काठमाडौं, १२ भदौ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार द्वीपक्षीय भेटवार्ता भएको छ। मन्त्रालयमा भएको शिष्टाचारभेटमा सहकार्य र सम्बन्धका धेरै आयामबारे बृहत छलफल भएको छ।

राजदुत पार्कलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले उनको कार्यकालमा दुईदेशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे।

समयका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठप्रति कृतज्ञता जनाउँदै राजदूत पार्कने नेपालमा आफुले तीन महिनादेखि राजदूतको रूपमा काम गरिरहेको तथा नेपाल र दक्षिण कोरियाको मैत्रीपूर्ण एवम् दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे। दुई देशबीच सांस्कृतिक लगायत धेरै समानता रहेको आगामी वर्ष दुई देशको कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्न लागेको समेत उनले स्मरण गराए।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको र कोइकामार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा सहयोग पुर्‍याएकोमा धन्यवाद दिए। दशकौंको आन्दोलनपछि प्राप्त राजनीतिक परिवर्तनसँगै अहिले नेपालको मुख्य ध्येय गुणात्मक आर्थिक सामाजिक विकास रहेको र यसमा वैदेशिक लगानीको भूमिका महत्त्वपूर्ण हुने पनि श्रेष्ठले बताए। प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाईसकिएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनेहुँदा दक्षिण कोरियाको सहयोग र साथको निरन्तरताको अपेक्षा राखेको उनले बताए। ुइपिएसु कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकोमा धन्यवाद दिंदै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्न समेत आग्रह गरे।

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं र दक्षिण कोरियाको राजधानी सोलबीच सिधा हवाई सम्पर्क स्थापना गर्न पहल गर्नुपर्ने समेत बताए। त्यसबाट नेपाल आउने दक्षिण कोरियाली पर्यटकको संख्यमा उल्लेखनीय वृद्धी हुने, नागरिक नागरिकविचको सम्बन्ध थप प्रगाढ हुने र शान्ति एवम् सौहार्दताको सन्देशसमेत जाने उनले बताए। नेपाल भ्रमण गर्ने कोरियाली नागरिकहरूको सुरक्षामा निश्चिन्त हुन समेत उहाँले आग्रह गरे।

त्यसक्रममा राजदूत पार्कले नेपाल–दक्षिण कोरिया सम्बन्धका तीन आधार शान्ति, नागरिक नागरिकबिचको सम्बन्ध र समृद्धि भएको बताए। इपिएसु कार्यक्रमअन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेको समेत बताए। इपिएसु र कोइकाुमार्फत उद्यमशिलताको प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनले बताए। दक्षिण कोरिया नेपालको चौथो ठूलो विकास साझेदार रहेको र सामसुङ लगायत विश्व प्रसिद्ध दक्षिण कोरियाली कम्पनीहरूले आगामी दिनमा नेपालमा समेत उद्योग विस्तार गर्ने विश्वास उनले व्यक्त गरे।

राजदूत पार्कले नेपाल भ्रमणमा आउने दक्षिण कोरियाली पर्यटक र बौद्ध धर्मावलम्बीहरूको संख्या बढ्दो रहेको समेत बताए। यसै वर्ष नेपाल आएको बौद्ध धर्मावलम्बीहरूको प्रतिनिधिमण्डल टोलीको सुरक्षा र यात्रा सहजीकरणका लागि गृह मन्त्रालय र अध्यागमन विभागलाई उनले विशेष धन्यवाद दिए।