साङ्केतिक फोटो।

  • आशिष विश्वकर्मा

सिरहा, १७ वैशाख। नेपाली समाज (खासगरी मधेसमा) व्याप्त महिला हिंसाको “डढेलो” दाइजो र “धारिलो कटार” बलात्कारले सुखी सम्पन्न परिवारलाई कसरी बर्बाद पार्छ? त्यस व्यथाको मर्म बुझ्न कर्जन्हा नगरपालिका वडा ३ मा जानुपर्छ। अपर्याप्त दाइजोका कारण दुईवटी बिबाहिता छोरीलाई ज्वाईले वाराम्वार मृत्युमय यातना दिएर घरनिकाला गरेपछिको पीडाले माता पिताको छाती कति छियाछिया हुन्छ, अनुमान लगाउन सकिन्छ। त्यसमाथि जन्मिदै अपाङ्ग भएर जन्मेकी अर्की छोरी बलात्कारको शिकार भएपछि पीडा नाप्ने कुनै मानक नै रहँदैन। कम्युनिष्ट आन्दोलनको उर्वर भूमि कर्जन्हामा जन्मिएकी यी तीन छोरीको यथार्थ कथाले छोरी भएर जन्मिनु लैङ्गिक हिंसा भोग्नै पर्ने सामाजिक नियति हो भन्ने कुरालाई पुष्टि गर्छ।

कर्जन्हा नगरपालिका ३ की ४७ वर्षिया पारोदेवी यादव (नाम परिवर्तित) होची कदकी भएपनि हिस्सी परेकी छिन्। शारिरीक सुगठन र बान्की मिलेकी पारोदेवीको मुखमण्डलमा हरहमेसा मन्द मुस्कान झल्किएको देखिन्छ। अधरको मुस्कान उनले सुन्दर प्राकृतिक उपहार पाएकी छन् र त्यही मुस्कान उनको असह्य पीडा छोप्ने मजेत्रो बनेको छ।

पारोदेवीको आर्थिक हैसियत ज्यालामजदुरी गर्ने हो। पति–पत्नीले बनीबुतो गरेर परिवार खुशीसाथ चलाइ रहेका थिए। श्रीमान र आफूले श्रम गरेर तीन छोरी र एक छोरा सहित छ जनाको परिवार जीवन निर्वाह भइरहेको थियो। छोरीहरु हुर्किए। तीन वर्ष अघि आफन्त र माईतिकाहरुले खोजेका र रोजेका युवकसँग पारोदेवीका परिवारले १९ वर्षिया छोरीको बिबाह गरिदिए। दाइजोका कारण छोरीको बिबाहको दायित्वले गह्रुंगो पाहाडले थिचेजस्तो महसुस भइरहेकोबेला एउटी छोरीको घरबार बसेकोमा पारोदेवी दम्पती हर्षित थिए। त्यसको वर्षदिन नबित्दै माइली छोरीको पनि विवाह जु¥यो। दुईवटी छोरीको हातखुट्टा सफलतापूर्वक लगायौं भनेर ती दम्पती दंगदास थिए।

पारोदेवीले भन्छिन्, ‘दुबै छोरीको बिबाह पछि हामी अझै खुशी भयौं। सानी छोरी र छोरा सहित परिवार चलिरहेको थियो, तर त्यो खुशी धेरै दिन टिकेन।’ बुढापाकाले भन्थे “विपत्त हुल बाँधेर आउँछ” त्यस्तै भयो। विपत्तको बज्रले सुखी सम्पन्न परिवारलाई क्षतविक्षत बनाइदियो।’ पारोदेवीको परिवारमा आएको यो विपद प्राकृतिक प्रकोप होइन। गलत र कुरुप सामाजिक संरचनामा कायम रहेको लैङ्गिक हिंसाको परिणाम हो।

विवाहको केही दिनपछि नै जेठा ज्वार्इंले छोरीलाई दुखः दिन थाले। कुटपिट गर्ने, खान नदिने, दाइजो पुगेन भनेर मानसिक पीडा दिने गर्न थाले। माइती पक्षबाट दिएको गरगहना पनि खोसेर बेचेर खाईदिए। गरगहाना सकिएपछि छोरीलाई दिनहुँसाजो कुटपीट गर्ने, माइतीसँग २ लाख ५० हजार मागेर ल्याउन दवाव दिने गर्न थाले। यो प्रकृया लामै समयसम्म चलिर्हयो। यातना खप्न नसकेर कतिपटक छोरी घरै छोडेर भागेर पनि आइन्। पारोदेवीले भन्छिन्, ‘कतिपटक सम्झाई–बुझाई छोरीलाई घर पठायौं। पछि फेरि उही अवस्था दोहरियो। एक पटक छोरीले ‘अव पठायौं भने म मर्छु’ भनेपछि छोरी अहिले हामीसँगै छे।’

