जनकपुर, १५ पुस। मधेश प्रदेशको नवनिर्वाचित प्रदेश्सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्।
प्रदेशसभा सदस्यहरु मध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन् भने २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ।
सर्वोच्च अदालतको आदेशका कारण मधेश प्रदेशका २ जना प्रदेशसभा सदस्यको शपथ ग्रहण रोकिएको छ। नवनिर्वाचित प्रदेशसभा सदस्यहरु माला कर्ण र मोहम्मद रजी हैदरको हकमा सर्वोच्च अदालतले निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएकाले शपथ रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ। शपथ गर्न नसकेका दुवै प्रदेशसभा सदस्य माओवादी केन्द्रका हुन्। दुवैलाई समानुपातिक कोटामा उम्मेदवार बनाइएको थियो।
मधेश प्रदेशसभा सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ५३ जना सदस्यहरुले नेपाली भाषामा शपथ लिएका छन्। ४९ प्रदेशसभा सदस्यहरुले विभिन्न मातृभाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरुले शपथ लिए। बज्जिका भाषामा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, वीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिएका हुन्।
मैथिली भाषामा ११ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन्। किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिषकुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव, संजयकुमार यादव र सतिश सिंहले मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
७ जना प्रदेशसभा सदस्यहरुले भोजपुरी भाषामा शपथ लिए। जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदादास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव र सिंगासन सा कलवारले भोजपुरी भाषामा शपथ लिएका हुन्। थारु भाषामा राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले शपथ लिएका छन्।
मगही र हिन्दी भाषामा २÷२ जना प्रदेशसभा सदस्यहरुले शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ। भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिएका हुन्।
उर्दु भाषामा एक मात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिएकी छिन्।
विवादकाबिच जनमत पार्टीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएका छन्। जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्यहरुमध्ये १२ जना प्रदेशसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएका हुन्।
जनमत पार्टीका सतिश सिंहले भने मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।