सूर्य वि.क.

वीरगञ्ज, १७ माघ। ब्याचलर्स ईन बिजनेस साइन्स (बिबिएस) प्रथम वर्षमा अध्ययनरत २३ वर्षीय एक युवाको सपना छ, ‘खाडी जाने र गाडी चढ्ने।’ काठमाडांैको कागेश्वरी नगरपालिका २ निवासी अञ्जन खड्कालाई जसरी पनि खाडी जाने र खाडीबाटै अष्ट्रेलिया पुग्ने रहर पलाएको छ। हल गौशाला पिङ्लास्थानस्थित होटल रामेश्वरममा वैटरको रुपमा कार्यरत छन्; अञ्जन। उनी अर्जनु खड्काकी पहिलो श्रीमती मिना खड्काका कान्छा छोरा हुन्। बुबा दोस्रो बिहे गरेर कान्छी श्रीमतीसँगै बस्छन् भने आमा मिनाकै मेहनतमा अञ्जन हुर्किए।

आमाले उनलाई हुर्काइनन् मात्रै, बढाइन् र पढाइन् पनि। नियमित रुपमा ज्याला मजदुरी गर्दै हातमुख जोड्ने खर्चसँगै आफुले आधा पेट खाएर भएपनि उनले छोरालाई राम्रो शिक्षा दिइन्। अञ्जनले श्री सिद्धि गणेश स्कुलबाट २ दशमलव १२ जिपिए ल्याएर एसईई उतिर्ण गरे। न्यू मिलेनियम कलेजबाट २ दशमलव ८३ जिपिए ल्याएर प्लस टु सकाएपछि अहिले उनी स्नातक प्रथम वर्षमा अध्ययनरत छन्।

शुरुमा ज्यामी काम गर्ने अञ्जनकी आमा अहिले नजिकैको एउटा कलेजमा सहयोगीका रुपमा कार्यरत छिन्। ‘आमाको दुःख देख्न नसकेरै म होटलमा वैटरको रुपमा काम गर्न आएको छु’, अञ्जनले थपे, ‘बिहान कलेजबाट फर्किएपछि दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म १२ घण्टा १२ हजार तलबमा काम गर्छु।’

अञ्जनका दाई पनि छन्। उनी विवाहित हुन्। दाई र बुबा कसैले पनि आफु र आफ्नी आमालाई सहयोग नगर्ने अञ्जनले सुनाए। प्लस टु सकिएपछि उनले अष्ट्रेलिया जाने योजना बनाए। योजनाअनुरुप उनलाई सहयोग गर्ने आश्वासन पनि उनको बुबाबाट पाए। तर सबै प्रक्रिया लगभग टुंगिसकेपनि अन्तिममा बुबा सहयोग गर्नबाट पछि हटेको हुँदा अहिले होटलमा काम गर्न बाध्य भएको उनको भनाई छ।

‘नेपालमा केही गर्न सक्ने अवस्था नै छैन, गर्छु भन्नेको अवस्था प्रेम प्रसाद आचार्य जस्तै हुन्छ’ उनले भने। नेपालमा केही गर्न पनि नसकिने र गर्दा पनि कर लगायत अन्य झन्झटिलो प्रक्रियाकै कारण प्रेमले आत्मदाह गरेको बुझाई अञ्जनको छ।

ठूलाबडा र पहुँच हुनेको मात्रै देश नेपाल भएको बताउँदै उनले भने, ‘हामी जस्ता निम्त तथा मध्यम वर्गीय परिवारको लागि खाडी नै ठीक छ।’