जनकपुर, १० पुस। धनुषामा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ। शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का ४० वर्षीय धनुक दासको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको हो।
प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन्। बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
मृतक पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री थिए। काम सकेर घरमा आएर परिवारसंग बसेर कुरा गर्दै गर्दा अज्ञात व्यक्ति घरभित्रै पसेर गोली प्रहार गरेर भागेको परिवारजनलाई उद्धृत गर्दै डिएसपी क्षेत्रीले बताए।
उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।