रसूर्य वि.क.
वीरगञ्ज, १३ पुस। वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया खल्वाटोला निवासी श्रीराम हजरा दुसादले आफ्नो छोराको खोजी गर्न आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिए। आफ्नो १४ वर्षीय छोरा निरज कुमार पासवान ५ मंसिर २०७९ देखि हराइरहेको भन्दै मंसिर ६ गते दुसादले निवेदन दिए। जिल्ला प्रहरी कार्यालय पर्साले दुसादले दिएको हुलिया मातहतका सबै प्रहरी कार्यालयहरुमा खोजतलासका लागि परिपत्र गरियो।
निरज बेपत्ता भएको १२ दिनपछि निरजका बुबालाई टेलीफोनबाट ५० लाख फिरौती रकम माग गरिएको जानकारी मंसिर २५ गते मात्रै प्रहरीसम्म पुग्यो।
वीरगञ्ज २५ सिर्सिया खल्वाटोलस्थित श्री गुरुकुल पन्ना मेमोरियल ई. बोर्डिङ् स्कुलमा कक्षा ८ मा अध्ययनरत निरजको शब स्कुलकै पुरानो भवन अगाडीको शौचालयको सेफ्टी टंकीमा रहेको सूचना प्रहरीलाई प्राप्त भयो। सूचनाका आधारमा पुष १० गते बेलुकी ५ बजे जिल्ला प्रहरी कार्यालय पर्साको टोली त्याहाँ पुगेर उत्खनन गर्दा निरजको शब फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
प्रवक्ता गिरीका अनुसार घटनास्थलबाट फिरौती रकम माग गर्न प्रयोग भएको सिम कार्डसहितको १ थान मोबाइल, मृतकको निलो रंगको जिन्स पाईन्ट र खैरो रंगको पेटी पनि बरामद गरिएको छ।
अनुसन्धानको क्रममा फिरौती माग्न प्रयोग गरिएको सिम कार्डलाई ट्रेस गर्दा घटनामा ३ जना संलग्न रहेको आशंकाका आधारमा २ जनालाई पक्राउ गरेको डिएसपी गिरीले बताए। उनका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ निवासी २४ वर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ घोडदौडपिप्रा निवासी ३० वर्षीय दिलिप कुमार पटेल रहेका छन्। एक जनालाई पुष ९ गते र अर्काे १ जनालाई पुष १२ गते पक्राउ गरिएको हो। फरार १ जनाको खोजी तिव्र पारिएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक बनाई कर्तव्य ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता गिरीले जानकारी दिए।
शिक्षक नै अपहरणकारी
श्री गुरुकुल पन्ना मेमोरियल ई. बोर्डिङ् स्कुलमा कक्षा ८ मा निरज अध्ययनरत थिए। त्यही विद्यालयमा गणीत विषय पढाउँथे दिलिप कुमार पटेल । श्याम प्रसाद यादवले पनि निरजलाई नजिकबाटै चिनेका थिए।
प्रहरीका अनुसार ति दुवै जनालाई पैँसाको आवश्यक्ता थियो। त्यही आवश्यक्तालाई परिपुर्ती गर्न दिलिप र श्यामले अपहरण गरेर फिरौती रकम माग्ने योजना बनाए । अपहरणका लागि सजिलैसँग भनेको मान्ने व्यक्तिको आवश्यक्ता थियो । जसमा उनीहरु दुवैै जनाले नजिकबाटै चिन्ने निरजलाई रोजे।
आफैले पढाउने विद्यालयको विद्यार्थी भएको हुँदा निरजलाई पनि सरसँग भेट्न कुनै शंका उत्पन्न भएन। मंसिर ४ गते आम निर्वाचनकै दिन निरजलाई आफुसँग भेट्न उनीहरुले बोलाए। सो दिन निरज आउन नसकेपछि ५ गते भेट्न पुगे। भेटीसकेपछि उनलाई आफ्नो घरमा लिएर हातखुट्टा बाँधी मुखमा टेप लगाएर राखेको प्रहरीले जनाएको छ।
हातखुट्टामा बाँधीएको डोरी फुकालेर भाग्ने प्रयास गरेको बेला अपहरण गरेको पहिचान खुल्ने डरमा हत्या गरेको दावी प्रहरीले गरेको छ।