वीरगञ्ज, १९ चैत। नेकपा एमालेका पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई नागको संज्ञा दिएका छन्।
आइतबार वीरगञ्जमा राष्ट्रिय युवा संघको जिल्ला भेलालाई सम्बोधन गर्दै बस्नेतले उपेन्द्र यादवलाई तीन टाउको भएको नागको संज्ञा दिए। पूर्व मन्त्रीसमेत रहेका बस्नेतले भने, ‘जसपा, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार उपेन्द्रजी तीन टाउको भएको नागको रुप धारण गरेर फेरि मधेशमा चुनाव लड्न आएका छन्, उनलाई बारा २ का जनताले अवश्य सबक सिकाउनेछन्।’
आफूलाई मधेशको मसिहा भनेर प्रचार गराउने उपेन्द्र यादवले मधेशको लागि कुनै काम नगरेको बस्नेतको दावी छ। मधेशमा यादवको पार्टीले सरकार चलाएको ६ वर्ष बितिसक्दा पनि यहाँका जनताले विकासको अनुभूति गर्न नसकेको उनको भनाई छ। ‘आफूलाई मधेशको मसिहा ठान्ने उपेन्द्र यादवको दलले मधेशमा ६ वर्षदेखि सत्ता सम्हालेको छ। तर, यहाँको अवस्थामा कुनै सुधार भएको छैन, विकासको नाममा कुनै काम भएको छैन। उल्टै दयनीय भएको छ,’ उनले भने, ‘मानव विकासको हरेक सूचांकमा मधेश प्रदेश सबैभन्दा पछाडी छ, सबैभन्दा बढि गरिबी मधेशमै छ, खाडीमा जाने पनि सबैभन्दा बढि मधेशकै दाजुभाइहरु हुनुहुन्छ, यो सबको जिम्मेवार उपेन्द्र जी र उहाँको दल जसपा नै हो।’
सप्तरीका जनताले हराएर पठाएका उपेन्द्र यादवलाई बाराका जनताले पनि पराजित गराउने उनले दावी गरे।
बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने रमेश खरेलप्रति कटाक्ष गर्दै बस्नेतले भने, ‘काठमाडौं–१ का जनताले हराएका रमेश खरेलजी चुनाव जित्न नयाँ पार्टीको खोल ओढेर मधेशमा आउँदै छन्, उनलाई बारा–२ का मधेशी जनताले पनि राम्रैसँग सबक सिकाएर पठाइदिने छन्।’
बारा–२ मा एमालेले जनताका प्रिय र योग्य उम्मेदवार चयन गर्ने बताउँदै बस्नेतले भने, ‘एमालेबाट को व्याक्ति उम्मेदवार बन्छ भन्ने कुराले त्यति महत्व राख्दैन, तर म ठोकुवा गरेर भन्छु बारा–२ मा एमालेले जित्छ जित्छ।’
राष्ट्रिय राजनीतिको प्रसंगमा बोल्दै बस्नेतले अहिले राष्ट्रियता र एमालेका विरुद्ध ११ दल एकठाँउमा उभिएको आरोप लगाए। यद्यपि ११ दलको गठबन्धनलाई पहिलो गाँसमै ढुंगा परेको बताउँदै उनले भने, ‘सरकार विस्तारमा रोजेको मन्त्रालय नपाएपछि सिके राउत र रवि लामिछानेहरु जिल्लिएका छन्। यसले सिके र रविजीहरु पनि सत्ताको लोभी र दोहोरो चरित्रको भएको पुष्टि भएको छ।’ यी दुई दललाई पनि बारा–२ का जनताले सबक सिकाउने उनले बताए।
एमाले अब सत्ताको लागि देउवा र प्रचण्डको पछि नलाग्ने उनले प्रष्ट पारे। एमाले अब जनताको माझमा गएर जनताको पिरमर्का बुझ्ने र त्यसको समाधानका लागि सडकदेखि सदनसम्म सशक्त आवाज उठाउने उनले बताए।
काँग्रेस, माओवादी र कथित मधेशवादी दलहरु गरिब, उत्पिडित र शोषित जनताको पक्षमा नभएको आरोप पनि बस्नेतले लगाए। उनले भने, ‘यी दलहरु सरकारमा पुग्ने बित्तिक्कै दलाल, नोकरशाही र पूँजीपतिको पक्षमा काम गर्छन भन्ने पटक–पटक पुष्टि भइसकेको छ। यिनीहरुबाट मधेशको विकास सम्भव छैन।’
राष्ट्रिय युवा संघ नेपालका पर्सा जिल्ला इन्चार्ज महम्मद निजामको अध्यक्षतामा भएको कार्यक्रमलाई एमाले केन्द्रिय सदस्य राज कुमार गुप्ता, जालिम मियाँ मन्सुरी, संविधानसभा सदस्य विचारी यादव, एमाले जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा, एमाले नगर सचिव सुन्दर कुर्मी, नेता शिव पटेल, अकलेश साह, तेजप्रकाश निषादलगायतले सम्बोधन गरेका थिए।