सिरहा, १७ जेठ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गलत सहमति गर्नसक्ने बताउँदै त्यसको लागि खवरदारी गर्नुपर्ने बताए। नेकपा एमाले जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै भारत भ्रमणमा आजै गएका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरित सम्झौता गरे पार्टी चुपलागेर नबस्ने पूर्व उपप्रधानमन्त्री समेत रहेका पोखरेलले बताएको हो।
उनले आफ्नो पार्टी सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरित हुने कुनैपनि सहमति सम्झौता मान्य नहुने बताए। नेता पोखरेलले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत र व्यवस्थित पार्टी वनाउन कार्यकर्ताहरुलाई आव्हान गरे।
जनता समावादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन्।
आजै जिल्लाकै सखुवानन्कारकट्टी गाउँ पालिकामा नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य सागरदेवी चौधरी, पार्टीका नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादवलगात जिल्ला स्तरका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्।
प्रवेश कार्यक्रममा नेता पोखरेलले पार्टीका होनहार नेता कार्यकर्ताले केही समयको लागि बाटो विराएपनि अहिले सहि ठाउँमा आएको बताए। उनले सवैको भविष्य यहि पार्टीमा भएकाले बाटो विराएकाहरुलाई मूलघरमै पुनः स्वागत रहेको बताए।
गोलबजार नगरपालिकामा भएको भएको पार्टी प्रवेश कार्यक्रममा धेरैजसो गएको प्रदेश तथा प्रतिधीसभाकै निर्वाचनकै वेला पार्टी प्रवेश गरेकाहरुको लर्को रहेको थियो। नेकपा एमालेकै एक कार्यकर्ताले भने, ‘पार्टी प्रवेश भनेपनि गत प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचनको अधिल्लो दिन जसपा छोडेर नेकपा एमाले प्रवेश गरेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह र मनोज कुमार सिंहसँगै पार्टीमा आएकाहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यजस्तो देखियो।’ उनका अनुसार केही नयाँ व्यक्तिहरु विभिन्न पार्टी छोडेर आएको भएपनि अधिकाम्स सिंहहरुसँगै पार्टीमा आएकाहरु थिए।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, जिल्लाका नेकपा एमालेबाट निर्वाचित नगरपालिकाका मेयर तथा अध्यक्षहरु र पार्टीका नेताहरुको उपस्थिति रहेको थियो।