सिरहा, २८ मंसिर। सिरहा प्रहरीले महिला हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। जिल्लाको मिर्चैया नपा २ का ३० वर्षिय लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका १ का २० वर्षिय नितेश कुमार रजक र वडा नम्वर २ मलनियारीका २० वर्षिय राम कुमार महतो कोइरीलाई पक्राउ गरेको हो।

हत्या भएको १२ घण्टा भित्रै लुकिछिपी रहेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको खुकुरीजस्तो देखिने धारीलो हतियार सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास वुढाथोकीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा पक्राउ गरेको जनाएको छ।

गाउँ नजीकै रहेको कर्जन्हा नपा ६ को जङ्गलबाट आगोबाल्न सुकेको पात लिएर आउँदै गर्दा मंगलबार अपरान्ह बाटो ढुकेरबसेका दुवैजनाले लक्ष्मीनियाँलाई धारीलो धतियारले पेट र घाँटीमा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।

पक्राउ परेकाहरुविरुद्ध आजै जिल्ला अदालत सिरहामा कर्तव्य ज्यानमुद्दामा ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

सँगै रहेका महिलाहरुले देखेपछि गाउँमा खवर पुर्याएका थिए। गाउँमा खवर आउनसाथ प्रहरीलाई खवर गरिएको थियो।

प्रहरीले पक्राउ परेकामध्येय एकजना युवकसँग महिलासँज नजिकको सम्वन्ध रहेको प्रारम्भिक अनुमानबाट खुलेको जनाए। प्रहरीले भने, ‘अहिले यति नै बुझ्नुस बाँकी अनुसन्धान भईरहेको छ। खुल्दैजाला।’

लक्ष्मीनियाँकी श्रीमान दिपेन्द्र कापड वैदेशिक रोजगारीको शिललामा कतारमा छन्। घटनाको जानकारी पाएलगतै उनी नेपाल फर्कदै गरेको दिपेन्द्रको बुवा रामदेवले जानकारी दिए।

उनीहरुको १० वर्षका दिपेश, ७ वर्षका रुकेश र ३ वर्षका रिपेशगरी तीनजना छोरा छन्।