विराटनगर, २२ बैशाख।  ब्रेन ह्यामरेज भएर उपचारका क्रममा मृत्यु भएका सिरहाका ४७ वर्षे वीरेन्द्र सदाको शवलाई अस्पतालले उपचार खर्च नतिरेको भन्दै ‘बन्धक’ बनाएको छ । सिरहा नगरपालिका–१४ का सदालाई ब्रेन ह्यामरेज भएपछि परिवारले उपचारका लागि २८ चैतमा विराटनगरको न्युरो अस्पताल पुर्‍याएका थिए । २० दिनपछि उनको मृत्यु भयो । अस्पतालले परिवारले पैसा तिरेर मात्रै शव लैजान पाउने भन्दै रोकेको हो ।

वीरेन्द्रकी श्रीमती मालतीले उपचार खर्च जुटाउन नसकेकै कारण श्रीमान्को मृत्यु भएको दुखेसो सुनाइन् । ‘आफ्नो न घर, न जग्गा । साहुसँग हारगुहार गरेर ऋण खोज्दा दुई लाख जुटाएर अस्पताल पुर्‍याएँ,’ उनले भनिन्, ‘त्यतिले उपचार गर्न पुगेन । उपचारमा लागेको खर्च तिर्न नसक्दा अस्पतालले लास पनि दिएको छैन ।’

गाउँमा गरिखाने आधार नभएपछि मिर्चैयामा डेरा गरेर बसेका वीरेन्द्र नजिकै अपुर साहको पुस्तक पसलमा काम गर्थे । २७ चैतमा काम गर्दागर्दै ढलेका वीरेन्द्रलाई जनकपुरमा प्राथमिक उपचारपछि भोलिपल्ट न्युरो अस्पताल पुर्‍याइएको थियो । आईसीयूमा राखेर उपचार थालेपछि डाक्टरले बिरामी ठीक हुने तर केही महिना वा वर्ष पनि लाग्न सक्ने बताएका थिए ।

‘आईसीयूमा राखेर उपचार भइरहेको थियो, खर्च बढेको बढ्यै । भर गरेका साहुसँग कपाली गरेर दुई लाख रुपैयाँ त जुटाएँ । तर त्योभन्दा धेरै पैसा जुटाउन सकिनँ,’ मालतीले भनिन्, ‘अस्पतालले यिनीहरू मधेशका सदा हुन्, पैसा बुझाउन सक्दैनन्, बेलैमा घर पठाइदिऔं भन्न थालेको थियो । तर, मैले म पैसाको बन्दोबस्त गर्छु, उहाँलाई बचाइदिनुस् भनें ।’

पैसा नतिरे जायजेथाबाट असुली गर्ने गरी अस्पतालले कागजमा हस्ताक्षर गराएपछि पैसा खोज्न घर फर्किएको उनले बताईन् । ‘त्यसको तीन दिनपछि उहाँ बित्नुभएको खबर आयो । मसँग उहाँको अन्तिम संस्कार गर्ने पैसा छैन, अस्पताललाई कहाँबाट तिरूँ ? सबैसँग हारगुहार गरिसकें, मुसहर भनेर कसैले दिँदैनन् ।’

बिरामीलाई छोडेर पैसा खोज्न घर फर्किएकी मालतीलाई गत सोमबार बिहान अस्पतालले फोन गरेर श्रीमान् बितेको खबर सुनाएको थियो ।

बेहोस् भएका वीरेन्द्र उपचारपछि आँखा खोल्ने र ‘आँखाको भावमा कुराकानी गर्ने’ भइसकेको उनले बताइन् । तर, पैसा नभएकाले श्रीमान्लाई बचाउन नसकेको भन्दै भक्कानिन्छिन् । बिरामी श्रीमान्को उपचार गर्ने पैसा खोज्न घर फर्किएकी उनी अस्पताल फर्किन सकेकी छैनन् । आमाले पैसा लिएर आउने र शव लैजाने आसमा विराटनगरमा छोरा अंकित शव कुरेर बसेका छन् ।

आफूसँग पैसा छैन भन्दा अस्पतालले पैसा नल्याए शव लैजान नपाउने र अगाडि गरेको कागजका आधारमा जायजेथाबाट असुलेर मात्र शव दिने भनेको उनले बताइन् । अस्पतालका अनुसार वीरेन्द्रको उपचारमा लागेको ३ लाख ३५ हजार रुपैयाँ तिर्न बाँकी छ । त्यस्तै, नजिकको अर्यान फार्मेसीमा औषधि खरिद गरेको २ लाख ६५ हजार रुपैयाँ उधारो छ । ‘आमा र मामाहरू घरबाट पैसा लिएर आउने भनेर जानुभएको छ तर तीन दिन भयो, आउनुभएको छैन,’ छोरा अंकितले भने । उनी औषधि उधारो दिने फार्मेसीमै बसेका छन् ।

