आमाको मृत्युले दुःखी बनाएका बेला पनि बिरु बलम्पाकी र उहाँको परिवारले जुन ढंगले मृत्युपछिका पुराना संस्कार परिवर्तन गर्ने प्रयास गर्नुभयो, यो सह्रानीय छ। उहाँहरूको यो प्रयत्नप्रति मेरो पनि ऐक्यबद्धता छ। सर्वप्रथम म आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु।
सामाजिक जागरणसँगै सांस्कृतिक रुपान्तरणको प्रयत्न गरिरहेका शक्तिहरूले यस्ता प्रयासहरूलाई साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ। त्यही भएरै हामी यहाँ उपस्थित भएका छौँ। यहाँ उपस्थित हुनुभएका महत्त्वपूर्ण वक्ता साथीहरूले मृत्यु-संस्कारका विविध आयामका विषयमा गहन ढंगले विषयवस्तु राखिसक्नुभएको छ।
हाम्रो समाजमा विभिन्न संस्कार प्रचलनमा छन्। मानिसको जन्मपछिका संस्कारमध्ये मृत्यु-संस्कार सापेक्षतामा अलि गाह्रोजस्तो देखिने गरेको छ। कसैले अरू संस्कार गरे पनि, नगरे पनि धेरै चर्चा/परिचर्चाको विषय नबन्न सक्छ। तर, मृत्यु-संस्कार नगर्दा त्यसले निकै चर्चा पाउने गरेको हामीले देख्दै आएका छौँ।
तपाईं/हामी जहाँजहाँ वैज्ञानिक चेतको सञ्चार गर्न खोज्छौँ, त्यहाँ अवरोध, आलोचना हुन्छ नै। तपाईंले अन्धविश्वासविरुद्ध लड्न खोज्दा, अलिकति प्रगतिशील, अलिकति समाज उपयोगी सोच लिएर आउँदा त्यतिबेला निश्चित रुपमा दुईवटा ‘ट्रेन्ड’ देखापर्छन्।
तर, बिरुजी र उहाँका दाजु सोमजीले आमाको मृत्युपछि जे गर्नुभयो, त्यसलाई म धेरै फरक रुपमा बुझ्दिनँ। उहाँहरूले समाजलाई साथमा लिन सल्लाह नै गरेर आमाको मृत्युपछिको संस्कार फरक ढंगले गर्नुभएको मैले बुझेको छु। केही दिनअघि यहीँ आएर मैले उहाँहरूलाई भेटेको थिएँ।
नेपालका जनजाति समुदायमध्ये मगर जातिको संस्कार अरूको भन्दा अलि भिन्न छ। अरू जनजातिले गर्ने संस्कारभन्दा मगर जातिको संस्कारमा हिन्दू संस्कृतिले अलि बढी नै प्रभाव पारेको हामी देख्छौँ।
नेपालका जनजाति समुदाय सबैका आफ्नै खालका मौलिकता र संस्कृति छन्। ती हिन्दू संस्कृतिभन्दा निकै भिन्न छन्। जनजाति समुदायका कतिपय संस्कार हिन्दूका भन्दा अलि उन्नत खालका, प्रगतिशीलजस्ता पनि लाग्छन्।
‘सबै जातको फूलबारी’ नामको पुस्तकमा मैले हर्क गुरुङको भूमिका पढेको थिएँ। धेरैले त्यो पुस्तक हेर्नुभएको होला।
त्यो पुस्तकमा नेपालको अहिलेको संस्कृतिको प्रमुख पक्ष हिन्दूकरणको प्रक्रियामा अघि बढिरहेको चर्चा गरिएको छ। यो वास्तवमा अलि पहिलादेखि नै चर्चा भएको विषय पनि हो।
हिन्दूकरणको प्रक्रिया अस्वीकार गर्दै नेपालका कतिपय जातीय समुदायले सांस्कृतिक रूपमा आफ्नो मौलिकतासहित अघि बढ्ने कोसिस पनि गरिरहेका छन्।
विगतमा पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दूस्थान हो भन्ने अवधारणा ल्याए। त्यस्तै जंगबहादुर राणाले पनि हिन्दूकरणको प्रक्रियालाई सहयोग पुग्नेगरी मुलुकी ऐन ल्याए। त्यसपछि नेपालमा हिन्दूकरणको प्रक्रिया तीव्र गतिले अघि बढेको हामी पाउँछौँ।
