काठमाडौं, २० चैत। बारा २, चितवन २ र तनहुँ १ मा आउँदो वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
मंसिर ४ गतेको चुनावमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा २, रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन २ र राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. १ मा उप निर्वाचन हुन लागेको हो।
उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनको जुलुस लिएर जान नपाइने निर्वाचन आयोगले जनाएको छ।
यस्तै, बाजागाजा, झाँकी तथा निर्वाचन आचारसंहिता विपरीतका ब्यानर, चिह्न र झण्डा लिएर पनि जान नपाईने निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारको पहिचान झल्किने लोगो, टीका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड पनि प्रयोग गर्न नपाइने आयोगले जनाएको छ।
उपचुनावका लागि गएको शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। मुख्य दलहरुले उम्मेदवार पनि तय गरिसकेका छन्।