पुस्ता छुट्याउने कि ?
वैदिक पुस्ताको बेनामी विश्वविद्यालयले परा तथा अपरा विद्या सिकाउँथ्यो । परा भनेको ब्रह्म ज्ञान हो । विज्ञानको शब्दावलीमा तरंग बुझ्ने ज्ञान हो । तरंग, मन तथा पदार्थको अन्तरसम्बन्ध बुझ्ने ज्ञान । अर्थात् क्वान्टम विज्ञान, संज्ञान विज्ञान तथा पदार्थ विज्ञानको एकीकृत ज्ञान ।
पदार्थ र मनको सम्बन्ध मात्रै सिकाउँदा मानस विद्याको ज्ञान हुन्थ्यो । तरंग, मन र पदार्थको ज्ञान दिँदा परा विद्याको ज्ञान हुथ्यो । पदार्थको ज्ञान दिँदा अपरा विद्याको ज्ञान हुन्थ्यो । यसरी सिंगो मान्छे बुझिन्थ्यो । सिंगो मान्छे बुझ्दा ब्रह्माण्ड बुझिन्थ्यो । त्यसको सूत्र थियो अहं ब्रह्मस्मि । त्यसको विधि थियो मान्छे ब्रह्माण्डको नमुना (स्याम्पल) हो । ती वैदिक ज्ञान दिने पहिलो पुस्ताका बेनामी विश्वविद्यालयहरू थिए । आचार्यकुल नामका । गुरुकुल नामका । मध्यपश्चिम तथा पश्चिमी दुनियाँमा दोस्रो पुस्ताका विश्वविद्यालयहरू खुले । तिनले अहिलेको स्वरूपका औपचारिक शिक्षा दिने काम गरे । फतिमा अल फिरी तथा बोलोग्ना यसका उदाहरण हुन् । तेस्रो पुस्ताको विश्वविद्यालयले अनुसन्धान जोडे । जर्मनीको हम्बोल्ड विश्वविद्यालय यसको उदाहरण हो । चौथो पुस्ताका विश्वविद्यालयले शिक्षालाई बजार तथा उद्योगसँग जोडे । क्याम्ब्रिज यस किसिमको विश्वविद्यालय हो । पाँचौं पुस्ताका विश्वविद्यालयले समाज जोडे । सामाजिक मुद्दा जोडे । छैटौं पुस्ताका विश्वविद्यालयहरू खुला मोडका बने । खुला विश्वविद्यालयहरू यो कोटिमा परे । सातौं पुस्ताका विश्वविद्यालयहरू एकसाथ बन्द तथा खुला मोड चलाउन थाले । लचिला स्वभावका । विद्यार्थीको समयसँग मिल्ने । चलनचल्तीको शब्दावलीमा- विद्यार्थीमैत्री । एक्काइसौं शताब्दीका विश्वविद्यालयहरू आठौं पुस्ताका बन्न लागे । वेभमा पढ्ने । रहरमा पढ्ने । एकीकृत ढंगले पढ्ने । अनिवार्य अनुसन्धान गर्ने । सर्जक । विश्लेषक । संश्लेषक । वेभ ० देखि वेभ २ सम्मका व्यक्तिहरूसँग सहजै संवाद गर्ने । धर्मशास्त्रीय, लोकायत तथा आधुनिक ज्ञान, विज्ञान एवं प्रविधिको अन्तरसम्बन्ध खोज्ने ।
हाम्रा विश्वविद्यालयमा भने हामीले विषय शिक्षणमै जोड दियौं । अनुसन्धानलाई संस्कार नै बनाएनौं । सर्जक विद्यार्थीको जमात बनाएनौं । रोजगारीमा सहजै जोड्न पनि सकेनौं । एकसाथ खुला तथा बन्द मोड पनि चलाएनौं । धर्मशास्त्रीय, लोकायती तथा आधुनिक ज्ञान, विज्ञान एवं प्रविधिलाई जोड्ने सीप पनि दिन सकेनौं । यसरी हेर्दा हाम्रा विश्वविद्यालयहरू कुनकुन पुस्ताको प्रतिनिधित्व गर्छौं भन्न पनि नसक्ने भयौं । अहिले कुन पुस्तामा छौं ? किन आफूले नेतृत्व गरेको विश्वविद्यालयलाई आठौं पुस्ताको बनाएनौं ? बनाउन चाहँदैनौं ? बनाउन सक्तैनौं ? हाम्रा विश्वविद्यालयहरूले यी प्रश्नहरूको उत्तर दिने बेला भएन र ? त्रिभुवन विश्वविद्यालयले कुन पुस्ताको प्रतिनिधित्व गर्छ ? योगमाया कुन पुस्ताको प्रतिनिधित्व गर्ने सोचमा छ ? कसैले त भनिदिनुपर्ने हो कि त ?
