फाईल फोटो।

जनकपुरधाम, ३१ असार। मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरु संग आग्रह गरेका छन्।

मंगलवार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंगको बैठकमा मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको समस्या समाधानका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउँदै प्रदेश सरकार तथा दातृ निकायहरुबाट गर्न सकिने तात्कालिन र दिर्घकालिन उपायहरु अवलम्बन गर्न आग्रह गरे।

516939538_1305659338233850_8893756082021894389_n

प्रदेशका नागरिकलाई तत्काल राहत महसुस हुने गरि काम गर्न आग्रह गर्दै उनले भने, ‘वैठक र निर्णय मात्र होइन के गर्न सकिन्छ तुरुन्तै सुरु गरौं।’

प्रदेशका सबै १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै उनले प्रदेशका नागरिक समस्यामा रहेका वेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरू लाई आग्रह गरे। प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभाववाट संकटमा रहेका वेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्दछु, मुख्यमन्त्री सिंहले भने। अहिले सुख्खाका कारण धान रोपाइ हुन नसके यसले आगामी दिनमा खाधान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडी बढाउन मुख्यमन्त्री सिंहले सरोकारवाला निकायलाई निर्देश गरे। ‘अहिलेवाट नै काम सुरु गरौं, कहाँ समस्या आउछ मलाइ भन्नुहोस्, तर अव नागरिकलाई यो समस्यावाट निकाल्नु हामी सबै गम्भिरताका साथ लागौं; मुख्यमन्त्री सिंहले भने।

उनले सुख्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसंग आवश्यक छलफल भइरहेको समेत बताए। 

उनले सुख्खा र खानेपानीको समस्या समाधानका लागि हुने सबै प्रयास र कार्यको दैनिक अपडेट गराउन समेत आग्रह गरे।

बैठकमा भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी र उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवकोसमेत उपस्थिती रहेको थियो। यस्तै वर्तमान अवस्थावारे मन्त्रालयगत रूपमा तथ्याङ्क प्रस्तुत गरिएको थियो।

बैठकमा दातृ निकायका प्रतिनिधीहरुले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे।