वीरगञ्ज, २५ चैत। पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ निवासी ७० वर्षीय बिजयश्वरी देवी शनिवार बिहानैदेखि उत्साहित थिइन्। करिब ३ वर्षदेखि हातखुट्टा दुख्ने, अनियन्त्रीत रक्तचापका साथै शरिर सुन्निने समस्या समाधान नहुँदा आजित बनेकी उनीमा नेपाली सेनाको स्वास्थ्य शिविरमा परीक्षण गराएपछि निको हुने आशा पलाएको थियो।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडर्वा निवासी ८० वर्षीय रमुना कानु पनि यस्तै आशा बोकेर श्रीपुर पँचगावास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय औराहामा नेपाली सेनाले आयोजना गरेको बृहत स्वास्थ्य शिविरमा पुगेका थिए। लामो समयदेखि पेट र कम्मरमा हुने दुखाई निको हुने उनको विश्वास थियो।
सखुवाप्रसौनी ४ दर्वाना निवासी ७२ वर्षीय पलट चौधरी भन्छन्, ‘हातखुट्टा दुख्ने समस्या धेरै समय पहिलैदेखि हो, धेरै ठाउँमा देखाउँदा पनि ठीक भएन। नेपाली सेनाले शिविर गरेको खबर पाएपछि अली धेरै विश्वास भएर आएको छु।’
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ की ६३ वर्षीय कुबती देवी ५ वर्षदेखि दमको समस्याबाट ग्रसित छिन्। उनले भारतको पटनादेखि नेपालको वीरगञ्ज, भरतपुर, काठमाण्डौ लगायतका शहरमा पनि चेकजाँच गराइसकिन्। जति चेक गराएपनि ठीक नभएको कुबतीको दुखेसो छ। वडा नम्बर २ बस्ने ६२ वर्षीय बेचैनी देवी अनुहार फुल्ने र दुख्ने समस्याले आजित छिन् । उनले भनीन्, ‘शहरमा गएर चेकजाँच गराउन पैँसा छैन, समय पनि छैन । गाउँमै स्वास्थ्य शिविर भएको खबर पाएपछि चेकजाँच गराउन आएकी हुँ।’
स्थानीय ८० वर्षिय बृद्ध दुखी हजरा दुसादले चेकजाँच गराएपछि औषधी लिएर फर्किँदै गर्दा भने, ‘पहिले सेना बन्दुक बोकेर गाँउमा आउँथे, तर आज डाक्टर र दवाई बोकेर पो आएछन्, सेना त साँच्चै हामी जनताको लागि पो रहेछन्।’
डेढ महिना देखि घुडाँ दुखेर हैरानी खेपिरहेपनि आर्थिक अभावका कारण शहरको अस्पतालमा उपचार गराउनबाट असमर्थ दुसादले भने, ‘गाँउमै सेनाले शिविर लगाइदिदाँ म गरिब बुढोका लागि सेना भगवान जस्तै लागे, डाक्टरसाबले राम्ररी चेकजाँच गरिदिए अनि दवाइ पनि दिए।’
नेपाली सेना २८ नम्बर बाहिनी अड्डाको पहलमा श्री श्रीजंग गणले आयोजना गरेको शिविरबाट १ हजार भन्दा धेरै जना बिरामी लाभान्वित भएका छन्। नेपाली सेना मध्य पूर्वी पृतना हेडक्वाटरको निर्देशनअनुरुप आयोजित शिविरमा सखुवाप्रसौनी, पटेर्वासुगौली, जिराभवानी गाउँपालिकासँगै बहुदरमाई नगरपालिकासमेतका बिरामीहरुले स्वास्थ्य चेकजाँच गराएका छन्। शिविरमा फिजिसियनदेखि आँखा, दाँत, नाक, कान, घाँटी, छाला, स्त्री तथा प्रसुती रोगहरुको चेकजाँच गरिएको थियो।
बरिष्ठ फिजिसियन डा. निरज कुमार सिंह, सर्जन डा. मनोज गुप्ता, स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वय डा. लक्ष्मी थापा र डा. प्रिती यादव, नाक कान घाँटी रोग विशेषज्ञ डा. आमोद श्रेष्ठ, डेन्टल सर्जन डा. विकास पटेल, छाला विशेषज्ञ डा. निलमणी प्रियदर्शनी लगायतले बिरामीको चेकजाँच गरेका थिए।
आँखा विशेषज्ञ एवम् केडिया आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. नितिन तुल्स्यान, डा. सरिता यादव, राजदेव साह, राजेश यादव, लालबाबु मण्डल लगायतले आँखा सम्बन्धी चेकजाँच गरेका थिए।
नारायणी अस्पतालमा कार्यरत स्टाफ नर्सहरु सृष्टि बिष्ट, ओशिका भट्टराई, मनिषा पाण्डे, अस्मिता थापा, अस्मि बस्नेतले पनि शिविरमा सहभागी बिरामीहरुको नाम दर्ताका साथै मधुमेह तथा रक्तचाप परीक्षण गरेका थिए।
ग्रामिण क्षेत्रमा रहेको सखुवाप्रसौनी गाउँपालिकाका जनतालाई उपचारका लागि बाहिर जानुपर्ने प्रतिकुल अवस्थालाई मध्यनजर गर्र्दै नेपाली सेनासँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए। उनले भने, हाम्रो गाउँपालिका पूर्ण रुपमा ग्रामिण क्षेत्र हो। साथै यहाँका जनता एकदम धेरै विपन्न हुनुहुन्छ । उहाँहरु आर्थिक अभावकै कारण पनि उपचार गर्न जान सक्नुहुँदैन। त्यसैले गाउँमै शिविरको आयोजना गरेका हौँ।’
प्राथमिक उपचारका लागि सखुवाप्रसौनी गाउँपालिका पर्सा जिल्लाकै पहिलो पालीका भएको बताउँदै उनले भने, ‘हाम्रो पालिकाका ५ वटै वडाको स्वास्थ्य चौकीबाट पनि प्रभावकारी रुपमा सेवा प्रवाह भइरहेको छ। हामी स्वास्थय र शिक्षाको क्षेत्रमा एकदम गम्भिर छौँ।’
नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले स्थानीयको आवश्यक्तालाई मध्यनजर गर्दै बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको प्रतिक्रिया दिए। जनता र नेपाली सेनाबिचको सम्बन्धलाई सुमधुर बनाउन पनि शिविरले सघाउ पुग्ने विश्वास व्यक्त गर्दै उपरथी अधिकारीले भने, ‘हामीले सुरक्षासँगै स्वास्थ्यलाई प्राथमिकता दिँदै आएका छौँ । अन्य जिल्लामा पनि यस्ता शिविर निरन्तर रुपमा गर्दै आएको हुँदा यहाँ पनि गरिएको हो।’
नेपाली सेनासँगै सखुवाप्रसौनी गाउँपालिका, नेशनल मेडिकल एशोसिएशन, केडिया आँखा अस्पताल, प्रभु हस्पिटल, श्रीराम हस्पिटल, शान्ति क्लिनीक र नेपाल औषधी कर्मचारी संघको सयुँक्त पहलमा शिविर सम्पन्न भएको हो।
शिविरमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मि, पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, श्रीजंग गणका गणपती कर्णेल डायमण्ड कार्की, सामाजिक अभियानताहरु प्रकाश थारु, दिलिपराज कार्की, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतको उपस्थिती रहेको थियो।
 


                    
                            
                                                            


        
        
        















