• चन्द्रकिशोर

असार–साउनमा जुन क्षेत्रमा खानेपानीको संकट देखिएको थियो, त्यहाँ मनसुनी वर्षा उत्सवजस्तै भयो । पानीको एकएक थोपा राहत बोकेर झर्‍यो । पानीको प्रत्येक थोपाले आशा र भरोसालाई प्रतिनिधित्व गर्‍यो ।

पानी–संकटले त्रस्त समाजले वर्षाको हरेक थोपालाई मन–प्राणले स्वागत गर्‍यो । यस्तो अनुभूति भयो— फेरि धरतीले नयां तरीकाबाट जीवनको सुरुआत गरिरहेको छ । पानी दर्कियो, खूब दर्कियो । खेतसँगै आलीहरू पनि छोपिए । हरिया घाँस–दुबो उम्रिए । चिराचिरा पर्न थालेका खेतहरू मनभरि भिजे । किसानहरूले धान रोपाइँको सुरसार थाले । चर्को गर्मीले बेहाल जनजीवनमा एकाएक फुहारले बहार ल्यायो । अनि पो भनिन्छ— धरतीको उत्सव हो वर्षा ।

‘फेस सेभिङ’ भयो झरी

यस पालि मनसुनी वर्षा ढिलो आयो तर आउनचाहिँ आयो । पछिल्ला साताहरूमा तराईमा वर्षा नभएको भए के हुन्थ्यो रु कल्पना गर्दा पनि एक भयावह दृश्य अगाडि आउँछ । वर्षाअघि मधेश प्रदेश तथा तराईका अन्य केही जिल्लामा खानेपानीको संकट मुखर भएर आयो । अनि पालिका हुँदै प्रदेश मुख्यालय र संघीय राजधानीसम्म चल्यो पानी राजनीति । यो साउने झरीले धेरै अनुहारलाई छोपिदियो । हालका लागि ‘फेस सेभिङ’ हुन पुगेकामा रिमझिम–रिमझिम झरीको सबैले मजा उठाए । भ्युटावर, प्रवेशद्वार, यत्रतत्र सौन्दर्यीकरण, कंक्रिटीकरणमा व्यस्त र मस्त पालिकाप्रमुखहरू अचानक जेठ–असारमा प्रकट भएको पानीको हाहाकारयता कुम्भकर्णी निद्राबाट ब्युँझिएजस्ता भए । यस क्षेत्रमा सक्रिय राजनीतिक दलहरूलाई पनि करेन्ट लागेजस्तो भयो । कसैले यता ज्ञापनपत्र बुझाए, कसैले उता प्रेस मिट गरे । कसैले वल्लो टोलमा पानी ओसारे, कसैले पल्लो टोलमा डिप बोरिङ गराउन थाले । एउटा टोलीले संघीय खानेपानी मन्त्री महेन्द्र यादवसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा राख्न नभ्याउँदै अर्को टोली फोटो खिचाउन लाम लाग्न पुग्यो ।

उसो त खानेपानीको व्यवस्थापनबारे संघीय खानेपानी मन्त्रीसँग प्रशस्त आइडिया छन्, जसको झलक उनी मौका पाउनासाथ देखाइहाल्छन् । उनीसँग विगतमा सिँचाइ मन्त्रालय सम्हालेको अनुभवसमेत छ, त्यसैले गफ दिन सहज छ । यसबीच तिनको पैतालामुनिको धरातल सुस्तरी सर्‍यो भने अचम्म नमाने हुन्छ । यता प्रधानमन्त्री पुष्पकमल दाहाल ठूलठूला समस्या व्यवस्थापनको चम्किलो प्रकाशमा उभिन पुगेकाले होला, चारैतिर तिरीमिरी मात्र देख्छन् । यस्तोमा तराईको खानेपानी संकट त खुद्रा समस्या पो हो भन्ने उनलाई लाग्छ ।

