सूर्य वि.क.
वीरगञ्ज, २९ मंसिर। देशमा संघीयताको स्थापनापश्चात भएको पहिलो आम निर्वाचनबाट पर्सा जिल्लाले १५ जना प्रदेशसभा सदस्य पाएको थियो। प्रत्यक्षबाट ८ जना र ७ जना समानुपातिकबाट गरी १५ प्रदेशसभा सदस्य पाएको पर्सा जिल्ला यसपटकको निर्वाचनमा खुम्चिन पुगेको छ।
गत निर्वाचनमा नेपाली कांग्रेसबाट २ जना, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट ३ जना र नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट १÷१ जना समानुपातिकबाट सांसद् बनेका थिए । तर यसपटकको निर्वाचनमा ८ जना प्रत्यक्ष र समानुपातिकबाट १ जना गरी जम्मा ९ जना मात्रै पर्साबाट प्रदेशसभा सदस्य बनेका छन्।
यसअघि नेपाली कांग्रेसबाट समानुपातिक प्रदेश सांसद् बनेका ओमप्रकाश शर्मा मधेश प्रदेशको ऊर्जा तथा खानेपानी मन्त्रीसमेत बनेका थिए। तर यसपटक कांग्रेसले पर्साबाट कसैलाई पनि समानुपातिक सांसद् बनाउन सकेन। जबकी समानुपातिकबाट पर्सा जिल्लामा सबैभन्दा धेरै ६३ हजार ८ सय ६१ मत प्राप्त गर्दै कांग्रेस पहिलो दल बनेको छ। तुलनात्मक रुपमा पनि मधेश प्रदेशका ८ जिल्लामध्ये धनुषापछि समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको पर्सा जिल्लाले एकजना पनि समानुपातिक सांसद् नपाउँदा पर्सेली कांग्रेसका नेता कार्यकर्ता अचम्मीत छन्।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्यायले पनि पार्टीले उपेक्षा गरेको बताए। पूर्व जिल्ला उपसभापतिसमेत रहेका उपाध्यायले भने, ‘२ जना प्रतिनिधिसभा सदस्य र ३ जना प्रदेशसभा सदस्यसमेत जिताएर समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाउँदा पाउँदै पनि पर्साबाट समानुपातिकमा कसैलाई नसमेट्नु अत्यन्तै दुःखद् विषय हो।’
नेपाली कांग्रेसका युवा नेता सरोज चौरसिया पनि असन्तुष्ट छन्। पर्सा जिल्लाले समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभामा पनि सांसद् नपाएको असन्तुष्टी पोख्दै चौरसियाले भने, ‘नेपाली कांग्रेसको गढको रुपमा परिचित पर्सा जिल्लालाई समानुपातिकतर्फ पार्टीले उपेक्षा गरेको महसुस भएको छ। पार्टीलाई यो उचाईसम्म पुग्नका लागि पर्सा जिल्लाका नेता कार्यकर्ताहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दा गर्दै पनि मूल्यांकन नहुनु हाम्रो लागि दुर्भाग्य हो।’
मतको मूल्यांकनसँगै पार्टीप्रति पर्सा जिल्लाको योगदान हेर्ने हो भनेपनि प्रदेशसभा मात्रै नभएर प्रतिनिधिसभामा पनि समानुपातिक पर्सा जिल्लाको हक हुनुपर्ने जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्यसमेत रहेका चौरसियाको भनाई छ।
अत्यधिक मत हुँदाहुँदै पनि समानुपातिकभित्र पर्सा जिल्लालाई नसमेट्नुमा पार्टीभन्दा पनि निर्वाचन प्रणाली दोषि रहेको बुझाई पूर्व जिल्ला सहसचिव किरण सरकारको छ। महाधिवेशन प्रतिनिधिसमेत रहेकी किरण भन्छिन्, ‘निर्वाचन आयोगको नम्बरींग सिस्टम नै गलत छ । त्यसले गर्दा पर्सा जिल्लाबाट कोही पनि समानुपातिक सांसद् हुन् सकेन। यसका साथै प्रत्यक्षतर्फ महिलाको संख्या न्यून हुँदा पनि अन्य कलस्टरसहित समावेशिकरण बनाउनका लागि पनि यस्तो भएको हो।’
सात जनाबाट झरेर एक जनामा
