लगाउन पनि हुँदैन।”

    विद्यालयमा कार्यरत ४२ जना शिक्षकलाई मासिक तलब दिनु, १० बजेदेखि ४ बजेसम्म नियमित कक्षा सञ्चालन हुनु, ग्रामीण भेगमा रहेको यस विद्यालयमा एक हजार तीन सय विद्यार्थी हुनु, प्राविधिकधारतर्फ ग्रमीण भेगमा स्तरीय कक्षा सञ्चालन हुनुको साथै भौतिक पूर्वाधारमा सम्पन्न हुनुको प्रमुख श्रेय प्रअ साहको रहेको शिक्षक गजेन्द्र मण्डलले बताउनुभयो।

    अर्का शिक्षक तारणीप्रसाद चौधरी भन्नुहुन्छ, “म विद्यालय रहेको गाउँकै मावि अङ्ग्रेजी शिक्षक हुँ। अरू विद्यालयमा पनि काम गरेको थिएँ। यस विद्यालयमा सरुवा भएर आउँदा प्रअ साहको कार्यशैली व्यवहार र कुशलताले यत्रो भौतिक र शैक्षिक प्रगति हुँदा १० महिना कार्यकाल मात्रै रहेको समयमा सम्मान गर्नुपर्नेमा बेतुकको आरोप लगाएर वातावरण विगार्न लाग्नु चिन्ताको विषय हो।”

    बेरुजु देखाइएका रकमको बिल भर्पाइ सबै सुरक्षित रहेको रकम सबै विद्यालयको बैङ्क खातामा नै रहेको प्रअ साहले बताउनुभयो। कार्य सम्पन्न भएको भुक्तानी साउन महिनापछि पनि भएको, उपकरण खरिदको भुक्तानी भएको भन्दै उहाँले अधिकार सम्पन्न सरकारी निकायले छानबिन गर्दा अनियमितता भए कारबाही भोग्न तयार रहेको बताउनुभयो।
    गोरखापत्रबाट।

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल