• मीना मरासिनी

भनिन्छ, विपत्ति बाजा बजाएर आउँदैन । विपद्को घटना हुनुअघि बाजा नबज्ने मात्र होइन यसको लप्कोले धनी—गरिब, महिला–पुरुष, सुगम–दुर्गम केही पनि छुट्ट्याउँदैन । यसबाट सालाखाला के बुझिन्छ भने, आर्थिक, लैंगिक, सामाजिक, भौगोलिक आदिका हिसाबले विपद् तटस्थ हुन्छ । तर विपद् आफैंमा तटस्थ परिघटना भए तापनि यसको प्रभाव तथा क्षतिको गहनता भने उल्लिखित आयामहरूबाट निरपेक्ष रहन सक्दैन।

विश्वव्यापी तथ्यहरूबाट के पुष्टि हुन्छ भने बाढी, पहिरो, भूकम्प, आँधीबेहरीजस्ता प्राकृतिक विपद्हरूबाट महिला र पुरुष तथा बालबालिकामा पर्ने प्रभावका साथै विपद्बाट हुने क्षतिसमेत फरकफरक हुने गर्दछ । सन् २००४ मा हिन्द महासागरमा आएको सुनामीलाई यसको सबैभन्दा प्रस्ट सबुत मान्न सकिन्छ ।

तथ्यांकअनुसार उक्त सुनामीमा ज्यान गुमाउने २ लाख ३० हजारमध्ये ७० प्रतिशत महिला थिए । कुनै पनि विपद्मा परी महिला तथा बालबालिकाले ज्यान गुमाउने जोखिम पुरुषको तुलनामा १४ गुणाले धेरै हुने यूएनडीपीको एक रिपोर्टले देखाएको छ । उता, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम ९यूएनईपी० को एक प्रतिवेदन अनुसार विश्वमा जलवायुजन्य विपद्का कारण विस्थापित हुने मानिसमध्ये ८० प्रतिशत महिला हुने गरेका छन्; जलवायुजन्य प्राकृतिक विपद्बाट ज्यान गुमाउनेमा ८९ प्रतिशत महिला नै छन् ।

यद्यपि विपद्पछिको उद्धार तथा राहत कार्यमा पुरुषको सहभागिता धेरै हुने र त्यस क्रममा पुरुषले ज्यान गुमाउने जोखिम पनि उच्च रहने गर्दछ । तर विपद््को घटना भइरहँदा पनि महिला धेरै प्रभावित हुन्छन् । त्यसबेला एउटै घरभित्र बसेको अवस्थामा समेत पुरुषको तुलनामा महिलाले ज्यान गुमाउने सम्भावना धेरै हुन्छ । विपद्बाट उम्किनका लागि आवश्यक पर्ने शारीरिक सामर्थ्य वा बल एउटा कारण हुन सक्छ, जुन स्वाभाविक रूपमा पुरुषको तुलनामा महिलामा कम हुन्छ । तर विपद्को असर तथा प्रभावमा हुने लैंगिक भिन्नता केवल जैविक तथा शारीरिक फरकपनले मात्र सिर्जना गरेको होइन ।

यसमा विभिन्न आर्थिक, सामाजिक, मनोवैज्ञानिक तथा व्यावहारिक कारण छन् । तथ्यांकले के देखाउँछ भने विपद्का बेला महिलाहरू पुरुषको तुलनामा आफ्ना बालबच्चा तथा परिवारका सदस्यको हेरचाह गर्ने तथा बचाउने कोसिसमा धेरै लाग्दछन् । यसले गर्दा उनीहरूसँग आफैं भाग्ने वा अन्यबाट उद्धार गरिनका लागि प्राप्त मूल्यवान् समयको अभाव हुन्छ । यही कारण जिउज्यानको क्षति हुने जोखिम उच्च रहन्छ ।

यसका लागि महिलालाई हाम्रो समाजमा प्राप्त पारिवारिक तथा सामाजिक भूमिका जिम्मेवार छ । ग्रामीण भेगमा मात्र नभई सहरमा समेत अधिकांश महिला गृहिणीको भूमिकामा हुन्छन् जसको जिम्मेवारी तथा भूमिका भनेकै परिवारका सदस्यहरूको हेरचाह तथा स्याहारसुसार गर्नु रहन्छ । परिवारको पुरुष सदस्य रोजगारी तथा व्यवसायको सिलसिलामा प्रायः आफ्नो घरभन्दा बाहिरै रहने अवस्थाले गर्दा पनि विपद्को समयमा घरमा रहेका महिला, बालबालिका तथा वृद्धवृद्धा नै धेरै प्रभावित हुने गरेको पाइन्छ । यस्तो जिम्मेवारी तथा भूमिकाको अन्तरले गर्दा व्यक्तिले भोग्ने अनुभव तथा संकटका बेला जोगिनका लागि गर्ने कार्यमा असर पारेको हुन्छ ।

समाजका सबै क्षेत्रमा विद्यमान लैंगिक असमानताले महिलामा विपद्को जोखिम र क्षति भोग्नुपर्ने खतरा उच्च बनाएको मात्र छैन, समग्रमा समुदायकै विपद् सहन सक्ने क्षमता अर्थात् समनशक्तिलाई कमजोर तुल्याएको छ । महिलामा विपद्को पूर्वतयारी, पूर्वसूचना प्राप्तिका साथै विपद् हुँदाको अवस्थाको बचावटका सम्बन्धमा ज्ञान र सीपको कमी छ । त्यस्तै, विपद्का बेला उद्धार संयन्त्रहरूसमेत महिलामैत्री बन्न सकेका छैनन् । समाज र संयन्त्रहरूमा विपद्का बेला सुरुमा बालबालिका, वृद्धवृद्धा तथा महिलाहरूलाई उद्धार गर्नुपर्दछ भन्ने विश्वव्यापी मान्यता पालनाको अभाव छ । जसको शक्ति उसको भक्ति भनेझैँ बलियाहरू नै सुरुमा ज्यान जोगाउनतर्फ लाग्दछन् ।

विपद्पश्चातको प्रतिकार्य र पुनर्लाभका क्रममा पनि महिलाको विशिष्ट लैंगिक आवश्यकताको सम्बोधन, गोपनीयता तथा सम्भावित हिंसाबाट संरक्षण भएको पाइँदैन । आर्थिक तथा भौतिक स्रोत प्राप्ति र पहुँचको पनि अभाव देखिन्छ । विपद्का कारण घरबारविहिन भएर आश्रयस्थलमा शरण लिइरहेका महिला, किशोरी तथा बालिकामाथि विभिन्न खालका यौनहिंसा हुने गरेका घटना सुनिन्छन् । यो अवस्थाले विपद्को क्षतिको सघनतामा बढोत्तरी गर्ने मात्र होइन, अन्य गम्भीर मानवीय विपद् र सामाजिक समस्याहरू सिर्जना हुने जोखिम रहन्छ । अतः विपद्ले विद्यमान लैंगिक विभेदले बढाउँछ ।

यसमा सामाजिक मूल्य मान्यताहरू, परम्परा, गरिबी तथा शिक्षा र चेतनाको अभावजस्ता कुराहरूले टेकोका काम गर्दछन् । विपद्ले भौतिक संरचना तथा सेवालाई समेत अवरुद्ध बनाउँदा आम मानिसको खाना, पानी, स्वास्थ्य तथा शिक्षामाथिको पहुँचमा पनि बाधा उत्पन्न हुन्छ । अझ संरचनागत तथा सांस्कृतिक कारण महिला तथा किशोरीले अतिरिक्त बाधाको सामना गर्नुपर्दछ जसले स्रोतमाथिको पहुँचलाई झनै चुनौतीपूर्ण बनाइदिन्छ । धनजनको क्षति हुने जलवायुजन्य विपद्को मात्रा बढ्दै जाँदा महिलाको औसत आयुमै कमी आएको समेत विभिन्न अध्ययनले देखाएका छन् । यसको मुख्य कारण भनेको विपद्मा पुरुषको तुलनामा महिलाको मृत्युदर बढी हुनु वा कम उमेरमा ज्यान गुमाउने महिलाको संख्या बढ्नु नै हो ।