प्रतिलिपि विश्वविद्यालयहरू नथप्ने कि ?
त्रिभुवन विश्वविद्यालय नेपालको माउ हो । माउकै उत्पादकहरूको नेतृत्वमा अन्य विश्वविद्यालय खुले । खुलाइए । यसरी खुलेका विश्वविद्यालयहरूले हामी यो मानेमा माउभन्दा भिन्न छौं भन्ने हैसियतमा छौं त ? उद्देश्यमा ? शिक्षणकलामा ? मूल्याङ्कनमा ? लगानीमा ? व्यवस्थापनमा ? स्वरोजगारी सुनिश्चित गर्नमा ? उद्यमीहरूको उत्पादनमा ? नवप्रवर्तनमा ? समसामयिक सामाजिक मुद्दाको चर्चा–परिचर्चामा ? विचारको खजाना (थिंक ट्याङ्क) बन्नमा ? यसरी त्रिविको प्रतिलिपिभन्दा भिन्न छौं भन्ने आधार के छ अरू विश्वविद्यालयको ? लिखतमा ? व्यवहारमा ? विद्यार्थीको रुचिअनुकूलका पाठ्यांशको पठनपाठनमा ? भुइँमान्छेका आवश्यकतासँग जोड्ने–जोडिने विषयमा ? यस अर्थमा हाम्रा विश्वविद्यालयहरू ज्ञान वितरक मात्रै पो भयौं कि त ? ज्ञान श्रष्टा बन्न सकेनौं कि त ? बहुविषयक विश्वविद्यालय बनेको त्रिविकै ढाँचामै पो हिँडिरह्यौं कि त ? पहिलो पुस्ताकै विश्वविद्यालयको निरन्तरता दियौं कि त ? कृषि, वन तथा प्राविधिक विश्वविद्यालयजस्ता एकल विषयक विश्वविद्यालय बन्दा पनि कृषिको राजनीति, कृषिको अर्थनीति, कृषिको विज्ञान, कृषिको अर्थतन्त्र, कृषिको औद्योगिकीकरण, कृषिको बजारीकरणजस्ता विषयमा धर्मशास्त्रीय, लोकायती तथा आधुनिक ज्ञान, विज्ञान एवं प्रविधिलाई जोड्ने अभ्यास गरेनौं कि त ? वन, संस्कृत तथा अन्य विश्वविद्यालय पनि सोही अवस्थामा छौं कि त ? खुला विश्वविद्यालयले पनि बन्द विश्वविद्यालयकै अनुकरण गर्यौं कि त ? कितावमा मात्रै विद्यार्थीलाई अल्झाइरह्यौं कि त ? अर्थात्, हामी अझै पनि पहिलो पुस्ताकै विश्वविद्यालय पो बनिरह्यौं कि त ? त्रिविको प्रतिलिपि नैं बनिरह्यौं कि त ? आगामी दिनमा बन्ने–बनाइने विश्वविद्यालयहरूले यी प्रश्नका उत्तर दिन सक्छौं त ?
कुनै बेला विश्वविद्यालयहरू ज्ञानका वितरक थिए । विषयगत ज्ञानका । अन्तरविषयक ज्ञानका । तिनले शास्त्रीय ज्ञान बाँडे । वेदका । उपनिषद्का । संस्कृत साहित्यका । मार्क्सका । गान्धीका । डेरिडाका । यस अर्थमा हाम्रा विश्वविद्यालयहरूले भरियाका काम गरेका छौं । यही भरियापनमा सम्मानित छौं । आत्मरतीय सम्मानमा । युरोकेन्द्रीय बनेको आत्मरतिमा सम्मानमा । यो सम्मानले अब पुग्छ र ? विश्वविद्यालयहरूले सोचेका छौं त ? हामी ज्ञानको वितरक मात्रै पो बनेछौं भन्ने कुरा महसुस गरेका छौं कि त ?
