नसरी, ३० असार। सुनसरीमा आफ्नै भिनाजुले गोली प्रहारगरी सालीको हत्या गरेका छन्।  हरिनगर गाउँपालिका ६ घर भएकी १७ वर्षीया अर्जना खातुनलाई आफ्नै भिनाजु भारतको अररिया घर भएका आजात मियाँले गोली हानी हत्या गरेका प्रहरीले जनाएको छ। 

मियाँको पृष्ठभूमी नै आपराधिक खालको भएकोसमेत प्रहरीले जनाएको छ।  ‘के कारणले उनले सालीलाई गोली हाने भन्ने अनुसन्धान भइरहेको छ,’ एसपी तिमल्सिनाले भने। 

घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका थिए। भारतको अररीया जिल्ला घर भएका भिनाजु रातिराति मात्रै सालीहरु भएको ठाउँमा आउने गरेको र हिजो पनि राति आएर उनले सालीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ।  

१७ वर्षीया अर्चना खातुनलाई पछाडिबाट गोली हान्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए। 

‘आजाद मियाँ आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। उनीविरुद्ध भारतमा पनि चोरीलगायतका कैयौं अपराधमा संलग्न भएको अभियोग छ। भारतीय प्रहरीले समेत खोजी कार्य गरिरहेका उनी नेपालमा लुकीछिपी बसेको पाएका छौँ,’ एसपी तिमल्सिनाले भने।

घटनापछि शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको जनाएको छ। घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

हत्यामा संलग्न मियाँ फरार छन्। प्रहरीले उनको खोजी पनि गरिरहेको छ।