त्यतिबेलैदेखि जसजसका मौलिक चिन्तन र संस्कृति थिए, उनीहरूले शासकले थोपरेका हिन्दूकरणको प्रक्रियामा सहभागी नहुने कोसिस पनि गरे।
मगर पृष्ठभूमिबाट आउनुभएका कम्युनिस्ट, वामपन्थी र प्रगतिशील साथीहरूबीच राजकुमारी बलम्पाकीको मृत्युपछि एउटा वैज्ञानिक चेतमा आधारित कार्यक्रम गरौँ भन्ने प्रस्ताव गर्नुभयो। र, अहिले हामी यो कार्यक्रममा छौँ।
उहाँहरू पछिल्लो समय मगर संघको आयोजनामा १३ दिने कर्मकाण्डलाई छोट्याउने दिशामा हुनुहुन्छ। उहाँहरू हिन्दूकरणबाट बाहिर निस्कनुपर्छ भन्ने ढंगले पहल र प्रयत्न गरिरहनुभएको छ।
आफूले आमाको मृत्यु-संस्कार परंपरागत रूपमा किन नगरेको भनेर बिरुजीले सशक्त ढंगले आफ्ना भनाइ राखिसक्नुभएको छ।
मृत्यु संवेदनशील विषय हो। आमा, बुवा, परिवारका प्रियजन गुमाइसकेपछि जसलाई पनि आँसु आउँछ। राति एक्लै भएका बेला प्रियजनसँग गरेका सबै क्रियाकलाप सम्झनामा आउँछन्। त्यसरी आउने स्मृतिले व्यक्तिलाई प्रभावित पारिरहेको हुन्छ।
मृत्यु संवेदनशील विषय भएकै कारण पनि मृत्यु-संस्कारभित्रका अवैज्ञानिकता र कुरीतिले समाजमा प्रश्रय पाइरहेका छन्। अदृश्यको नाममा, रहस्यको नाममा एकखाले भय सिर्जित प्रवृति मृत्यु-संस्कारमा विकास भएको हामी पाउँछौँ।
कुरीति र कुसंस्कारमा आधारित कर्मकाण्ड बदल्ने अभियान अहिले मात्रै सुरु भएको होइन। वि.सं.२००७ वरिपरी सहिद भएका शुक्रराज शास्त्रीहरूलाई हेर्यौँ भने पनि त्यो पहल भएको हामी पाउँछौँ। सुसुप्त रूपमै भए पनि यो अहिले पनि निरन्तर चलिरहेको छ।
हामी अहिले पनि नेपाली समाजको लोकतन्त्रीकरणको प्रक्रियामा छौँ। नेपाली समाज परिवर्तनको चरणमा छ। यो समाज नयाँ उचाइमा उठिरहेको छ। यो बेला अझ बढी वैज्ञानिक र व्यवस्थित सांस्कृतिक अभियान चल्नुपर्ने हो। तर, अहिले हामीले हेर्यौँ भने सांस्कृतिक अभियान झन् कमजोर भएको हामी पाउँछौँ।
नेपालमा कम्युनिस्ट पार्टीहरू ठूलाठूला भएका छन्। तर, सांस्कृतिक आन्दोलन भने झन्झन् कमजोर बनिरहेको छ। सांस्कृतिक आन्दोनल झन् साँघुरो गल्लीमा रुमलिरहेको हामी देख्छौँ।
त्यसैले यो बेला बिरुजीको परिवारले गरेको यो प्रयत्न सह्रानीय छ। यसले अहिले कमजोर भइरहेको सांस्कृतिक आन्दोनललाई अघि बढाउन थोरै भए पनि सहयोग गर्ने विश्वास मैले लिएको छु। यो अभियान अघि बढाउन तपाईं/हामीले पनि आआफ्ना ठाउँबाट के गर्न सक्छौँ, छलफल गर्न जरुरी छ।
जन्म र मृत्यु संस्कारको कोणबाट मात्र होइन, समग्रतामा संस्कृति निर्माणको कोणबाट सोच्न यो बहसले हामीलाई प्रेरित गरेको छ भन्ने मलाई लाग्छ।
विज्ञहरूले लेखेका साहित्य पढ्यौँ भने नेपालका जनजाति एकदम लोकतान्त्रिक लाग्छन्। घरमा व्यापक छलफल हुन्छ। महिलाहरूलाई त्यही खालको स्वतन्त्रता छ। कतिपय जनजाति परिवारमा आमा नै मूल हर्ताकर्ता भएको हामी देख्छौँ।
