सूर्य वि.क.
वीरगञ्ज, ११ चैत। उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ रिक्त छ। सो क्षेत्रमा निर्वाचन आयोगले आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ।
उप–चुनावको तयारी चलिरहँदा गत आम निर्वाचनमा हार व्यहोरेका मधेश केन्द्रित दलका शिर्ष नेताहरुले बारा–२ बाट चुनाव लड्ने चर्चा पनि चल्न थालीसकेको छ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट वरिष्ठ नेता राजेन्द्र महतोले उपचुनाव लड्ने चर्चा छ। अर्को तर्फ डा. सिके राउत नेतृत्वको जनमत पार्टी र प्रभु साहको आम जनता पार्टी (आजपा) ले पनि यादव र महतोविरुद्ध आफ्नो उम्मेदवार उठाउने तयारी गरिरहेका छन्।
आम निर्वाचनमा यादव सप्तरीमा डा. सिके राउत र महतो सर्लाहीमा महेन्द्र राय यादवससँग पराजित भएका थिए। उनीहरु अहिले बारा–२ बाट जितेर संसद् प्रवेश गर्ने रणनीतिमा छन्।
लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंहले बारा–२ बाट पार्टीका वरिष्ठ नेता महतोलाई चुनाव लडाउने विषयमा पार्टीमा छलफल भइरहेको बताए।
जसपा राजनीतिक समितिका सदस्य प्रमोद गुप्ताले बारा–२ बाट पार्टी अध्यक्ष यादवलाई नै उम्मेदवार बनाउने जानकारी दिए। उनकाअनुसार पार्टीले केही दिनभित्रैमा आधिकारीक रुपमा निर्णय गर्नेछ । राष्ट्रिय राजनीति, मधेश आन्दोलनमा गरेको योगदानलगायतका विभिन्न कारणले यादवको आवश्यकता संसद्मा रहेको महसुस बाराका जनताले गरेको गुप्ताको दाबी छ।
जनमत पार्टीका नेता बीपी साहले पार्टीले स्थानीय उम्मेदवारलाई उठाउने बताए। आजपाका प्रवक्ता सिवि साहका अनुसार उनको पार्टीले छिटै नै उम्मेदवारबारे टुंगो लगाउने तयारी गरीरहेको छ। पार्टीभित्र आन्तरिक छलफल भइरहेको भन्दै उनले स्थानीय उम्मेदवारलाई पार्टीले टिकट दिने योजना रहेको सुनाए।
जनमत र आजपाले उम्मेदवार कसलाई बनाउने भन्नेमा निष्कर्षमा पुग्न सकेका छैनन् । यद्यपि दुवै दलले स्थानीय नेतालाई नै उम्मेदवार बनाउने विषयमा पार्टीको आन्तरिक छलफल गरीरहेका छन्। बारा–२ मा लोसपा, जसपा, जनमत र आजपाको पकड बलियो रहेको छ। चारवटै दलले छुटाछुटै उम्मेदवार उठाउने र राष्ट्रिय एवं ठूला दलको समर्थन प्राप्त गर्न सत्तारूढ गठबन्धनभित्र आन्तरिक छलफल थालेका छन्। यी चारवटै दल प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारूढ गठबन्धनभित्र रहेका छन्।
आ–आफ्नै रणनीति
नेकपा एमाले र जसपा गठबन्धनको साझा उम्मेदवार बनेका रामसहाय यादव निर्वाचित भएका थिए। अहिले उनी उपराष्ट्रपति भएपछि साझा उम्मेदवार भएर संसद् प्रवेश जसपा अध्यक्ष उपेन्द्र यादवको रणनीति छ।
उपेन्द्रले बाराबाट निर्वाचित सरोज यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाए। यसैबीच बारा–२ बाट स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादवलाई जसपामा भित्र्याए। अन्य स्वतन्त्र उम्मेदवारलाई समेत पार्टीमा भित्र्याउँदै उपेन्द्र निर्वाचनमा विजयी हुने रणनीतिमा छन्।
उता बुधबार जनमत पार्टीले कलैयामा बृहत् आमसभाको आयोजना ग¥यो। आमसभालाई सम्बोधन गर्दै डा. सिके राउतले सप्तरीजस्तै बारामा पनि उपेन्द्रलाई पराजित गर्ने उद्घोष गरे। सप्तरीमा राउत र उपेन्द्रबीच प्रतिस्पर्धा भएको थियो।
लोसपा र आजपा समेत छिटै नै कलैयामा बृहत् आमसभा गर्ने आन्तरिक तयारीमा जुटेका छन्। जनमत र जसपालाई टक्कर दिनेगरी उनीहरू आमसभा गर्ने तयारी पार्टीको स्थानीय कमिटीले गरिरहेको छ।
गत ४ मंसिरको निर्वाचनमा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका उपराष्ट्रपतिमा निर्वाचित रामसहायले १३ हजार ८ सय २२ मत प्राप्त गरेर निर्वाचित भएका थिए। कांग्रेस–माओवादी सहित तत्कालीन पाँच दलीय गठबन्धनबाट माओवादीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए।
त्यसैगरी, स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर ११ हजार २ सय ५० मत, रोशन यादवले १० हजार ७ सय ५० मत र अरुणकुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत पाएका पाएका थिए।
स्वतन्त्र उम्मेदवारको छुटै गठबन्धन
गत निर्वाचनमा छुटाछुटै स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका उम्मेदवारबीच समेत गठबन्धन बन्ने भएको छ। स्वतन्त्र उम्मेदवार रोशन, अरुण ज्ञवाली र माओवादीले पुनः टिकट नदिए शिवचन्द्रसहितका नेताले छुटै गठबन्धन बनाएर एउटा साझा उम्मेदवार उठाउने तयारी गरेका छन्।
स्वतन्त्र उम्मेदवार रहेका रामकिशोर जसपामा प्रवेश गरिसकेका छन्। माओवादीले जसपालाई समर्थन गर्ने चर्चा चलिरहेका बेला जिल्लामा माओवादीबाट उम्मेदवार बनेका शिवचन्द्र कुनै पनि हालतमा उपेन्द्रलाई समर्थन नगर्ने निस्कर्षमा पगेका छन्। छुट्टाछुट्टै स्वतन्त्र उम्मेदवारी दिएर पराजित हुनेहरूले गठबन्धन बनाएर कुनै एकलाई पुन उम्मेदवार बनाउने र उपेन्द्र र राजेन्द्रलाई हराउने रणनीति बनाउन थालेका छन्।
निर्वाचन आयोगका अनुसार बारा २ सहित तनहुँ र चितवनमा समेत १० वैशाखमै उपनिर्वाचन हुनेछ। तनहुँ र चितवनमा समेत उम्मेदवार हुन विभिन्न पार्टीबीच आन्तरिक छलफलले तीव्रता पाएको छ।