भूजलको खस्किँदो स्तर

वर्षाको अनिश्चितता छ । कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुन्छ । पछिल्ला वर्षहरूमा यो चक्र झन्झन् निर्दयी बन्दै आएको छ । मधेशको कृषिलाई ‘मनसुनी हावासँगको जुवा’ भन्ने गरिन्छ । हजारौं वर्षदेखिको मनसुनमा आधारित कृषि प्रणाली अब ध्वस्त हुँदै गएको छ । बूढापाकाको सम्झनामा यस पटक धेरै वर्षपछि लामो खडेरी देखियो । पर्याप्त पानी नपरेको लामै समय भयो । यस पटक देखिएको व्यापक पानी–संकट पहिलो पटक हो भन्नेहरू धेरै देखिए । वर्षा याम त यस्तो भयो, झन् माघ–फागुनतिर कस्तो होला रु कुनैकुनै वर्ष जाडो सुरु नहुँदै पोखरीहरूमा पानी घट्न थालिहाल्छ, यस पटक पनि त्यस्तै हुने छाँटकाँट छ । भूजलको स्तर अझ खस्किने आकलन गरिँदै छ । आकाशे पानीले केही साता–महिना संकट त टारिदेला तर मूल समस्याहरू ज्युँका त्युँ रहन्छन् ।

भनिन्छ, समयको अतीतमै समेटिएको हुन्छ समयको भविष्य । अतीतको यथार्थ नबुझेसम्म वर्तमान र भविष्यको व्यवस्थापन गर्न सकिँदैन । आसन्न संकट टर्छ वा टर्दैन भन्ने कुरा अब राजनीतिकर्मीहरूको अग्रसरता, क्रियाशीलता एवं समझदारीले निर्धारण गर्छ ।

पानीको संकट टार्न खानेपानी मन्त्रीसँग कुनै जादुको छडी छैन । कुनै पालिकाले चाहेर पनि एक्लै यसलाई व्यवस्थापन गर्न सक्दैन । केन्द्रीकृत राज्य संरचना लोकतन्त्रको अक्षुण्णताका लागि अवरोधक रहेछ भन्ने कुरा अहिलेको संकटले पनि पुष्टि गरेको छ । पानीको संकट स्थानीय स्तरमा कस्तो देखियो रु प्रादेशिक स्तरमा यो कुन सघनताका साथ व्याप्त छ रु छेउकै अन्य प्रदेशतिर कस्तो अवस्था छ रु यसबारे साझा विमर्शको आवश्यकता छ । के तराईमा पानीको संकट वर्षा अनियमित हुँदा भूसतह रिचार्ज हुन नसक्नुको परिणति हो रु के चुरेको क्षयीकरण, पानीको संकट र मधेशको भविष्य एकअर्कासँग अभिन्न छन् रु मधेशमा पानीको हाहाकारको कारक कतै पहाड र हिमालमा लुकेको त छैन रु भौगोलिक रूपमा तराई, पहाड र हिमालमा भिन्नता देखिए पनि प्राकृतिक रूपमा एकअर्कासँग अभिन्न हुने अवस्था छ र?

पोखरी, कुवा, सिमसारहरू विकासका नयाँ योजनाहरूमा निकै उपेक्षामा परेको छ । सहरी क्षेत्रमा मात्र होइन, स्थानीय सरकार आएपछि त गाउँदेहाततिर पनि पोखरी–कुवा मासिएका छन्, अतिक्रमित भएका छन्, पुरिएका छन् । जम्मा भएको वर्षाको पानीले सम्बन्धित क्षेत्रको भूजलको स्तर उठाउँथ्यो । तर, त्यसैलाई हामीले नष्ट गरिदियौं । भूइँमा पानी सोस्ने स्थिति बनाएनौं, ढलानीकरणको विकासे मोडलले त्यस्तो अवस्था बन्नै दिएनौं । रिचार्ज गरेनौं, केवल तान्ने उपक्रम गर्‍यौं । भयानक चूक भयो । कुनै समय पानीको प्रबन्धनसँग जोडिएको देशज ज्ञान थियो, जसलाई स्थानीय सरकारहरूले अभिलेखीकरण गर्नुपर्नेमा त्यसलाई बिर्से ।

