सबैसँग चित्त बुझाउने तर्कहरू हुन्छन्, मन बहलाउने शीर्षक अनगिन्ती । अझ शक्तिकेन्द्रहरू आफू ठीक भएको प्रमाणित गर्ने भाष्यकारद्वारा अनेकौं तर्कखेती गराइरहन्छन् । दुःख भुलाउन हिँड्ने भिन्नाभिन्नै बाटा पनि हुन्छन् । आखिर चुनाव हो, हार्नु र जित्नुमा कारण त हुन्छ नै । चुनाव सकिएसँगै अब बहसका विषय भने फेरिए ।

ab mall 333

ठूला पार्टी खुम्चिए । सनातनी पार्टीसँग निराशा, आक्रोश र प्रतिक्रियास्वरूप सदनमा केही नौला अनुहार देखिनेछन् । यसले सदनको चित्र र चरित्रमा केही प्रभाव पार्नेछ । परम्परागत नेतृत्वलाई पनि नयाँ तरिकाले सोच्न दबाब बनाउनेछ । आफ्नो दिमाग आफैंसँग राखेर राजनीतिकर्म गर्नेहरूका लागि विचारको सिद्धान्तलाई सुविधाको सिद्धान्तमा फेर्दा उम्रिने संकटहरू परिणाममा छ्यांगै देखिए । व्यवहारबिना सिद्धान्त र गौरवमय इतिहास मात्रै जनमतले स्विकार्दैन । राजनीतिक नाराले सामाजिक आवेग तयार गरेर मात्रै हुँदो रहेनछ, त्यसको स्वामित्व नलिने र आफूलाई सामाजिकीकरणको परीक्षामा खरो नउतार्नेहरूले आफ्नै हतियार पनि रक्षा गर्न नसके विरोधीले थुतिदिन्छन् ।

 

कैयौं अहंकारी चिप्लिएनन् मात्रै, पछारिए पनि । राजनीतिमा अवकाश कहिले ? परिवारवाद फेरि प्रश्न बन्यो । अहंकारले व्यभिचारी बनाइदिन्छ । कुरूपतामा सुन्दरता खोजिन्छ । अन्तर्मनका लालसाले गर्दा आँसु र सपनामा पौडी खेलिन्छ । २०६२–६३ सालको परिवर्तनले ल्याएका आशा निराशामा त्यसै र एकै दिन फेरिएका हैनन् । जागृत महत्त्वाकांक्षा ऊर्जा बन्न सकेन । बरु अहंकार फैलिँदा आफ्नै वंशमा यदुवंश जन्मिन्छन् । राजनीतिक कलाकार भने औधी सिपालु हुन्छन् । प्रतिस्पर्धी तह लगाउन आफन्तको नाक काटेर पराईको गुप्तांग टालिदिन्छन् ।

चुनावी दृश्य

गठबन्धनहरूको निर्देशनले काम गरेन । स्वयं नेतृत्वलाई राजनीतिक धरहरा क्रमशः ढल्दै गएको थाहा–पत्तो भएन । निर्देशन पालना गराउन नसक्नु भनेको नेतृत्वको नैतिक आधिकारिकता गुम्नु हो । चुनावसँगै (उपयोग, बहिष्कार वा तटस्थ बस्ने) धेरैका चिन्तन, सांस्कृतिक स्तर, क्रोध, ईर्ष्या, प्रतिशोध, प्रतिक्रिया र दुर्भावनाहरू छताछुल्ल भए । कोही तटस्थ बस्न सकेन । कैयौंको राजनीतिक जीवन धरापमा पर्न गयो ।

