सूर्य वि.क.
वीरगञ्ज, १५ चैत। रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ रिक्त छ। त्यहाँ निर्वाचन आयोगले आगामी वैशाख १० गते उपचुनाव गर्ने घोषणा गरिसकेको छ। चुनाव घोषणा भएसँगै त्यहाँ राजनीतिक सरगर्मी मात्र बढेको छैन पेचिलो पनि बन्दै गएको छ।
बारा–२ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने भएका छन्। बुधवार नै जसपाले त्यस क्षेत्रबाट यादवको एकल नाम सिफारिस पनि गरीसकेको छ। सप्तरीमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतान्तरले पराजित भएका उपेन्द्र यहाँबाट लडेर संसद् पस्ने दाउमा छन्। रामसहायलाई उपराष्ट्रपति बनाएर बारा–२ रिक्त भएपछि यहाँबाट चुनाव लड्ने उनको सुरुदेखिको योजना थियो। उपेन्द्र आफ्नो योजनाको पहिलो चरणमा सफल भए। तर, उनको दोस्रो चरणको योजनालाई विफल पार्न फेरी डा. सिके राउत बाधक बनिरहेका छन्।
डा. सिके राउत उपेन्द्रलाई जसरी पनि हराउने रणनीतिअनुरुप काम गरिरहेका छन्। उपचुनाव घोषणा भएदेखिनै डा. राउतले बारामा फिल्डीङ दह्रो बनाएका छन्। केही दिन अगाडि मात्रै उनले त्यहाँ एउटा कार्यक्रमको आयोजना गर्दै उपेन्द्रलाई लक्षित गरेर कडा अभिव्यक्ति दिएका थिए। राउतले बारामा स्थानीयले नै चुनाव लड्नुपर्ने बताउँदै उपेन्द्रलाई फिरंगीको संज्ञा दिएको भाषण अहिले राजनीतिक वृतमा निकै चर्चित भएको छ।
उपेन्द्रविरुद्ध डा. राउतले बाराका स्थानीय नेता शिवचन्द्र कुशवाहलाई उतार्ने भएका छन्। बुधबार मात्रै काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेर शिवचन्द्रलाई उनले जनमतमा भित्र्याएर बारा–२ को लागि पार्टीको तर्फबाट आधीकारिक उम्मेदवार घोषणा पनि गरेका छन्। मंसिर–४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा शिवचन्द्र यस क्षेत्रका उपविजेता हुन्। उनि जसपाका रामसहायसँग जम्मा साढे ३ सय ५४ मतको अन्तरले पराजित भएका थिए । उनि यसअघि नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सत्ता टिकाउन जसपा अध्यक्ष उपेन्द्र यादवको सहयोग चाहिएको छ । उपेन्द्रले गरेको सहयोगवापत प्रचण्डले उपेन्द्रलाई बारा–२ मा सघाउने प्रतिबद्धता दिएका छन्। प्रचण्डले उपेन्द्रलाई सघाउँदा माओवादीबाट शिवचन्द्रले टिकट नपाउने निश्चत थियो । त्यसैले पार्टीसँग उनि असन्तुष्ट थिए । डा. राउतले शिवचन्द्रको यसै असन्तुष्टिको फाइदा उठाएका छन्।
शिवचन्द्रको जनमत प्रवेश उपेन्द्रलाई भारी पर्ने देखिएको छ । अघिल्लो निर्वाचनमा कुशवाहा जसपाका रामसहाय यादवसँग केवल ३ सय ५४ मतले पछाडि परेका थिए। बारा–२ मा एमाले–जसपा गठबन्धनबाट चुनाव लडेका रामसहाय १३ हजार ८ सय २२ मत ल्याएर विजयी हुँदा शिवचन्द्रले १३ हजार ४ सय ६८ मत ल्याएका थिए। शिवचन्द्रले प्राप्त गरेको मतलाई हेर्ने हो भने उनको यस क्षेत्रमा राम्रो पकड रहेको सहजै बुझ्न सकिन्छ।
बाराका जनताले पनि बाहिरको भन्दा स्थानीय नेतालाई निर्वाचित गराउनु पर्ने बताइरहेका छन्। ‘बाहिरको नेतालाई यहाँको समस्या थाहा हुँदैन, हामी जुन पार्टीको भएपनि यहाँकै नेतालाई मत दिन्छौँ’, स्थानीय सञ्जय सर्राफ भन्छन्।
डा. राउत पनि आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउनु भन्दा उपेन्द्रलाई हराउनेतर्फ बढी केन्द्रित देखिएका छन्। अहिले बारामा उनले आफ्ना विश्वास पात्र मानिने विपी साहलाई खटाएका छन्। विपी दिनहु त्यहाँका स्थानीयसँग भेटघाट गरेर जसपाको संगठन भत्काउने खेलमा लागेका छन्। स्रोतका अनुसार केहि दिन भित्रै जसपा बाराका केहि प्रभावशाली नेताहरु पनि जनमतमा प्रवेश गर्ने तयारीमा छन् । अर्को तर्फ डा. राउतले आइटी सेललाई सडकदेखि सामाजिक सञ्जालसम्म सक्रिय बनाएका छन्।
उपेन्द्रले गठबन्धन गरेपनि गठबन्धनमै आवद्ध दलका स्थानीय नेताहरुले उनलाई सहयोग नगर्ने मनसायमा छन्। पार्टीले गठबन्धन गरेपनि आफुहरुले खुलेर उपेन्द्रलाई सहयोग नगर्ने नेपाली कांग्रेस बाराका एक नेताले बताए । उनले भने, ‘पार्टीले गठबन्धन गर्दैमा जसको पछाडी पनि हामी लाग्दैनौ । स्थानीय नेतालाई प्राथमिकता दिनुपर्नेमा जनताले एकपटक अस्विकार गरीसकेका व्यक्तिलाई सघाउन हामी सक्तैनौ । पार्टीले यो कुरा बुझ्न आवश्यक छ।’
अर्काेतर्फ शिवचन्द्रले माओवादी त्यागेसँगै उपेन्द्रले माओवादीको पनि सहयोग नपाउने स्पष्ट छ। माओवादीका प्रभावशाली नेताको रुपमा स्थापित शिवचन्द्रले आफुसँगै आफ्ना समर्थकलाई लिने र जनताले पनि बाहिरका भन्दा स्थानीयलाई नै प्राथमिकता दिने हुँदा उपेन्द्रले फेरी पनि पराजय बेहोर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न।