सिरहा, १९ बैशाख। आफ्नै नगरपालिकामा कार्यरत कर्मचारीमाथि ज्यानै लिने तहको सांघातिक हमला हुँदा भत्सर्नासमेत गर्न नसक्ने मेयर मधेश प्रदेशमा फेला परेका छन् । उनी हुन्, सिराहाको धनगढीमाई नगरपालिकाकाका प्रमुख शिवशंकर महतो । उनी गत स्थानीय तहको चुनावमा एमालेबाट मेयरमा निर्वाचित भएका हुन्।

घटना बैशाख १५ गते शुक्रबारको हो। दिउँसो पौने १ बजे दुई व्यक्ति महेन्द्र राजमार्गसँगै जोडिएको धनगढीमाई नगर कार्यालयको माथिल्लो तल्लामा रहेको प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेको कार्यकक्षमा प्रवेश गर्छन्। कार्यकक्षमा छिर्नासाथ बगालेमाथि हातपात हुन्छ । छेउमै रहेका नगरप्रहरीले आक्रमण प्रयासको प्रतिकार गर्छन्। घम्साघम्सीबीच दुवै आक्रमणकारी एकै स्वरमा गर्जिंदै भन्छन् : अरूले सित्तैंमा उत्खनन् गरेर गिट्टी ग्राब्रेल लैजान पाउने, हामीले चाहिँ पैसा तिरेर पनि किन नपाउने ! आज छोडिँदैन, यसलाई ठोकिन्छ। 

त्यसबेलासम्म दुई आक्रमणकारीको पञ्जामा परिसकेका प्रमुख प्रशासकीय अधिकृत बगालेको होस हवास उडिसकेको हुन्छ । सक्ने भए ज्यान जोगाउन उनी झ्यालबाटै हाम फाल्थे होलान् । तर, ढल्कँदो उमेरका कारण होला उनले त्यो हिम्मत गरेनन् । नगर प्रहरी र आक्रमणकारीबीच छिनाझम्टी चलिरहँदा अर्का एक व्यक्तिको त्यहाँ प्रवेश हुन्छ । कार्यकक्षमा प्रवेश गर्नसाथ उनले ढोकाको चुक्कुल लगाउँछन् र टि–टेबुलमा राखिएको मिनरल वाटरको बोतलले प्रमुख प्रशासकीय अधिकृत बगालेलाई परैबाट प्रहार गर्छन् ।

पानीको बोतलले बगालेलाई लाग्दैन । उनलाई कार्यकक्षमै रहेका एक सेवाग्राहीले जोगाउँछन्। ७ मिनेटको ताण्डव नृत्य सकेर उनीहरु त्यहाँबाट बाहिरिन्छन् । चिटचिट पसिना पुछ्दै बगाले लामो सास तान्दै आफ्नो कुर्सीमा बस्छन्। कार्यपालिका परिसर सन्नाटामय हुन्छ । सबै कर्मचारीको ओठ र तालु सुकिसकेको देखिन्छ।

धनगढीमाई नगर कार्यालयमा घटेको यो घटना मधेश प्रदेशमा गिट्टी ग्रावेलको अवैध उत्खनन्मा संलग्न माफियाहरूको अराजकताको एउटा दृष्टान्तमात्रै हो । पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत बगालेको कार्यकक्षमा प्रवेश गरेर आक्रमण प्रयास गर्ने नेपालका नामुद क्रसर व्यवसायी बेचन साह हुन् भने सँगै छिरेका अर्का धनगढीमाई नगरपालिकाका रामएकवाल यादव (बतवा) हुन् । त्यस्तै, ढोकाको चुकुल लगाएर बगालेमाथि पानीको बोतलले हान्ने व्यक्ति धनगढीमाई नगरपालिका–१२ का महेश अधिकारी हुन्।

                                                    किन भयो आक्रमण प्रयास ?

मधेश प्रदेशमा नदीजन्य सामाग्री उत्खनन्का महारथी नै मानिन्छन् बेचन शर्मा । धनुषाको मिथिला नगरपालिकामा पर्ने ढल्केवर छेउको हरिहरपुरमा उनले क्रसर उद्योगको नाममा गिट्टी ग्राबेल संकलन केन्द्र खोलेका छन् । खोला उत्खनन् रोक्ने महाअभियानमा होमिएका ढल्केवरका दिलिप महतो हत्याकाण्डमा बेचनको संलग्नता रहेको चर्चा अझै ताजै छ ।

पछिल्ला दिनमा गिट्टीग्राबेल उत्खनन्मा घाटा बेहोरिरहेका उनले कमलामाई सप्लायर्समार्फत् महेन्द्र राजमार्गको कमला–कञ्चनपुर सडकखण्ड स्तरोन्नती गरिरहेको चिनियाँ रेलवेलाई ती सामाग्री बेचिरहेका छन्। धनगढीमाई नगरपालिकामा व्यक्तिको जग्गामा उत्खनन् गरिरहेका छन् । पटक–पटकको लिखित ताकेता गर्दा पनि उत्खनन् बापत नगरपालिकालाई बुझाउनुपर्ने कर नतिरेपछि प्रमुख प्रशासकीय अधिकृत बगालेले उत्खननमा रोक लगाएका थिए । त्यसैले बेचनको समूहले उनीमाथि आक्रमण प्रयास गरेको बताइन्छ।
 
बगालेमाथिको आक्रमणविरूद्व स्थानीय तह कर्मचारी युनियन, सिरहाले नगर कार्यापालिकाको कामकारबाही बन्द गरेको छ भने उपमेयर सङ्गिताकुमारी चौधरीले घटनाको विज्ञप्तिमार्फत भत्सर्ना गरेकी छन् । तर, मेयर महतोले भने शंकास्पद मौनता साँधेका छन्।
समयअभावका कारण विज्ञप्ति निकाल्न नपाएको उनको प्रतिक्रिया छ । यता घटनाबारे बेलिबिस्तार सुनाएका प्रमुख प्रशासकीय अधिकृत बगालेले आक्रमण प्रयासपछि आफू मानसिक तनावका कारण काम गर्नसक्ने अवस्थामा नरहेको बताउँदै भने : ज्यानको बाजी लगाएर कसरी काम गर्न सकिएला र!

यसैबीच सत्तारूढ नेपाली काँग्रेस, नेकपा मओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टीलगायत दलका स्थानीय नेताहरूले पनि संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्सर्ना गरेका छन्।

जनआस्थाबाट