बर्दिबासबाट नजिकै धनुषामा हेर्यौँ भने हामी मगर समुदायकै वरिपरि कम्युनिस्ट पार्टी निर्माण भएको पाउँछौँ। मगर समुदाय लोकतान्त्रिक छ, परिवर्तनको पक्षमा छ भन्ने त्यसले पनि पुष्टि गर्छ।
विश्वमा विज्ञानको यत्रो विकास भइसकेको छ। प्रविधिको क्रान्तिले फड्को मार्दै छ। हाम्रा हातहातमा मोवबाइल छन्। देश, विदेशका सूचना हामी क्षणभरमै लिइरहेका छौँ। तर, वैयक्तिक वा संघ/संस्थाको स्तरमा हेर्ने हो भने हामी अन्धविश्वास र कुरीति पनि साथमै लिएर अघि बढिरहेका छौँ।
केही वर्षअघि हवाईजहाज बिग्रिएको बिग्रै गर्यो भनेर काठमाडौँको एयरपोर्टमै बोकाको बलि चढाइएको थियो। त्यतिबेला एयरपार्टमै आकाशदेवी र पातलदेवीलाई बोको बलि दिइयो भनेर पनि समाचार छापिएका थिए। हेर्नुस्, अझै पनि हाम्रो समाज यो अवस्थामा छ।
केही वर्षअघि चीनको शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन हामी चीन गएका थियौँ। कार्यक्रम सकेर हामी साँझ तेनमेन स्क्वायर घुम्न निस्कियौँ। बाटोमा मेरो खुट्टा मर्कियो। सहयोगी पनि कोही थिएनन्। चिनियाँ ड्राइभरले अंग्रेजी भाषा नबुझ्ने, हामी चिनियाँ भाषा। समस्यामा परियो।
ती ड्राइभरले मोबाइलमा एआई प्रविधि प्रयोग गर्दा रहेछन्। हामीले अंग्रेजीमा बोल्यौँ। त्यसलाई एआई प्रविधिले चिनियाँ भाषामा अनुवाद गर्यो र ती ड्राइभरले हामीलाई चाहेको ठाउँमा पुर्याएका थिए। संसार यो ढंगले विकास भइरहेको छ।
हामी पुराना अवैज्ञानिक सोच, अन्धविश्वास, कुरीतिलाई साथमा लिएर समृद्धिको यात्रामा हिँडिरहेका छौँ। यो मिल्ने कुरा होइन। अवैज्ञानिक सोच, अन्धविश्वास र कुरीतिलाई साथमा लिएर समृद्धिको यात्रामा जान सम्भव छैन।
अहिलेको राजनीतिक परिवर्तनसँग मेल खाने संस्कृति निर्माण गर्नु आजको आवश्यकता हो। बिरुजी, उहाँको परिवारले सिर्जना गर्न खोजेको बहसलाई म सम्मान गर्छु।
अहिलेको नेपाली समाजका लागि, व्यक्तिका लागि, परिवारका लागि कुरीति, कुसंस्कार र अन्धविश्वासमा आधारित संस्कार जीवन उपयोगी छन् त? छैनन्। हामीले अवलम्बन गरिरहेका संस्कारमा वैज्ञानिक आधार छन्? ती हामीले उठाउँदै आएका विकासका अवधारणासँग मेल खान्छन्? यो बहसको विषय हो।
आज हामी सबै शोकमा भएका बेला धेरै समय यो बहसमा लाग्नु उपयुक्त छ जस्तो मलाई लाग्दैन। म जनसांस्कृतिक महासंघ महोत्तरीलाई आग्रह गर्न चाहन्छु- यस्ता बहसलाई व्यवस्थित गरौँ। पछि पनि यस्ता बसह हुँदै जाऊन्।
महोत्तरी बर्दिबास निवासी बिरु बलम्पाकीकी आमाको मृत्यु–संस्कारमा आयोजित स्मृतिसभा र कोरामा बसेका उनका दाइ सोम बलम्पाकी
यहाँ उपस्थित साथीहरू बिरुजी र उहाँको परिवारलाई परेको दुःखका बेला साथ दिन आउनुभएको हो। उहाँको आग्रह स्वीकार गरेर यहाँ उपस्थित हुनुभएको हो। यसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ।