भर्खरै सम्पन्न निर्वाचनको परिणामअनुसार मधेश प्रदेशका सबै जिल्लाबाट ६४ प्रत्यक्ष र ४३ समानुपातिक गरी १ सय ७ जना प्रदेशसभा सदस्य छन्। ८ वटै जिल्लाबाट प्रत्यक्षमा ८÷८ जना निर्वाचित भएका छन् । समानुपातिकबाट सबैभन्दा बढी धनुषाका १० जना चुनिँदा सबैभन्दा कम पर्सा जिल्लाका १ जना मात्रै चुनिएको छ। त्यस्तै बाराबाट ४ जना, रौतहटबाट ६ जना, सर्लाहीबाट ६ जना, महोत्तरीबाट ६ जना, सिराहाबाट ४ जना र सप्तरीबाट ६ जना समानुपातिक प्रदेश सभा सदस्य बनेका छन्।
यसअघि पर्सा जिल्लाबाट नेपाली कांग्रेसका ओमप्रकाश शर्मा र आशिया देवी थरुनी, जसपाबाट रागिनीदेवी वर्णवाल, करिमा बेगम र भिमा यादव, लोसपाबाट अञ्जु यादव र नेकपा माओवादी केन्द्रबाट पास्मिना कादरी निर्वाचित भएका थिए। २०७४ सालको निर्वाचनमा समानुपातिकबाट ७ वटा प्रदेशसभा सदस्य पाएको पर्सा जिल्लाले यसपटक एकजना मात्रै पाएको छ। यसपटक समानुपातिकबाट प्रदेशसभा सदस्य बन्ने भाग्यमानी महिला बनेकी छिन् बिना देवी शर्मा । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ निवासी शर्मा नेकपा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य बनेकी हुन्।
प्रयोगमा मात्रै पर्सा
पर्सा जिल्लालाई प्रयोगमा मात्रै सिमित गरिएको बताउँछन् जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमद । भूमि आयोग पर्साका अध्यक्षसमेत रहेका अहमद भन्छन्, ‘राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्नुको परिणाम हामीले भोगिरहेका छौँ । राष्ट्रिय तहको नेतृत्व दिन नसक्दा सँधै प्रयोगमै सिमित हुनुपर्ने बाध्यता हाम्रो छ।’ निर्वाचन आयोगमा बुझाउने सूचीअनुसार पहिलो नम्बरमा परेका व्यक्तिहरु नै निर्वाचित भएपनि पर्सा जिल्लालाई उपेक्षा गर्न नहुने बुझाई उनको छ।
समग्र आन्दोलन र व्यवस्था परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको पर्सा जिल्लालाई आन्दोलनको अखडा बनाउने प्रवृतिको विरुद्ध अब घच्घच्याउनुपर्ने बेला आएको अहमदले बताए। संसारमै सबैभन्दा कम मानवीय क्षतीमा ठूलो उपलब्धी ल्याउने आन्दोलन मधेश आन्दोलन नै भएको बताउँदै अहमदले जसपाका एजेण्डा र जसपाले गरेका कामको बारेमा आम जनतासमक्ष सही रुपमा पु¥याउन नसकेको कारण यसपटक गत निर्वाचनको तुलनामा मतदाताले जसपालाई नरुचाएको पनि उनले स्विकार गरे।
समानुपातिकमा एमाले अघि
नेकपा एमालेबाट पर्सा जिल्लाले ३ जना समानुपातिक सांसद् पाएको छ । आफ्नै बर्चस्वसँगै बलियो र पर्सा जिल्लामै ठूलो दलको रुपमा दावी गर्ने नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले एकजना पनि नपाउँदा एमाले भने २ प्रतिनिधिसभा र १ प्रदेशसभासहित पर्सा जिल्लाप्रति उदार देखिएको छ। नेकपा एमालेका केन्द्रीय सदस्यद्वय प्रभु हजरा र निर्मला देवकोटा (कोइराला) प्रतिनिधिसभातर्फ समानुपातिकमा निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ बिना देवी शर्मा निर्वाचित भएकी छिन्। २०७४ को निर्वाचनमा प्रतिनिधि र प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा एमालेका कोही पनि सांसद् थिएनन्।
भाग्यमानी बिना
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा पराजय बेहोरेकी बिना जयसवाल भाग्यमानी सावित भएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा चुनीएर उनी भाग्यमानी सावित भएकी हुन्। मधेश प्रदेशमै प्रत्यक्षबाट एक सिट पनि जित्न नसकेको राप्रपाबाट समानुपातिकतर्फ बिना निर्वाचित भएकी हुन्। उनीसँगै पर्सा जिल्लाले समानुपातिकबाट ३ जना प्रतिनिधि सभा सदस्य पाएको छ।