केही विश्वविद्यालय ज्ञान श्रष्टा बन्ने रहर गरेका छौं । तिनले अनुसन्धानलाई मुटु मानेका छौं । ती अनुसन्धानहरू पनि विधिमा लटपटिएका छन् । फनेल आकारका । सार अलिकति । सन्दर्भ ज्यादा । वैदिक शब्दावलीमा भन्दा मन्त्र नबनेका । सूत्र नबनेका । त्यसमा पनि ती अनुसन्धानहरूले धर्मशास्त्र र आधुनिक विज्ञानको सहसम्बन्ध वा भिन्नता खोज्ने काम गरेका छैनौं । गराएका छैनौं । त्यस्तै, लोकायतमा भएका ज्ञान, विज्ञान तथा प्रविधि खोज्ने अनुसन्धान गरे–गराएका छैनौं । समाजलाई चाहिने अनुसन्धान गराएका छैनौं । पेट भर्न चाहिने विषयका अनुसन्धान । मनोरञ्जनका लागि चाहिने अनुसन्धान । वैदिक सोचलाई आधार मान्दा तरंग वा ऊर्जाको अनुसन्धान । मनहरूको अनुसन्धान । पदार्थको अनुसन्धान । ऊर्जा/तरंग तथा मन मात्र भएको सूक्ष्म शरीरको अनुसन्धान । पदार्थ, मन तथा तरंग जोडिएको स्थूल शरीरको अनुसन्धान । सामाजिक प्रयोगशालामा । शरीर प्रयोगशालामा । पश्चिमी प्रयोगशालामा ।
केही विश्वविद्यालयले सृजित ज्ञानलाई अर्थतन्त्रमा बदल्ने कुरा गरेका छौं । अहिलेको नेपाली भाष्य पनि यही भएको छ । तर विश्वविद्यालयहरूले यो काम गरेका छौं त ? विश्वविद्यालयले भान्साको अर्थतन्त्र पढाएका छौं त ? गुन्द्रुकको अर्थतन्त्र सिकाएका छौं त ? गिट्ठा तथा भ्याकुरको राजनीति सिकाएका छौं त ? यसको अर्थ हो- हाम्रा विश्वविद्यालयहरू ज्ञानलाई अर्थतन्त्रमा बदल्ने क्रममै छैनौं । कुनै विश्वविद्यालयले यो कुरामा दाबी गर्न सक्छौं त ?
ज्ञानको अर्थतन्त्र पुरानो भइसक्यो । अहिले ज्ञान व्यवस्थापनको चिन्तन अगाडि छ । प्रविधिले ज्ञानहरूको पोकै दिएको छ । ज्ञानवान्हरूलाई एकसाथ ल्याउने बाटो दिएको छ । स्वदेशको । विदेशको । यो स्थितिमा हाम्रा विश्वविद्यालयहरूले ज्ञानहरूको संग्रह गरेका छौं त ? अन्तरज्ञानहरूको व्यवस्थापन गरी स्वदेश तथा विदेशमा एकसाथ फैलिने तरकिब सिकाएका छौं त ? विधागत रूपमा ? अन्तरविधागत रूपमा ? शिक्षणकलाका रुपमा ?
थपिने विश्वविद्यालयको गन्तव्य देखाउने कि ?