पानीमाथिको पहुँचको लडाइँ तराईमा द्वन्द्वको नयाँ क्षेत्र हुनेछ । यता पानीको बजार मौलाएको छ । मानव सूचकांकमा पछाडि रहेका बहुसंख्यकको बसोबास रहेको क्षेत्रमा पानी किनेर खान सरकारले कसरी भन्न सक्छ रु

बरबाद माटो र पानी

पानी–संकटको तत्काल हल खोज्ने गोलचक्करमा झन् समस्याको दलदलमा फसिँदै छ । तराईको त माटो र पानी दुइटै बरबाद भयो । एक जमानामा अन्नको भण्डार मानिने तराई अहिले चुरेको दोहनले बालुवाकरण, ससाना खोला–नदीको बहावक्षेत्रको विस्तारीकरणले समस्यामा परेको छ । रासायनिक खाद र विषादीको अत्यधिक प्रयोगका कारण समतल क्षेत्रको माटोले मौलिकता गुमाएको छ । यता तराईको जीवनशैली पानीको अत्यधिक प्रयोगमा आधारित थियो । तराई झरेपछि पानी–प्रयोगमा कन्जुस्याइँ हास्यको विषय मानिन्थ्यो ।

तर कहाँ चुके समाज र सरकारहरू रु सच्याउनुपर्ने कुराहरू केके हुन् रु यी प्रश्नको स्पष्ट एवं निर्भीक उत्तर खोज्न र इमानदारीपूर्वक सच्याउन अरू ढिलो गर्न नहुने अवस्थामा हामी पुगिसकेका छौं । कल्पनै गर्न नसकिने ‘सामूहिक पलायन’ रूपी दलदलमा हामी फस्नेछौं । परिस्थितिले हामीलाई त्यतैतिर धकेलिरहेको छ ।

तराईमा जनघनत्व बढेसँगै हामीले सामान्यभन्दा बढी भूगर्भ जलको दोहन गर्न थालेका छौं । हामीले भूमिगत पानीको दोहन गर्ने तौरतरिका र जीवनशैलीको व्यवस्था त गर्‍यौं तर भविष्यको आवश्यकता पूरा गर्न भूगर्भीय पानीको रिचार्जिङतर्फ सोचेनौं । महात्मा गान्धीले यस्तै सन्दर्भमा भनेका थिए, ‘प्रकृतिले सबैको खाँचो त पूरा गर्न सक्छ तर ऊसँग मान्छेहरूको लोभपूर्ति गर्ने सामर्थ्य छैन ।’ यता नेपालको तराईमा पानी संकट छँदै छ, उता सीमावर्ती भारतीय राज्य बिहारमा नल जल योजना ल्याएर भूगर्भीय पानीको अधिक दोहन गरिँदै छ, जसको आफ्नै अर्थराजनीति छ । तर बिहार र उत्तरप्रदेशको राजनीतिले चुरे विनाशसँग उनीहरूको भविष्य गाँसिएको तथ्य बुझ्न जति ढिलो गर्छ, त्यति नै भारतका यी राज्यहरूको भविष्य अनिश्चित र अस्थिर रहन्छ ।

‘सुक्खाले चेप्यो’ भन्ने होहल्ला नसकिँदै बाढीको ताण्डव आइपुग्छ, त्यसको केही अन्तरालमा सुरु हुन्छ ‘शीतलहर’ । यो हो बर्सेनिको तराई–चक्र । यस्ता संकटहरू आउँदा वर्षहरूमा अझै गहिरिनेछन् भन्न धेरै अध्ययनको आवश्यकता पर्दैन । काठमाडौंका विज्ञहरूको आफ्नै बुझाइ छ, यता समतलमा काम गर्नेहरूको आफ्नै ठम्याइ छ । पानीको संकट तराईमा बर्सेनि किन बाक्लिँदै छ भन्ने स्पष्टताको खाँचो छ । दक्षिणी समतलदेखि माथि सगरमाथा ९हिमालय पर्वत शृंखला० सम्म पानीको उपलब्धता, संरक्षण, देशज ज्ञान र चूकहरूबारे सामूहिक लेखाजोखाका लागि चरणबद्ध संवादको खाँचो छ । तराईले पहाडसँग पानीबारे कुरा गर्न वा पहाडले मधेशसँग बात गर्न अलमलिनुपर्ने कुनै कारण छैन । प्रादेशिक अभ्यासका लागि तराईकेन्द्रित मधेश प्रदेश भए पनि मधेशका अन्य क्षेत्रमा पहाड–तराई गाँसिएको छ ।