गठबन्धनमा नेपाली कांग्रेसको वर्गनिष्ठा, एमालेको सुदृढ संगठन देखियो । माओवादी भने आफ्नै नाराको स्वामित्व लिन नसकेर गुटभित्रैका अहंकारी र महत्त्वाकांक्षीहरूसँग टकरायो । कांग्रेसमा देउवा गुटकै हालीमुहाली भए पनि ‘कम्युनिस्ट’ को हाउगुजी र डर पैदा गरिएकाले अरू त्यति विद्रोही देखिएनन् । सर्वमान्य एकल नेतृत्वका कारण एमालेमा गुट राजनीति अन्त भएको भान भए पनि वर्चस्व भिडन्तमा भने महासचिव र उपाध्यक्षबीचको शीतयुद्ध छर्लंग देखा पर्‍यो । माओवादीमा गुटको ‘जनयुद्ध’ भाइयुद्धका रूपमा छताछुल्ल भयो । कम्युनिस्ट नभैकन ‘कम्युनिस्ट’ बन्ने छुट हुनु, वामपन्थी चरित्र पनि नदेखिनु–नहुनु नेपाली ‘कम्युनिस्ट’ का विशेषता रहे । ठूला तीन दलभित्रका प्रतिस्पर्धीहरूलाई स्थानीय तहमै रोक्न चुनावी टिकटै नदिनु र दिए पनि हराउनु गुट राजनीतिको बिनाटिकटको रमिता बन्यो । जित्नेभन्दा पनि हराउने गुठियारहरू सक्रिय भए ।

संसारमा हरेक पार्टीका र संघसंस्थाका कार्यनीति अनुसार तत् संस्थाका अगुवा र कार्यकर्ता चल्छन्, चल्नुपर्छ । नत्र पार्टी भन्ने कानुनी र नैतिक अधिकार रहँदैन । भूमिकाले चरित्र किटान गर्छ । सिंगमरमरमा टेकेपछि चिप्लिन सकिन्छ, माटोको भुइँमा हिलो–धूलो लागे पनि चिप्लिँदैन । समयको वेग र दिशा खुट्याउँदै परिस्थितिलाई काबुमा राख्न भने आफ्नै खुट्टा दह्रो गरेर उभिनेले मात्रै चुनौती पार गर्न सक्छन् । कुनै प्रतिकूल हावाले भक्तपुरलाई हल्लाउनै सकेन ।

परिणामको ट्रेन्ड हेर्दा नेपालको संसद्मा पश्चिम–प्रशिक्षित दक्षिणपन्थको वर्चस्व हुने देखियो । हाम्रोजस्तो भू–संवेदनशील राष्ट्रमा अति दक्षिणपन्थको उदयले नवनाजी भ्लादिमिर जेलिन्स्की जन्माउने र पश्चिमाको क्रीडास्थल बनाउने सम्भावना टड्कारो देखियो । पश्चिमा सहयोगले गर्दा भएको नयाँ शक्तिको उदय, निराश जनमत, ठूला पार्टीप्रतिको घृणा, आर्थिक अभिभावक बनेको बिदेसिएको जनमतले घरपरिवारलाई गरेको आग्रह र अनुरोधले मतदातामाझ अर्थ राखे । हरेक पार्टीमा अन्तर्राष्ट्रिय विभाग र ती देशमा भ्रातृ संगठन सक्रिय रहे पनि ती नयाँ शक्तिसामु अर्थहीन देखिए ।

जी–ट्वेन्टीको बैठकमा चिनियाँ राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच चुनावी हस्तक्षेपको विषय सम्बन्धी वार्ताको सार्वजनिकीकरणलाई लिएर ठाकठुक भयो । आपसी संवादलाई सार्वजनिक गरेको आरोप राष्ट्रपति सीको थियो भने प्रधानमन्त्री ट्रुडोको भनाइ थियो, ‘क्यानाडा प्रजातान्त्रिक देश भएकाले सबै कुरा पारदर्शी हुन्छ ।’ यसभन्दा पहिला नेपालमा चुनावी शक्तिखेलहरू उत्तर र दक्षिणबाट मात्र हुन्थे, यस पटक भने पश्चिमाले पनि चोटिलो हस्तक्षेप गर्‍यो ।