लहडमा विश्वविद्यालय खोल्ने अभ्यास संस्थागत भयो । नेताको लहड । विज्ञको लहड । संघीय वा प्रदेश सरकारले अपेक्षित खाका दिएन । बोलीचालीको भाषामा, छाता ऐन बनेन । मस्यौदा गरिएको उच्च शिक्षा ऐनले पनि छाताको काम गर्ने स्थिति देखिएन । छाता ऐनले भन्नुपर्थ्यो- मधेशमा कति विश्वविद्यालय चाहिन्छ ? पहाडमा कति ? हिमालमा कति ? त्यो पनि कस्तो खालको ? कहाँकहाँ सरकारले खोल्ने विश्वविद्यालय बन्ने हो ? कहाँ निजीले खोल्ने हो ? कहाँ निजी तथा सरकारीको लगानी हुने हो ? कहाँ सहकारीको लगानी हुने हो ? कहाँ विदेशी लगानी लिन सकिने हो ? कुन विश्वविद्यालयले रैथाने ज्ञान, सीप तथा प्रविधि खोज्ने हो ? कुनले प्राकृतिक सम्पदा खोज्ने हो ? कुनले सामाजिक सम्पदा खोज्ने हो ? कुनले भाषा तथा लिपिका कुराहरू खोज्ने हो ? नेपाल र नेपालीलाई एकअर्काका भाषा तथा लिपिमा कसले जोड्ने हो ? कसरी तिनको आधुनिकीकरण गर्ने हो ? कसरी तिनको सैद्धान्तिकीकरण गर्ने हो ? कसरी तिनको दार्शनिकीकरण गर्ने हो ? कसरी तिनको विश्वव्यापीकरण गर्ने हो ? यही मेसोमा मात्र सदनमा पेस भएका, विश्वविद्यालय अनुदान आयोगको ढुंग्रोमा अड्केका तथा शिक्षा मन्त्रालयको डेस्कमा बसेका एवं विज्ञहरूले बोकेका वा बोक्न सक्ने विश्वविद्यालयहरू स्वीकृति गर्ने चिन्तन बन्नुपर्छ । पुस्ता चिनिने । विधा बुझिने । जनता जोडिने । पुर्ख्यौली ज्ञान, विज्ञान र प्रविधिसँग पश्चिमी ज्ञान, विज्ञान तथा प्रविधि जोडिने । हर विद्यार्थीले कम्तीमा एउटा गरिखाने सीप लिएको हुनुपर्ने । यसको अर्थ हो- अहिलेझैं प्रत्येक विश्वविद्यालय खोल्न संसद्मा रस्साकस्सी गर्ने संस्कृतिको अन्त्य गर्नुपर्छ । छाता ऐन यस अर्थमा जरुरी छ ।
त्यस्तै छाता ऐनमा मदरसा तथा गुम्बामा अध्ययनरत विद्यार्थीहरूको उच्च शिक्षा प्रवेशका उपायहरू हुनुपर्छ । बेग्लै विश्वविद्यालयका रूपमा भए पनि । सबै विश्वविद्यालयमा पुलेसो व्यवस्थापनका रूपमा भए पनि । मूलधारका रूपमा भए पनि । विषयविज्ञताका रूपमा भए पनि । गुम्बाको समकक्षता तथा उच्च शिक्षाको सम्भावना सुनिश्चित गर्ने कडीका रूपमा भए पनि । देशको ४ प्रतिशत जनसंख्या भएका मुस्लिमलाई मूलधारमा जोड्ने अवसर दिने मनसायले पनि । यसका लागि प्रत्येक विश्वविद्यालयमा स्कुल अफ मुस्लिम स्टडिज खोलेर हुन्छ कि ? त्यसै गरी स्कुल अफ बुद्धिस्ट स्टडिज खोलेर हुन्छ कि ? लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत सबै गुम्बालाई विकसित एवं विस्तारित गर्ने सोच बनाएर हुन्छ कि ? बेग्लै मुस्लिम विश्वविद्यालय बनाएर हुन्छ कि ? त्यसमा तीन धार राखेर हुन्छ कि ? धार्मिक धार । मूलधार । पुलेसो धार । यसमा मुस्लिम तथा गैरमुस्लिमले पढ्न पाउने प्रबन्ध गरेर हुन्छ कि ? देशका सबै मदरसालाई सोही विश्वविद्यालयको छाता बनाएर हुन्छ कि ? लुम्बिनी बौद्ध विश्वविद्यालयलाई गुम्बाहरूको छाता बनाएर हुन्छ कि ?
