वीरगञ्ज, १ पुस। समानुपातिकतर्फको अन्तिम नतिजा नआउँदै बधाई तथा शुभकामना दिन सामाजिक सञ्जालमा हतारो देखियो। नेपाली कांग्रेसका नेता राकेश सिंहलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आयो।
मधेश प्रदेशको प्रदेश सभा सदस्यमा समानुपातिक सांसद बनेको भन्दै उनलाई बधाई दिनेको कमी थिएन। महोत्तरी जन्मथलो भएपनि पर्सा जिल्ला र वीरगञ्जलाई कर्मथलो बनाएका सिंहले बधाई त पाए तर अन्तिममा आएर समानुपातिकबाट प्रदेश सभा सदस्य बन्न पाएनन्। उनी सांसद बन्नबाट योसहित तेस्रो पटक बञ्चित भएका छन्।
२०५१ सालमा ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन ९स्ववियू० सभापतिसमेत रहेका सिंह यसअघि पनि २ पटक बधाई पाएर पनि सांसद हुन पाएका थिएनन् । नेपाल विद्यार्थी युनियनका केन्द्रीय सदस्यसमेत भइसकेका उनको नाम २०६४ सालको पहिलो संविधान सभा सदस्यको निर्वाचनताका पनि समानुपातिक सांसदको अन्तिम बन्दसूचीमा थियो। त्यति बेला पनि पार्टीकै आन्तरीक कलहका कारण सांसद बन्न नपाएका उनलाई २०७० सालको दोस्रो संविधान सभामा पनि त्यही परिपाटी दोहोरियो।
२०७९ मा सम्पन्न आम निर्वाचनमा पनि समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा उनको नाम थियो। धेरैले बधाई तथा शुभकामना पनि दिए। त्यतिबेलाको परिवेश हेर्दा सिंहलाई पनि यसपटक त आफुलाई प्रदेश सभा सदस्य बन्न कसैले नरोक्ने लागेको थियो। तर अन्तिम समयमा फेरी पूरानै परिपाटी दोहोरिँदा उनी यसपटक पनि प्रदेश सभा सदस्य बन्न सकेनन्।
पटकपटक उनको नाम अन्तिम बन्द सूचीमा पर्नु तर निर्वाचित नहुनुले उनलाई भाग्यले ठगेको हो कि पार्टीले धोका दिएको भनेर छुट्याउन पनि मुस्किल पर्छ। यद्यपी उनको पार्टीप्रति राजनीतिक योगदान पनि महत्वपूर्ण रहेको नेपाली कांग्रेसका युवा नेता राकेश यादव मितवा बताउँछन्। विशुद्ध राजनीतिकर्मीका साथै असल र इमान्दार नेताहरुको नामभित्र उनको नाम अग्रस्थानमा आउने मितवाको भनाई छ।
अहिले टिकट नपाउँदैमा पार्टी फेरबदल गर्ने क्रम बढ्दै गएको अवस्थामा अवसरकै लागि पार्टी फेर्न नहुने धारणा सिंहको छ। उनी नेपाली कांग्रेसभित्रै निरन्तर सक्रिय रहनुले उनको इमान्दारीतालाई स्पष्ट पार्दछ।