आत्मसमीक्षाका कुरा

घटना र परिणामले विगतबाट सिकेर आगतको योजना बनाउन आफू र अरुले गरेका गल्तीहरूबाट शिक्षा लिन निर्मम आत्मसमीक्षा गर्ने गरिन्छ । कुनै पनि नेतृत्व सर्वज्ञ हुँदैन । उसलाई योग्य सल्लाहकार र असल सहयोगीहरूको टिम आवश्यक पर्छ । गल्ती महसुस गरेर रचनात्मक आलोचनालाई स्वागत गरिए मात्रै सुध्रिन–सच्चिन सकिन्छ । निर्मम आत्मसमीक्षा गर्न दुर्नियति पक्षपोषण नगरे मात्र सकिन्छ । सम्भावनाको सिकार सहज हुन्छ । जसले पहिले एकान्तमा आफैं ऐना हेर्दैन, उसले अरूलाई ऐना देखाउनुको अर्थ रहँदैन । जसले आफैंलाई क्रमभंग गरेर निकास खोज्दैन, ऊ इतिहासका पानाहरूमा मात्र समेटिने दिनको पर्खाइमा रहेतुल्य हुन्छ । इतिहासका निर्माता र क्रान्तिको नेतृत्व गर्ने संसारका धेरै पार्टी समयसँगै असान्दर्भिक बनेर पुस्तकका सन्दर्भ सामग्रीका एकाध हरफमा सीमित हुन पुगे । त्यो हेक्का राखे मात्रै अहंकारीहरूले आत्मसमीक्षा गर्न सक्छन् ।

आत्मसमीक्षाका विषय

सिद्धान्तको आत्महत्या, पार्टीको महापतन र विघटनकाल बनेर इतिहासले त्यसै खितखिताउँदै ठट्टा गरेको पक्कै हैन । मतदान किन कम भयो ? त्यसका कार्य, कारण र परिणाम खुट्याउनुपर्ने हुन्छ । परिणामसँगै दुवै गठबन्धनले दिन चाहेको, गरेको अभ्यास परिणाम बनेर देखियो । कुनकुन दृश्य–अदृश्य शक्तिखेल भए !

बहाना नगरीकन हार स्विकार्ने सामर्थ्य भएपछि मात्रै आत्मसमीक्षा गर्न सकिन्छ । किन र कसरी पार्टीभित्र आत्मघाती दस्ता तयार भयो ? आत्मघातीहरू दुस्मनलाई मार्न नसके पनि स्वयं भने मारिन्छन् । आफन्तसँगै घृणा सकिएपछि जिन्दगीभर स्वकृत्यका लागि भने पछुताउनुपर्छ । साहस र साधन मात्रै भएर हुँदैन समय र युद्धमैदान चयन, उचित व्यवस्थापन गरियो कि गरिएन ? पहल नेतृत्वमा आवश्यक हुन्छ । योद्धाहरूको मनोबल र सहयोद्धाहरूको इच्छाशक्ति बढाउनपट्टि असमर्थता एवं सबै तहका नेतृत्वहरूप्रति चरम अविश्वासका कारक केके हुन् ?

कहाँ चुकियो ?

उम्मेदवार छनोटमा ! केन्द्र र स्थानीय तहसम्म नीति र विधि अनुसार संगठन परिचालन व्यवस्थापन, सामूहिक भावना तथा संगठन पहिलो भन्ने मान्यता, नीति योजना र पहलकदमीको सुनिश्चितता अनिवार्यतामा !

