वीरगञ्ज, २२ चैत। तराई–मधेसमा विकासको लहर ल्याउनुमा आफ्नो पार्टीको सबैभन्दा ठूलो योगदान गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन्। अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले बुधबार वीरगञ्जमा आयोजना गरेको प्रथम महाधिवेशनको उदघाट्न समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले नेतृत्व सरकारकै पालामा तराई मधेसले विकासमा फड्को मारेको दावी गरेका हुन्।

यसअघि एमाले नेतृत्व सरकारको साढे तिन वर्षको कार्यालयमा तराई–मधेसलाई जोड्ने बहुप्रतिक्षित र राष्ट्रिय गौरबको योजना हुलाकी राजमार्ग निर्माण, मदन भण्डारी लोकमार्ग, प्रत्येक स्थानीय तहमा स्वास्थ्य संस्थाको सथापना जस्ता महत्वपूर्ण काम भएको ओलीको भनाई छ।

मधेश प्रदेशमा एमालेलाई निषेधित गर्ने नारा चलिरहँदा आफ्नो नेतृत्वको सरकारले प्रदेशमा १ लाख २२ हजार हेक्टर जग्गा सिंचित गर्ने ‘सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ल्याएको ओलीले बताए। एमाले नेतृत्वकै सरकारले ल्याएको ‘जनता आवास’ कार्यक्रमका कारण हजारौं दलित तथा गरिवहरुले आज पक्की घर पाएको उनको जिकिर गरे।

वीरगञ्ज र जनकपुर जस्ता मधेशका ठूला र महत्वपूर्ण शहरमा ४ र ६ लेनको कालोपत्रे सडक पनि आफू प्रधानमन्त्री रहेकै बेला निर्माण गरिएको उनले बताए। उनले भने, ‘एमाले नेतृत्वको सरकार हुँदा जनातामा यो देशमा सरकार छ भन्ने अनुभूती थियो, तर अहिले त जनताले सरकार नै नभएको अनुभूती गरिरहेका छन्।’

एक फरक प्रसंगमा बोल्दै ओलीले सरकारसँग नेपालको राष्ट्रिय गानमा रहेको त्रूटीहरुलाई सच्याउनु पर्ने आग्रह गरे। ‘म सरकारलाई आग्रह गर्न चाहन्छु। राष्ट्रिय गान अगाडि प्याँ प्याँ प्याँ प्याँ प्याँ... धुन बजाइन्छ। सयौं थुंगा फूलका हामीभन्दा अगाडिको धुन हटाइनुपर्छ। राष्ट्रय गान भनेको शब्दको धुनबाट सुरु हुनुपर्छ र शब्दकै धुनबाट अन्त्य हुनुपर्छ।’

उनले सिनेमा घरहरुमा पनि फिल्म सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बजाउँदा देखाइने तस्विर पनि फेर्नुपर्ने माग गरे। पर्दामा देखाइने राष्ट्रको पृष्ठभूमीमा संविधानको तस्वीर राख्नुपर्ने सुझाव दिए। साथै लिम्पियाधुरा बिनाको नक्सा देखाइने हुँदा त्यसलाई सच्याएर पूरा नक्सा राख्नुपर्ने ओलीको सुझाव छ।

ओलीले पिछडावर्ग महासंघले अरु कुनै जाति वा समुदायको अधिकार खोस्नका लागि नभई आफनो अधिकार र पहिचानका लागि संघर्ष गरिरहेको बताए। सामाजिक कुरीति, विकृति हटाउनका लागि सामाजिक आन्दोलन चलाउन ओबिसि महासंघलाई ओलीले आग्रह गरे।

एमाले अध्यक्ष ओलीकाअनुसार सामाजिक समानता, समाजिक उत्थान, सामाजिक जागरण, राष्ट्रिय एकता र विकास एमालेका मूलमन्त्र हुन्। कुनैपनि धर्म र जातिको नाममा सामाजिक सद्भाव खल्बलाउने प्रयास गरिए त्यो एमालेलाई सह्य नहुने उनले बताए।

अखिल नेपाल पिछडावर्ग (ओबिसि) महासंघका केन्द्रिय अध्यक्ष तेजपकाश निषाधको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई पूर्वउपप्रधानमन्त्री एवम् एमालेका सचिव रघुवीर महासेठ, प्रतिनिधिसभा सदस्य प्रभु हजरा, राजकुमार गुप्ता, एमाले पर्साका संयोजक डा. विश्वम्भर शर्मालगायतले सम्बोधन गरेका थिए।

barger