अबको पानी राजनीतिले नेपाली समाज र संकटलाई फरक ढंगले हेर्ने सामूहिक विवेकको आग्रह गर्छ । राजनीतिकर्मीहरूका भुइँ छाडेका पैतालाहरू भुइँमै नफर्केसम्म सीमान्तीकृत एवं वञ्चित समूह थप शोषित हुनेछ । जनताको वितृष्णा भने बढ्दै गइरहेको छ ।

बिन पानी सब सून

म आज पनि सम्झिन्छु, सानै बयमा मलाई हजुरबुबाले घोकाउनुभएको थियो, ‘सा ते भवतु सुप्रीता देवी शिखर वासिनी, उग्रेण तपसा लब्धो यया पशुपतिः पतिः ।’ जसको अर्थ हुन्छ— हिमालयको शिखरमा बस्ने देवी तिमीमाथि प्रसन्न होउन्, जसले कठिन तपस्या गरेर भगवान् शिवलाई दुलहाका रूपमा पाएकी छन् । उहाँले दोहोराईरहने अर्को पंक्ति हुन्थ्यो, ‘चुरे सकल मूद मंगल मूला, सब सुख करनी हरनि सब सूला ।’ त्यतिखेर यसको गूढार्थ बुझ्न सकिएन, तर पछिपछि यसो गम्न थाल्दा थाहा पाएँ— यो त सीमान्त क्षेत्रका बासिन्दाहरूलाई हिमालय र चुरे पर्वत शृंखलासँगको सम्बन्ध र साइनो बताउने देशज तरिका पो रहेछ । म अलि बुझ्ने भएपछि उहाँ भन्नुहुन्थ्यो— मधेशले हिमालय र चुरेलाई भावनात्मक रूपमा आफ्नो मान्नुपर्छ ।

उहांँका कुरामा पारम्परिक सूत्रहरू बिलकुलै नयाँ संवेदना, नयाँ दृष्टि तथा नूतन प्रतीक एवं विम्ब लिएर उपस्थित देखिन्छन् । उहाँको भनाइमा गहिरो पर्यावरणीय–सांस्कृतिक लगाव छ, सँगै नयाँ हिमालय–चुरे विमर्शतर्फ जान उत्प्रेरितसमेत गर्छ । चुरे क्षेत्रको अत्यधिक संवेदनशीलता र त्यसले देशको जनजीविका र जैविक विविधतामा राख्ने गहिरो प्रभाव बुझ्न सकिन्छ । चुरे शृंखला भनेको हिमालय पर्वत शृंखलाको दक्षिणमा रहेको, माथिबाट बगेर आएका सामग्रीले बनेको सबैभन्दा कान्छो, सबैभन्दा कमलो र सबैभन्दा कमजोर क्षेत्र हो । जन र जीविका, जलभण्डार, जैविक विविधताले भरिपूर्ण । चुरे यस्तो क्षेत्र हो जहाँ कुनै डाँडामा अलिकति खोस्रिने हो भने त्यसले लामो समयसम्म त्यहाँको सतहलाई अस्थिर बनाइदिन्छ । चुरेबारे कोलाहल कम छैन तर यथार्थमा चुरे क्षेत्र झन्झन् थिलथिलो बनिरहेको छ । हिमालय छ र तराई छ । तराईले हिमालयलाई थामेको छ । पानी–संकटको समाधान सबै एकै ठाउँमा खडा नभई सम्भव छैन ।

कान्तिपुरबाट।