फेरि मलाई के लाग्छ भने परम्परागत कर्मकाण्डमा केही सुधार गर्ने व्यक्ति भयंकर क्रान्तिकारी हुने, पुरानो संस्कार गर्नेहरू चाहिँ काम नलाग्ने खत्तम हुन् भन्ने अर्थमा म बुझ्दिनँ।
हामीलाई चाहिएको चाहिँ एउटा वैज्ञानिक दृष्टिकोण हो। हामीमध्ये यहाँ धेरैले कुनै न कुनै ढंगले पुराना, रुढिग्रस्त संस्कार सुधारको प्रक्रियामा जोडिएर संघर्ष गरिरहेका छौँ। हामी अरूका कुरा पनि सुनौँ, आफ्ना कुरा पनि सुनाऊँ। बसह गरौँ।
आमाको मृत्यु हुँदा हामी दाजुभाइ पनि परम्परागत ढंगले नै मृत्यु-संस्कारमा सहभागी भएका थियौँ। पछि हामीले परिवारभित्रै यस विषयमा बहस गर्यौँ। पिताजीलाई हामीले ‘अब हामी परम्परागत मृत्यु-संस्कारलाई अवलम्बन गर्न सक्दैनौँ’ भनेर जानकारी गरायौँ। बुवाको मृत्यु हुँदा हाम्रो परिवारभित्र पनि दुईखाले ‘ट्रेन्ड’ देखियो। मसहित केही भाइ परम्परागत मृत्यु-संस्कारमा सहभागी भएनौँ।
आमाको मृत्युपछि दाइले आमाको नाममा ‘कनककुमारी स्मृति प्रतिष्ठान’ स्थापना गर्नुभयो। अहिले पनि उहाँले काम गरेको कर्मथलोमा गएर हामी महिला स्वयंसेविकाहरूलाई पुरस्कार दिने, सम्मान गर्ने कार्यक्रम गरिहरेका छौँ। हरेक वर्ष हामी त्यसरी पनि आमाको स्मरण गरिरहेका हुन्छौँ। आफ्ना प्रियजनहरू मनमै हुन्छन्। मर्दैनन्। उनीहरू मनमा जीवितै हुन्छन्। त्यसलाई विभिन्न ढंगले सम्झिने काम व्यक्तिले गर्छन्।
आफन्तको स्मृतिलाई समाजसँग जोडेर अगाडि बढ्ने कि पुरेतवादले सिर्जना गरेका घेराभित्र रुमल्लिने भन्ने प्रश्न पनि हाम्रो अघिल्तिर छन्।
अघि बोल्ने कतिपय वक्ता साथीले आमा राजकुमारीलाई ‘स्वर्गीय’ भनेर पनि सम्बोधन गर्नुभयो। यो पनि धर्म-संस्कारसँगै जोडिएर आएको शब्दावली हो भन्ने मलाई लाग्छ। मृत्यु भएका मानिसलाई सम्बोधन गर्दा त्यो पदावली पनि प्रयोग गर्ने कि नगर्ने? त्यो पनि बहस गरौँ।
हामी राम्रोसँग सोचौँ। विचार गरौँ। दक्षिण एसियामै धर्मका दसथरीका परिभाषा छन्। धर्मको एकै परिभाषा कहीँ कतै छैन। आदिम बेलाको धर्म एकखालको छ, कर्मकाण्डीय ढंगले पुरेतवादले सिर्जना गरेको धर्म अर्को खालको। साध्य र साधन एउटै ढंगले हिँडेका मानिसहरू अर्को ठाउँमा छन्। ती सबै एकै खालका छैनन्।
धर्म मान्ने सबै मानिस ढोँगी र पाखण्डी मात्रै पनि छैनन्। त्यसकारण यस विषयमा पनि हामीले राम्रोसँग चर्चा/परिचर्चा गर्नु जरुरी छ।
त्यो कोणबाट हेर्दा हामीले एउटा वैज्ञानिक संस्कृति निर्माण गर्न खोजेका छौँ। त्यो वैज्ञानिक संस्कृति निर्माण गर्दा हामीले विवेक प्रयोग गर्न जरुरी छ।
सबैभन्दा पहिला हामीले निर्माण गर्न खोजेको संस्कृति वैज्ञानिक हुनपर्यो। कार्यकारण सम्बन्धका आधारमा हामीले निर्माण गर्न खोजेको संस्कृति वैज्ञानिक छ कि छैन? खोजी गरौँ।
दोस्रो कुरा- हामीले बनाउन खोजेको संस्कृति आर्थिक रूपमा धान्न सकिने खालको पनि हुनपर्यो। त्यो छ कि छैन? हेरौँ। तेस्रो कुरा- हामीले जुन संस्कृति निर्माण खोजेका छौँ, त्यो अहिलेको समय सान्दर्भिक छ कि छैन?