त्यस्तै जलवायु परिवर्तन तथा विपद्ले महिलाको स्वास्थ्यलाई जोखिममा पारेको, आधारभूत स्वास्थ्य सेवा माथिको पहुँचमा समेत अड्चन पैदा गरेको र मातृशिशु स्वास्थ्यमाथिको जोखिम बढाएको देखिन्छ । शोधकर्ताहरूका अनुसार जलवायु परिवर्तनका कारण बढेको चरम गर्मीका कारण गर्भ खेर जाने दर बढेको छ । साथै विभिन्न नयाँ महामारीको फैलावटले प्रसूतिजन्य समस्यामा पनि बढोत्तरी भएको छ । जब महिला विस्थापित हुन्छन् उनीहरूमाथि यौनलगायत विभिन्न हिंसाको जोखिम उच्च रहने गरेको छ ।

विपद्को आर्थिक असर सर्वव्यापी हुने भए पनि महिलामा यसको अधिक तथा असमानुपातिक असर पर्ने तथ्यांकले देखाउँछ । विश्व बैंकका अनुसार कृषि क्षेत्रमा महिला किसानमा पुरुषको तुलनामा विपद्को जोखिम उच्च हुन्छ । विश्वभर नै अधिकांश महिलाका लागि प्राथमिक तथा मुख्य आयको स्रोत नै कृषि भएको हुनाले विपद्ले यस क्षेत्रमा क्षति पुर्‍याउँदा त्यसको असर अवर्णनीय हुन्छ । अनि क्षतिबाट बौरिन वित्तीय तथा भौतिक स्रोतमाथि महिलाको पहुँचसमेत अभाव हुने हुँदा विपद्पश्चात्को पुनर्लाभसमेत कठिन हुन्छ । त्यसैले विपद् व्यवस्थापनको प्रक्रियामा महिलालाई आफ्नै खुट्टामा उभिन सक्ने गरी सशक्तीकरण र लगानी गर्ने हो भने त्यस्तो परिवार तथा समुदाय विपद््को ध्वंसबाट छिट्टै बौरिन सक्ने विभिन्न अध्ययनले देखाएका छन् ।

यावत् तथ्यबाट के भन्न सकिन्छ भने विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, विपद् प्रतिकार्य र पुनर्लाभका कार्यहरू गर्दा महिला तथा बालबालिकाका विशेष आवश्यकता तथा समस्याहरू सम्बोधन गर्ने गरी तय गरिनुपर्दछ । विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका सम्बन्धमा महिलामा भएका व्यावहारिक तथा परम्परागत ज्ञान तथा कौशलका साथै स्थानीय सीप— जुन प्रायः लुप्त अवस्थामै हुन्छन्– लाई पहिचान र उपयोग गर्दै महिलाको विपद् जोखिम न्यूनीकरण क्षमतामा अभिवृद्धि गर्न सकिएमा समुदायको विपद् सहनशक्तिमा बढोत्तरी भई विपद्को क्षति कम हुन्छ ।

स्थानीय मौसम–वातावरण तथा विपद्को इतिहासका साथै वातावरण संरक्षणका विषयमा महिलामा हुने परम्परागत तथा रैथाने ज्ञान, सीप, अनुभवका साथै सञ्जालले कुनै पनि समुदायको विपद्बाट बच्ने तथा विपद्लाई सहने शक्ति बढाउनुका साथै धनजनको क्षति कम गराउन मद्दत गर्दछ । विपद् व्यवस्थापनमा शिक्षा र चेतनाको प्रवाह, सामुदायिक परिचालन, विपद्को अवस्थामा हेरचाह तथा मनोवैज्ञानिक सहायता, दिगो तथा समनशील पुनर्लाभका साथै विपद्को

पूर्वसूचनामा शताब्दिऔंदेखिको व्यावहारिक ज्ञानको उपयोगजस्ता विषयमा महिलाको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ । वास्तवमा लैंगिक समानतामा हुने सुधारले कुनै पनि मुलुकको विपद् समनशीलताको मजबुतीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दछ । त्यसैले विपद् व्यवस्थापनका हरेक चरणमा लैंगिक सवाललाई मूलप्रवाहीकरण गर्दै महिलाको क्षमता र भूमिका बढाउन सकियो भने मात्रै बाह्रै महिना आइरहने अनेक खालका विपद्हरूको बज्रफातबाट समुदायमा हुने धनजनको क्षतिलाई कम गर्न सकिन्छ।
कान्तिपुरबाट।

361363286_6108001529308303_7825561886409034214_n