जेठी छोरी माइती आएर बस्न थालेको दुई चार महिना नबित्दै माइली छोरी पनि घरबाट माइती आइन्। उनलाई पनि ज्वाईंले दुखः दिन थालेछन्। उनी माइती आएको पनि वर्षदिनभन्दा बढी भइसक्यो, ज्वाईंले खोजी खबर गरेका छैनन्। माइली छोरी पनि अहिले माइतिमै छन्। हामीले खोजखवर गर्दा पनि बेवास्ता गरिरहेका छन् ज्वाईंले।

पारोदेवीको दुखःका बह सबाइ झैं वहन्छ। ‘बिबाह भएकी दुईवटी छोरीहरुको घरजम बिग्रियो। त्यहीबेला कान्छी छोरी (जो अपाङ्ग छिन्) गाउँकै एक नरपिसाचबाट बलात्कृत भइन्। पारोदेवी भन्छिन् ‘त्यसपछि म लगभग विक्षिप्त जस्तै भएँ।’

‘घटना पछि सवैलाई हार गुहार गरें। गाउँ समाज र जनप्रतिनिधि सबै भेला पारें । सबैले गाउँमै मिल्न सुझाव दिए।’ पारोदेवीले भनिन, ‘मेरो चित्त बुझेन, मैले प्रहरीेमा उजुरी गरें। बलात्कारी पक्राउ परे। उ अहिले जेलमा छ।

‘महिलामाथि हुने हिंसाका यी तीनवटा बज्रपात मेरै परिवारमा भयो। यी तीनवटा घटनाले मलाई एकै समयमा अजिंगरले शिकार बेरे झैं बे¥यो। भूमरीमा परेकालाई सिन्काको पनि साहारा हुन्छ। त्यसवेला मलाई पूर्व नगर उप प्रमुख ज्ञानु श्रेष्ठले सहयोग गर्नुभया उहाँले छिमेक र आफन्तले छोरीलाई घर पठाउन दबाब दिइरहेका बेला ‘छोरीलाई मर्न पठाउन खोज्नु भएको हो?’ भन्दै गाउँलेसँग प्रतिवाद गर्नुभयो र जेठी छोरीलाई अहिले सिलाई कटाई सिक्न सहयोग गरिरहनु भएको छ।’
पारोदेवीले भनिन, ‘छोरीहरुको बिबाहमा भएको ऋणपान तिरोभरो गर्न घरमा भएको गरगहना र जमिन पनि बिक्री गरें। अव बस्ने घरेडीबाहेक सम्पत्तिको नाममा केही छैन। छोरीहरु माइतिमा आएर बसेका छन्। कान्छी छोरी अपाङ्ग छिन् छोरा ५ कक्षामा पढिरहेको छ। हामी दुवैजनाको कमाईले जीवन गुजाराको मेसो जसोतसो होला तर छोरीहरुको अवस्थाले सधै मन पोलिरहन्छ।’

पारोदेवीको मनमा दुखः र विपत्तीको गणना छैन, सुन्नेको पनि आँखा रसाउँछ। पारोदेवीले यो सबै घटनाको बेलिविस्तार लाइरहँदा उनको गला पटक पटक अवरुद्ध भए। आँखाबाट बलिन्द्र अश्रुधारा बग्दै गालामा पुगे तर, आमा रोएको देखेर छोरा छोरीको अनुहार मलिन हुन्छ भन्ने पीरले उनी झटपट मुस्कुराछिन् । यो दारुण दुखःको पहाड छिचोलेर पारोदेवीले परिवार चलाउलिन् तर हाम्रो समाज महिला हिंसामुक्त कहिले हुने? बलात्कारको सिकार र दाइजोको जलनबाट छोरीहरु कहिले सुरक्षित हुने? के छोरी भएर जन्मिनु पीडा भोग्ने नियति हो? पारोदेवी सोध्छिन् , ‘यही हो सुन्दर समाजको बान्की?’