हामीले निर्माण गर्न खोजेको संस्कृति यो समाजसँग गाँसिएको छ कि छैन? त्यतापट्टि पनि हाम्रो ध्यान जान जरुरी छ।
जुन संस्कृतिले समाजलाई एक पाइलो अगाडि बढाउन भूमिका खेल्छ, त्यो प्रगतिशील हुन्छ। जुन संस्कृतिले समाजलाई पछाडि धकेल्न प्रयत्न गर्छ, त्यो प्रश्चगामी हुन्छ। संस्कृतिमा पनि यी दुई ‘ट्रेन्ड’ छन्।
जन्म र मृत्यु संस्कारका बीचमा वा वर्षभरि मान्ने चाडपर्वका वरिपरी हामी त्यस्तो संस्कृति निर्माण गरौँ, जसले समाजलाई अलि माथि उठाउन सहयोग गरोस्। ती संस्कार र संस्कृति मान्छेलाई माथि उठाउने खालका होऊन्। मानवतालाई माथि उठाउने प्रकारका होऊन्। आज भइरहेको यो बहस पनि त्यही खोजीका लागि हो।
यतिबेला सांस्कृतिक रुपान्तरणको अभियान कमजोर भएको छ। यसलाई मजबुत बनाउन पहिलो कुरा- यसमा सही दृष्टिकोण जरुरी छ। दोस्रो कुरा- त्यो सही दृष्टिकोणका आधारमा हामीले अभियान चलाउनपर्छ।
यसमा दृष्टिकोण र अभियानले मात्रै पनि पुग्दैन। यसमा तेस्रो र महत्त्वपूर्ण विषय भनेको यी संस्कार र सांस्कृतिक रुपान्तरण अभियान अघि बढाउन व्यक्तिको साहस पनि जरुरी हुन्छ। सही र वैज्ञानिक दृष्टिकोणसहित व्यक्तिले साहस गर्यो भने पनि सांस्कृतिक परिवर्तनको अभियान अघि बढाउन सहयोग पुग्छ।
आकस्मिक रूपमा जब कसैको मृत्यु हुन्छ, त्यतिबेला मात्रै सांस्कृतिक रुपान्तरण गर्छु भन्दा नपच्न सक्छ।
त्यतिबेला समाज व्यक्तिको वरिपरि हुन्छ। घरपरिवारका सदस्य, प्रियजन साथमा हुन्छन्। त्यतिबेला एक्लै हिँड्ने साहस गर्न सजिलो हुँदैन। त्यसरी हिँड्न साहस गर्नेहरू एक/दुई दिनमा ‘ब्याक’ भएका पनि हामीले देखेका छौँ। त्यसपछि उनीहरू माथि उठ्न सकेका पनि छैनन्।
नेपाली समाजलाई सांस्कृतिक रूपमा सही दिशामा अघि बढाउन वैज्ञानिक दृष्टिकोण, विशेष जागरण अभियान र साहसको एकदमै आवश्यकता छ। त्यो कोणबाट हेर्दा बिरुजीको परिवारले एउटा साहस गरेको छ।
बिरुजीले समाजलाई पनि हामीले गर्न खोजेको यस्तो कुरा हो भनेर प्रष्ट पारिसक्नुभएको छ। आमाको नाममा बिरुजीले जसरी पुरस्कारको घोषणा गर्नुभयो, त्यसले महत्त्वपूर्ण सन्देश दिएको छ।
बिरुजीको परिवारले चालेको यो कदमबाट हामी पनि यो प्रक्रियामा सामेल हुन्छौँ भन्ने साहसी जन्माउने छ। व्यक्तिमा त्यो साहसको शक्ति यसले प्रवाह गर्ने छ। आजको कार्यक्रममा विभिन्न वक्ताबाट धेरै राम्रा विषयवस्तु प्रस्तुत भएका छन्। ती मननीय छन्।
मलाई लाग्छ- वैज्ञानिक चेतमा आधारित सांस्कृतिक अभियान सञ्चालन गर्न र दृष्टिकोण निर्माण गर्न यसले ठूलो सहयोग गर्ने छ। वैज्ञानिक दृष्टिकोण निर्माण गरौँ, अभियान पनि चलाऔँ। र, यो प्रक्रियामा एक्लै पनि हिँड्छु भन्ने साहसी निर्माण गर्ने प्रक्रियामा पनि हामी सहभागी बनौँ।
भोगाइका क्रममा, हिँडाइका क्रममा, अप्ठ्यारा परेका बेला, दुःखका बेला, साथीभाइ, संगठनको जरुरी पर्छ। म बिरुजीलाई भन्न चाहन्छु- हामी तपाईंहरूको दुःखमा साथमै छौँ।
(महोत्तरीको गौशाला नगरपालिकाका शिक्षा शाखा प्रमुख बिरु बलम्पाकीले आफ्नी आमाको मृत्यु-संस्कार परम्परागत रूपमा नगरेको सन्दर्भमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव पोखरेलले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश।)
नेपालखवरबाट।