वीरगञ्ज, २१ माघ। नेकपा एमालेले खल्तीका पात्रलाई राष्ट्रपति बनाउन खोजेको नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले टिप्पणी गरेका छन्। बाराको कलैजामा आयोजित नेपाल प्रेस युनियन मधेश प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेले खल्तीबाट निकालेका पात्रलाई राष्ट्रपति बनाउन खोजेको टिप्पणी गरेका हुन्।

उनले एमालेको खल्तीबाट निस्केका व्यक्ति राष्ट्रपति भए देश दुर्घटनामा जाने दावी गरे। खल्तीका पात्रलाई राष्ट्रपति बनाएमा संविधान र लोकतन्त्र जोखिममा पर्ने बताए समेत थापाले जिकिर गरे।

खल्तीका पात्रलाई बनाएका राष्ट्रपति संवैधानिक नभई विद्यानविपरित हुने थापाको भनाई रहेको छ। विगतको अभ्यासले नै पुष्टि गरीसकेको बताउँदै थपाले भने, ‘मैले प्रधानमन्त्रीलाई भेटेर नै एमालेका नेताले खल्तीबाट निकालेका नबनाई राष्ट्रपतिका लागि संयम हुन आग्रह गरेको छु।’

राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्चमा एमाले रहेको बताउँदै थापाले एमालेको त्यस्तो योजना सफल हुन नदिदने थापाको अडान छ।

एकपटक सरकारमा समावेश नहुँदैमा कांग्रेस पार्टी सकियो भन्ने भ्रममा नपर्न आग्रह गर्दै उनले पार्टीलाई अझै मजबुत र बलियो बनाउने तथा संगठन सुदृढ गर्ने अवसरको रुपमा लिन आग्रह गरेका छन्।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले वर्तमान सरकार सन्चारमैत्री नभएको आरोप लगाए। सरकार सुचनाको हकलाई नै कुण्ठित गर्ने प्रयासमा लागेको बताउँदै उनले त्यसका विरुद्ध प्रेस युनियन सडक आन्दोलनमा उत्रिने चेतावनी दिए।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्णको अध्यक्षतामा भएको उद्घघाटन सत्रलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, महासचिव दिलिप पौडेल, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, गुरुराज घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान लगायतले सम्बोधन गरेका थिए।

barger