हाम्रा विश्वविद्यालयहरू सम्बन्धन दिनमा अभ्यस्त छन् । आर्थिक रूपमा आत्मनिर्भर बन्न । यसका लागि छाता ऐनले लगानीका विविध उपाय सुझाउनुपर्छ । ल्यान्डग्रान्ट विश्वविद्यालयको लगानी तरिका । संघीय जमिन लिने । जमिन बेच्ने । खेती गर्ने । व्यवसाय गर्ने । अनुसन्धानात्मक उपलब्धिका आधारमा लगानी गर्ने । बहुमन्त्रालयले लगानी गर्ने । परियोजनाले लगानी गर्ने । पाहुर लगानी (गिफ्ट फन्डिङ) गर्ने । अक्षयकोष तरिका (इन्डाउमेन्ट फन्डिङ) को लगानी गर्ने । सामाजिक दायित्व अन्तर्गतको लगानी गर्ने आदि ।
छाता ऐनले गुणस्तरका केही मानक दिनुपर्छ । मानकको उदाहरण हुन सक्छ- हर विद्यार्थीमा अनुसन्धानात्मक क्षमता हुनुपर्ने । बहुविचारहरूको विश्लेषण गर्ने तागत हुनुपर्ने । सिद्धान्त तथा दर्शनलाई व्यवहारमा खोज्ने क्षमता हुनुपर्ने । किताबी सिद्धान्त तथा दर्शनको सामाजिक परख गर्ने तागत हुनुपर्ने । अनिवार्य रूपले गरिखाने सीप हुनैपर्ने । रैथाने ज्ञान, सीप तथा प्रविधिको अन्तर्राष्ट्रियकरण गर्ने तागत हुनुपर्ने । अन्तर्राष्ट्रिय ज्ञान, सीप तथा प्रविधिको सान्दर्भीकरण गर्ने क्षमता हुनुपर्ने । समाजसेवा गरेकै हुनुपर्ने । प्रविधि तथा शोधको सहाराले विषयगत ज्ञानमा अब्बल साबित हुनैपर्ने ।
त्रिविको पुनर्व्यवस्थापन गर्ने कि ?
सानी नानीको बाह्रहाते पटुकी भएको छ त्रिवि । बेर्न पनि गाह्रो । बेरिहाले सम्हाल्न पनि गाह्रो । यो स्थितिको त्रिविलाई जनताको विश्वविद्यालय बनाउनुपर्छ । प्रदेशपिच्छेका यसका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूलाई गोलबन्द गरेर । त्रिवि कोशी प्रदेश बनाएर । त्रिवि मधेश प्रदेश बनाएर । त्रिवि बागमती प्रदेश बनाएर । यसरी सातै प्रदेशमा त्रिविको व्यवस्थापन गर्नुपर्छ । अर्थिक, प्रशासनिक, तथा शैक्षिक स्वायत्तता दिएर । प्रत्येक क्याम्पसका प्राध्यापकलाई गुणस्तरका लागि पनि जिम्मेवार बनाएर । यसका लागि हिम्मत गर्ने कुलपति, उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रार त्रिविले खोजेको छ । जनदबाब दिने हितेच्छु खोजेको छ । अरू देशमा पनि यसो गर्छन् भनिदिने विज्ञ खोजेको छ । नभए हामीले गरेपछि अरूले पनि सिक्छन् भन्ने प्राज्ञ सल्लाहकारहरू खोजेको छ । प्रत्येक क्याम्पसमा विद्यार्थी, समाज वा उद्यमीले चाहेको विषय पठनपाठन गराउन पाइन्छ भन्ने प्रशासक खोजेको छ ।
त्रिविमा हठी व्यवस्थापन छ । समयले चाहिँ लचिलो व्यवस्थापन खोजेको छ । विद्यार्थीमैत्री । समुदायमैत्री । उद्योगमैत्री । व्यापारमैत्री । सम्भावनामैत्री । प्रविधिमैत्री । यसको अर्थ हो- त्रिविले बहुमैत्री बन्नुपर्छ । अरू विश्वविद्यालयको हकमा पनि यही कुरा लागू गर्नुपर्छ । प्रश्न हो- विश्वविद्यालयका पदाधिकारीहरू यसका लागि तयार छौं त ? छैनौं भने पद छोडे पनि हुन्छ । छौं भने काम थाल्नैपर्छ ।