अस्पतालले भने पैसा लिएर आउने भनेर हिँडेका मृतकका आफन्त सम्पर्कविहीन भएको दाबी गरेको छ । प्रशासन प्रमुख मात्रिका पोखरेलले मृतकका आफन्त पैसा लिएर आउने भन्दै शव छाडेर हिँडेपछि फर्केर नआएको बताए । उनले परिवार सम्पर्कमा आए अस्पतालले छुट दिएर भए पनि शव दिन सक्ने बताए । फार्मेसी सञ्चालक समीर आलमले आफूकहाँ २ लाख ६५ हजार रुपैयाँ बाँकी रहेको बताए । ‘औषधिको ३ लाख ३५ हजार भएको हो, त्यसमध्ये ६० हजार बुझाउनुभएको छ, अब २ लाख ६५ हजार बाँकी छ,’ उनले भने, ‘मैले त जमिन बिक्री गरेर पैसा तिर्छु भनेपछि उधारो दिएको थिएँ ।’

उनले मृतकका छोरा अंकितलाई समेत आफूले संरक्षण दिएको दाबी गरे । ‘बाहिर बस्ने अवस्था रहेनछ, उहाँहरू पैसा लिन जानुभएको, आउनुभएन । छोरालाई मैले नै संरक्षण दिएर राखेको छु,’ उनले भने ।

मालती पनि नर्स हुन् । सानैदेखि डाक्टरको रेखदेखमा हुर्किएकी मालतीले सरकारी खर्चमा नर्सिङ पढ्ने मौका पाएकी थिइन् । नर्सिङ पढे पनि उनी ६ वर्षदेखि बेरोजगार छिन् । ०५५ मा कक्षा ६ मा पढ्दापढ्दै वीरेन्द्रसँग बिहे गरेकी मालतीले २०५९ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरिन् । ‘सानैमा बिहे भएपछि आमा भएँ, केटाकेटी हुर्काउँदै कक्षा १२ सम्म पढें,’ मालतीले भनिन् ।

कक्षा १२ सकेपछि उनको सानो छोरा अंशु ९ महिनाको मात्रै थियो । त्यसबेला उनले सरकारी कोटामा नर्स पढ्ने मौका पाइन् । जनकपुर नर्सिङ क्याम्पसबाट नर्सिङ पढेकी उनको पढाइको सबै खर्च सरकारले बेहोर्‍यो । सरकारले उनलाई मासिक ३५०० रुपैयाँ खर्चसमेत दिएको थियो । काखमा दूधे बालक च्यापेरै उनी २०७० सालमा स्टाफ नर्स बनिन् । त्यसपछि उनको जागिरे जीवन सुरु भयो । तर, त्यो सुखद रहेन ।

मिर्चैयाको एसकेजे पोलिक्लिनिकमा काम गर्न थालेकी उनलाई सुरुवातमा ७ हजार रुपैयाँ तलब दिएको थियो । त्यहाँ उनले ९ महिना काम गरिन् । त्यसबेला सरकारी जागिर खाने उद्देश्यले उनले लोक सेवामा समेत प्रयास गरिन् । धनकुटासम्म पुगेर परीक्षा दिइन् । तर, नाम निस्किएन ।

‘०७१ मा राष्ट्रिय योजना आयोगअन्तर्गत स्वास्थ्य स्वयंसेवकमा नाम निस्कियो । राजविराजस्थित जिल्ला स्वास्थ्य कार्यालयबाट कल्याणपुर स्वास्थ्य चौकीमा नियुक्ति भयो,’ उनले भनिन्, ‘तर मुसहर भएकै कारण त्यहाँ ममाथि राम्रो व्यवहार भएन । कार्यस्थलमा एकदमै धेरै अपमानित हुनुपर्‍यो ।’

उनले कार्यस्थलमै दुर्व्यवहार र जातीय भेदभाव खेप्नुपरेको थियो । त्यहाँ उनले दुई वर्ष काम गरिन् ।‘घरबाट जान दैनिक दुई सय रुपैयाँ भाडा लाग्थ्यो । महिनामा ६ हजार गाडी भाडामै सकिने,’ उनले अघि भनिन्, ‘बाँकी ६ हजारले परिवार धान्नै मुस्किल थियो, कोठा लिएर बस्ने उपाय थिएन ।’ त्यसपछि उनले जागिर छोडिन् ।

घरजग्गा नभएपछि मिर्चैयामा डेरा गरेर बसेका उनीहरू वीरेन्द्रको मजदुरीबाटै बाँचेका थिए । उनीहरूका दुई छोरा र एक छोरी छन् । महिनाभरि काम गर्दा वीरेन्द्रले २० हजार कमाउँथे । मासिक पाँच हजार डेरा भाडा बुझाउनुपर्छ । बाँकीले घर खर्च चल्ने गरेको थियो ।

कान्तिपुरबाट।