काठमाडौं, ३० असार। ट्राफिक नियम उल्लङ्घन गर्दा अनिवार्य लिनुपर्ने सचेतना कक्षा अब अनलाइन माध्यमबाटै लिन सकिने भएको छ। गृहमन्त्री रमेश लेखकले एक कार्यक्रमका बिच ‘नागरिक एप’ मार्फत सञ्चालन हुने यस सेवाको औपचारिक सुरुवात गरेका हुन्।

e556ad47-a251-4463-a7fc-056601c642f7

यो नयाँ व्यवस्थासँगै नियम उल्लङ्घन गर्ने चालकले अब जरिवाना तिरेपछि ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ।

प्रहरीका अनुसार, देशभर जरिवाना तिरेर पनि सचेतना कक्षा लिन बाँकी रहेका चालकको सङ्ख्या ८३ हजारभन्दा बढी छ। यही समस्यालाई समाधान गर्दै सेवालाई सहज र प्रविधिमैत्री बनाउन अनलाइन कक्षा प्रभावकारी हुने विश्वास लिइएको छ।

के–के कसुरमा लिन सकिन्छ अनलाइन कक्षा?

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा हाँक्ने, लेन अनुशासन पालना नगर्ने र रातो बत्तीमा सवारी साधन चलाउने जस्ता कसुरमा कारबाहीमा परेका चालकहरूले यो अनलाइन कक्षा लिन सक्नेछन्।

कसरी लिने अनलाइन कक्षा?

यो सेवा नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा सञ्चालनमा ल्याइएको हो। अनलाइन कक्षा लिनका लागि 

सबैभन्दा पहिले तोकिएको जरिवाना भुक्तानी गरेको हुनुपर्नेछ। त्यसपछि आफ्नो मोबाइलमा रहेको ‘नागरिक एप’ खोलेर ‘ट्राफिक अनलाइन क्लास’मा गई ‘जोइन क्लास’ मा ट्याप गर्नुपर्छ।

यति गरेपछि एपमा देखाइएका सम्पूर्ण नियम र सर्तहरू पढेर आफ्नो दुवै कान देखिने गरी स्पष्ट अनुहारको फोटो खिचेर अपलोड गरेको केहीवेरमा फोटो अपलोड भएपछिमात्र भिडिओ कक्षा सुरु हुन्छ र तोकिएको समयसम्म पूरा कक्षा लिनुपर्नेछ।

कक्षा चलिरहेको बेला मोबाइलको क्यामेराले प्रयोगकर्ताको अनुहार निरन्तर निगरानी गर्नेछ। यदि एक मिनेटसम्म अनुहार नदेखिएमा वा क्यामेरा बन्द भएमा पहिलो पटक चेतावनी दिइनेछ। यो प्रक्रिया तीन पटक दोहोरिएमा कक्षा स्वतः रद्द हुनेछ।

कक्षाको अन्त्यमा सोधिने छ ओटा प्रश्नमध्ये कम्तीमा ३ ओटाको सही जवाफ दिनुपर्नेछ। अनुत्तीर्ण भएमा सम्बन्धित ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमै उपस्थित हुनुपर्नेछ।

कक्षा सफलतापूर्वक सम्पन्न भएपछि ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) मा स्वतः अपडेट हुनेछ र नागरिक एपमा कक्षा पूरा भएको जानकारी देखिनेछ।

परीक्षणका क्रममा ३९ हजारभन्दा बढीले यो प्रणाली भिजिट गरेको र पाँच हजारभन्दा बढीले सफलतापूर्वक अनलाइन कक्षा लिएको प्रहरीले जनाएको छ। 

यद्यपि ग्रामीण भेगमा प्रविधिको पहुँच, दक्ष जनशक्तिको अभाव र आम नागरिकमा प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको कमी यसको कार्यान्वयनमा मुख्य चुनौतीको रुपमा देखिएको छ।