कक्षाको नोटमा बस्ने विद्यार्थी तथा बसाउने प्राध्यापक दुवै थरी सेमेस्टर प्रणालीका वैरी हुन् । अर्थात्, एक क्रेडिट भनेको हप्तामा ५ घण्टाको लेक्चर हुन्छ । एक घण्टा लेक्चर सुन्ने विद्यार्थीले दुईदेखि तीन घण्टासम्मको स्वनिर्देशित पढाइ गर्नैपर्छ । प्राध्यापकले उसलाई दुईदेखि तीन घण्टा पढ्नुपर्ने गृहकार्य दिनैपर्छ । परियोजनाका रूपमा भए पनि । अनुसन्धानका रूपमा भए पनि । यो काममा त्रिवि मौन छ । अरू विश्वविद्यालयले पनि अपेक्षित कार्य गरेका छैनन् । यसका लागि विद्यार्थीको तयारी के छ ? क्यालेन्डरविहीन विश्वविद्यालयहरूले यो कुरा भन्न सक्छौं ? जेमा पनि बिदा दिन अभ्यस्त सरकारले यो काम गराउन सक्छौं ? जति बेला पनि बन्द–हडतालमा रमाउने विद्यार्थी एवं प्राध्यापकले सेमेस्टर चलाउन सक्छौं ? धम्क्याउने विद्यार्थीले यसरी पढ्न सक्छौं ? मोलाहिजामा नम्बर दिने प्राध्यापकले यो नियम लागू गर्न सक्छौं ? दलीय छातामा हुर्केकाहरूले आआफ्ना दलका माउहरूलाई यो कुरा सम्झाउन सक्छौं ? पढाउन जिम्मा लिएका प्राध्यापकलाई अविश्वास गरेर केन्द्रीकृत परीक्षा लिने व्यवस्थापकले यो काम गर्न सक्छौं ? खुला, बन्द तथा मिश्रित मोडका विद्यार्थीलाई एउटै प्रश्न दिने तर उस्तै प्रश्न बनाउन नजान्ने पदाधिकारीलाई बुझाउन सक्छौं ? चोर्न तथा चोराउन अभ्यस्त विद्यार्थी एवं प्राध्यापकलाई खुला परीक्षा दिने तथा दिलाउने प्रबन्ध गर्न सक्छौं ? प्रमाणपत्रमा भन्दा तत्कालीन ल्याकत परीक्षामा विश्वास गर्ने भर्ना प्रक्रिया बनाउन सक्छौं ? कुट्न, काट्न, लुट्न, धम्क्याउन अभ्यस्त भएका दलका भ्रातृ संगठनहरूलाई प्राज्ञिक उन्नयनका वाहक बनाउन सक्छौं ? भविष्यका नेता बन्ने हो भने संवादमा लाग । प्राज्ञिक बन्ने भए समालोचनात्मक अभ्यासमा लाग । गरिखाने भए नवप्रवर्तनात्मक कार्यमा लाग । पहिचान खोज्ने भए पुर्खाका ज्ञान, सीप, प्रविधिमा आधुनिकता खोज । विकास गर्ने भए तिनकै बजार खोज । विश्वबजार खोज्ने भए पश्चिमा कुरा जोड भन्न सक्छौं ? राजनीतिक अभ्यास गर्ने भए क्याम्पसमै सैद्धान्तिक संवाद गर । त्यहीँ संसद्को अभ्यास गर । समाजका दुःखसुख ल्याऊ । भोलि तिनका लागि के गर्न सकिन्छ भनी अभ्यास गर । यी र यस्ता भनाइमा अडिन तथा अड्याउन सक्ने नेतृत्वले मात्र विश्वविद्यालयहरू लचिला हुन्छौं । त्रिविमा त यो कुरा झनै लागू हुन्छ ।
निचोड
एक्काइसौं शताब्दीका विश्वविद्यालयहरू विद्यार्थीकेन्द्रित हुनुपर्छ । दलकेन्द्रित विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरूलाई यसबारे दीक्षा दिइएकै छैन । दलीय दीक्षा एवं शिक्षालाई समसामयिक बनाउने चिन्तन पनि सिकाइएको छैन । विश्वविद्यालयहरूलाई विद्यार्थीमैत्री बनाउने अभ्यास पनि गरिएको छैन । अन्तरपुस्तौनी ज्ञान, सीप, विज्ञान तथा प्रविधि खोजिएको पनि छैन । तिनलाई पाश्चात्य ज्ञान, सीप, विज्ञान तथा प्रविधिलाई जोड्ने चिन्तन पनि गरिएको छैन । नयाँ विश्वविद्यालयहरू के हुने, कस्ता हुने, लगानी कसरी गर्ने भन्नेबारे छाता सोच पनि बनेको छैन । विद्यार्थी, प्राध्यापक तथा कर्मचारीको सोचलाई पेसा पहिलो भन्न सक्ने बनाइएको पनि छैन । यो स्थितिमा अनेकन् काम गर्न–गराउन सकिन्छ । यही गर्न–गराउन सकिने काममा हामी लाग्यौं भने विश्वविद्यालयहरू लचिला बन्छन् । एक्काइसौं शताब्दीलाई काम लाग्ने । देशको आवश्यकतामा जोडिने । आशा र विश्वास जगाउने । यसका लागि प्रयास गरौं । यो युग गर्नेहरूको हो । बोल्नेहरूको ताई देखिसक्यौं ।
कान्तिपुरबाट।