सिरहा, ३२ असार। सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन्। मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले नगरपालिका कार्यालयबाटै बुधबार अपरान्ह एक लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको हो।
अहिले टोली नगरपालिकाको कार्यालयमै रहेको र मुचुल्कालगायतका कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको अख्तियार स्रोतले जनाएको छ। अख्तियारका अनुसार, नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन माग गरेका थिए।
तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक रोकेर राखेका थिए। एक साताको मोल–मोलाईपछि मेयर साहले चेक लिनुअघि कम्तीमा एक लाख रुपैयाँ दिएर चेक लान मन्जुरी गरेका थिए। बाँकी रकम खातामा आइसकेपछि दिने सर्त अनुसार राखिएको थियो। सोही रकम लेनदेनमा अख्तियारले रङ्गेहात पत्राउ गरेको जनाएको छ।
साह नेकपा एमालेबाट मेयर पदमा निर्वाचित भएका थिए।
यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए।
यस अघिका मेयर सुर्यनाथ मण्डल पनि घुस लेनदेन प्रकरणमा समयअवघि पुग्नु अगावै निलम्वनमा परेका थिए।