सूर्य वि.क.
वीरगञ्ज, २५ पुस। बारा, पर्साका उद्योग तथा कलकारखानामा कार्यरत श्रमिकहरुले कार्यस्थलमा पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति गर्न नपाएको दुखेसो पोखेका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग काठमाडांैले श्रम तथा रोजगार कार्यालय वीरगञ्ज पर्साको संयोजकत्वमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो दुखेसो पोखेका हुन्।
प्रादेशिक रुपमा औद्योगिक कोरिडोरमा श्रमिक शिक्षा सम्बन्धी त्रिपक्षीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उद्योग तथा कलकारखानामा कार्यरत श्रमिकहरुलाई पूर्ण रुपमा सुरक्षाको प्रत्याभुती दिलाउनुका साथै श्रम ऐनमा व्यवस्था गरिएका कानुनको कार्यन्वयन गर्न माग गरेका छन्।
समग्र उद्योग ट्रेड युनियन नेपालकी सचिव गीता भण्डारीले श्रमिकहरुको लामो आन्दोलनको इतिहासस्वरुप अहिलेको अवस्थासम्म आइपुगेको बताइन्। त्रिपक्षीय अन्तरक्रियामा न्युनतम पारिश्रमिक, सेवा सुविधा र विदाको व्यवस्था विषयमा प्रस्तुती दिँदै भण्डारीले भनीन्, ‘२००३ सालमा बिराटनगर जुट मिलबाट शुरु भएको मजदुर आन्दोलनकै परिणामस्वरुप श्रमिकले श्रमको उचित पारिश्रमिक पाइरहेका छन्, अझै पनि कतिपय ठाउँमा सम्मानजनक पारिश्रमिक नपाइरहेको यथार्थ पनि लुकेको छैन। त्यसकै लागि हामी निरन्तर लडिरहेका छौँ।’
श्रमिकबिचको विभेदलाई चिर्दै श्रमको उचित पारिश्रमिक दिलाउनका लागि श्रमिक संगठनहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै भण्डारीले संविधानमा श्रमका लागि गरिएका व्यवस्थाका बारेमा पनि प्रकाश पारेकी थिइन्।
अखिल नेपाल ट्रेड युनियन मधेश प्रदेशका अध्यक्ष बोनी तिमिल्सनाले व्यक्तिगत तथा सामुहिक उजुरी÷माग दावीका सम्बन्धमा प्रस्तुती दिएका थिए। कसैले पनि जबरजस्ती श्रममा लगाउन नपाइने र कार्यस्थलमा हुने श्रम ऐन र नियमावली विपरितका गतिविधि भएमा उजुरी दिन सक्ने जानकारी पनि उनले दिए।
कार्यक्रममा आशिष अधिकारीले व्यवसायिक स्वास्थय र सुरक्षाका लागि सरोकारवालाको भूमिकाका बारेमा प्रस्तुती दिएका थिए। श्रमिकहरुको लागि सुरक्षा र स्वास्थय नीति नै निर्माण भएको हुँदा सोही नीतिबमोजिमको सुरक्षा र स्वास्थ्यको व्यवस्था हुनुपर्ने जानकारी अधिकारीले गराएका थिए।
उद्योग तथा कलकारखानााम हुन सक्ने सम्भावित जोखिमहरुको न्युनिकरणका लागि व्यवस्थापक पक्षले ध्यान दिनुपर्ने ग्यालेक्सी प्याकेजींगमा कार्यरत बुनेल पटेलले बताए । धेरै ध्वनी प्रदुषण हुने किसिमका कलकारखाना तथा उद्योगहरुमा कानको श्रावण शक्तीलाई असर नपर्ने किसिमको व्यवस्था हुनुपर्ने पटेलको भनाई छ। ८५ डेसीबलभन्दा बढी ध्वनीले श्रावण शक्तिलाई असर गर्ने जानकारी पनि उनले दिएका छन्।
धुलो धुवाँका कारण पनि श्रमिकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले त्यसको रोकथामका लागि व्यवस्थापक पक्ष सचेत हुनुपर्ने आवश्यक्ता भगवती स्टिल्स्की राधा साहले औँल्याइन्। कलकारखानामा काम गर्दा पुरुषले ५५ किलोग्राम र महिलाले ४५ किलोग्रामभन्दा धेरै भार भएको सामान एक्लै उठाउन नहुने पनि सोही अवसरमा प्रस्तुतकर्ता अधिकारीले जानकारी गराएका थिए।
मेशीनहरुको छेकबार गरेमा श्रमिक सुरक्षित हुने बताउँदै उनले रसायनिक सुरक्षासँगै प्रेसर प्लान्टको पनि उचित व्यवस्थापन हुनुपर्ने बताए। अधिकारीका अनुसार हरेक कारखाना तथा उद्योगहरुमा अग्नि नियन्त्रणको व्यवस्थासँगै आपतकालिन द्वारको पनि व्यवस्था हुनुपर्छ।
कार्यक्रममा नेपाल ट्रेड युनियन मधेश प्रदेशका अध्यक्ष लक्ष्मणप्रसाद कुर्मीले ट्रेड युनियन दर्ता प्रक्रिया र ट्रेड युनियनको भूमिकाका बारेमा प्रकाश पारेका थिए।
श्रम तथा रोजगार कार्यालय वीरगञ्ज पर्साका प्रमुख प्रशान्त साहले श्रम सम्बन्धी सरकारले गरेका व्यवस्थाहरुको बारेमा श्रमिकलाई जानकारी गराउने अभिप्रायले अन्तरक्रियाको आयोजना गरिएको बताए। श्रमिक र रोजगारदाताबिचको सम्बन्धलाई सुमधुर बनाउनुका साथै श्रमिकको उचित सम्मान गर्ने किसिमको वातावरण निर्माणमा उनले जोड दिए।
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यालयका नायब सुब्बा रामबालक यादवले गरेका थिए।