जनकपुर, १५ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौ पटक मन्त्रिपरिषद बिस्तार गरेको छ।
सोमबार गृह सञ्चार तथा कानून मन्त्रीमा नेपाली काँग्रेसका मोहम्मद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंहलाई नियुक्त गरेपछि मधेश सरकारको मन्त्रिपरिषदले पूर्णता पाएको हो।
नव नियुक्त दुवै जना मन्त्रीले आजै पद तथा गोपनीयताको सपथ लिएको छ। प्रदेश प्रमुखको निवासमा आयोजित एक समारोहबीच दुबै जना मन्त्रीलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ खुवाएका थिए।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलसहित मन्त्रीगण र उच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो। आजै नवनियुक्त गृह सञ्चार तथा कानूनमन्त्री समिमले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।
मन्त्री समिमले पदभार ग्रहण गर्दै शन्ति सुरक्षालाई थप प्रभावकारी बनाउनुको साथै आर्थिक वर्ष २०८०–८१ का लागि मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट इमान्दारिताका साथ अगाडि बढाउने निर्णय गरेको छ।
सोही क्रममा नवनियुक्त गृह सञ्चार तथा कानूनमन्त्री समिमले आजै आफ्ना मन्त्रालय मातहतका कर्मचारीलाई जनताले महशुस गर्नेगरी कामकाज गर्न निर्देशन समेत दिए। उनले प्रदेशमा सञ्चार क्षेत्रको बिकासका लागि नवीनतम प्रविधिको अधिकतम प्रयोग, प्रेस स्वतन्त्रता, सञ्चार तथा सूचनाको हकको सुनिश्चितता र नागरिकमा सूचनाको पहुँच विस्तारमा असल अभ्यास र नयाँ दृष्टिकोणबाट काम गर्ने प्रतिवद्धता जनाए।
योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। जसपाबाट विनाविभागीय मन्त्री सुरिता साह यथावत् रहेको छ।