काठमाडौं, १७ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि आज अपरान्ह प्रस्थान गरेको छ। जम्बो टोलीसहित प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको हो।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले भोलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल छन्। भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ।
त्यस अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो। प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार स्वदेश फर्किने तालिका रहेको छ।