- विनय आजाद
सिरहा, ३१ असार। सिरहा–माडर सडक अन्तर्गत माडर बजार क्षेत्रमा भइरहेको आरसीसी ढलान गुणस्तरहीन कामगरेको भन्दै स्थानीयले विरोध गरेका छन्। सरकारी निकायको मिलेमतोमै गुणस्तरहीन काम भइरहेको भन्दै स्थानीयले सडकमै टायर बालेर प्रदर्शन गरेका हुन्।
सिरहा सदरमुकामदेखि माडरसम्म नाला, माटो, ग्राभेल र ६० मिटर आरसीसी ढलानको ठेक्का भगत ग्रुप अफ कन्स्ट्रक्सनले पाएको छ। कुल ६ करोड ५८ लाख ५३ हजार ८१० रुपैयाँको यो योजना सम्झौताअनुसार असार ३० गतेभित्र काम सक्नुपर्ने हो।
तर, अहिलेसम्म करिब तीस प्रतिशत काम मात्रै भएको छ। यसअघि काममा सधैं ढिलाइ गरेको ठेकेदार अहिले भुक्तानी लिनका लागि हतार–हतारमा कमसल काम गरिरहेको सिरहा नगरपालिका १७ का वडाध्यक्ष उमेश प्रसाद यादवको आरोप छ।
आरसीसी सडक निर्माण गर्दा सिमेन्ट, बालुवा र गुट्टीको अनुपात ठेकेदारले नमिलाएको उनले बताए। जसका कारण निर्माण गरिएको सडकलाई लट्ठीले उखेल्दा पनि उप्किने गरेको स्थानीय रामकुमार यादवको भनाइ छ।
तर, निर्माण कम्पनीका प्रमुख दिपेन्द्र भगतले भने अहिले कमसल देखिए पनि त्यसमा धेरै काम गर्न बाँकी रहेको र आवश्यक केमिकल दिएर सडक राम्रो बनाउने बताए। सडक डिभिजन लहानका प्रमुख आशुतोष कर्णले यस विषयमा आफूले बुझिरहेको प्रतिक्रिया दिए।
कान्तिपुपरबाट।