सबै प्रतिकूलतासँग लड्न र जित्नका लागि जमिनमा दह्रोसँग खुट्टा टेक्नुपर्छ । पीँधका मान्छेको मुद्दा बोक्नुपर्छ । संगठनलाई विधि–पद्धतिमा चलाउनुपर्छ । राज्यको प्रतिनिधि हुँदा सरल, सस्तो र छिटो डेलिभरी दिनुपर्छ । नेताहरूले चाकरीबाज खोज्नु हुन्न । नेताहरूको बाह्रमासे गीत गाउने कार्यकर्ता बन्नु हुँदैन । परिवार–सम्पत्तिप्रति अचाक्ली मोहले समाजमा नेतृत्वमाथि घृणा पैदा गर्छ । अंकगणितका लागि विजातीय वर्गसँग मिल्नु हुँदैन । पैसाका लागि तस्कर र दलालहरूसँग उठबस गर्नै हुँदैन । जीवन सरल र एक स्तरको पारदर्शी हुनुपर्छ । भू–संवेदनशील देशमा विदेशीको सुरक्षाचासो र आफ्नो दायित्व के हो भन्ने ख्याल गरियो ?

नयाँ गठबन्धनको रेखाचित्र

परिस्थिति फेरिएसँगै पार्टीहरूका प्राथमिकता पनि फेरिने गर्छन् । राजनीति सबैलाई, सबै ढोका सधैं खुला राखिरहने सम्भावनाको खेल हो । गठबन्धनहरू बन्छन्, भत्किन्छन् । संसदीय व्यवस्थामा शक्ति पाउन कुनै पनि बेला पार्टीहरू जोसुकैसँग सम्झौता गर्ने गर्छन् । राजनीति मात्रै यस्तो विषय हो जहाँ हिजोलाई नभई भोलिलाई हेरेर योजना र सहयात्री छानिन्छ । मित्र र विरोधी तय गरिन्छ । नेतृत्वको भूमिकाले समाज र कार्यकर्तालाई धारणा फेर्न प्रोत्साहित मात्रै गर्दैन, व्यवहार फेर्न पनि हौस्याउँछ, बाध्य पार्छ । पुरानै तरिकाले नयाँ चुनौतीको सामना गर्न सकिँदैन ।

कांग्रेस र एमालेको आआफ्नो गठबन्धन र सहकार्यले माओवादी जनयुद्धप्रतिको धारणा, आग्रह र शत्रुतापूर्ण व्यवहारमा फरक ल्यायो । सामाजिक मनोभावमा समेत प्रभाव पार्‍यो । भलै नाराको सामाजिकीकरण गर्न र धरातलीय स्वामित्व लिन नसक्दा थारू, दलित, जनजाति र मधेशमा उसले उठाएका नारा र अभियानबाटै अन्य शक्तिको उदय किन नभएको होस् ! उसले उठाएका गणतन्त्र, समानुपातिक, समावेशी र संघात्मक एजेन्डालाई आफ्ना नीति बनाउन अन्य पार्टी हिचकिचाएनन् । त्यसले राष्ट्रिय–अन्तर्राष्ट्रिय सोचमा असर पार्‍यो । भलै प्रायोजित एनजीओ–आईएनजीओ र घायल अभिजात वर्गविरोधी किन नहोस्, नाराको वाहक स्वयं भूमिकामा नउत्रिएको होस् !

पार्टी एकताको अभ्यास, एकआपसका शत्रुतापूर्ण सम्बन्ध, विपरीतको एकत्वलाई एमाले अध्यक्षले विगतमा स्विकार्न सकेनन् । आत्मसात् गर्नपट्टि समस्या रह्यो । यसकारण नयाँ राजनीतिक सहकार्य गर्न उनलाई कठिन परे पनि चुनावी परिणामले नयाँ सहयात्री खोज्न विवश बनायो । स्वभाव र संस्कृति फेर्न धेरै कठिन पर्छ । दम्भपूर्ण नजरिया, आत्माहंकार, अधिमूल्यन र धरातलीय यथार्थको बेवास्ताजस्ता दुर्गुणबाट बच्न नसक्दा उनी विगतमा पाएको अपार अवसर सित्तैंमा गुमाउन पुगेकै हुन् । भीम रावल फ्याक्टर पनि उनलाई महँगो पर्‍यो । रावलले हारेर पनि जिते । अब आक्रोश मत्थर भएको छ, परिवेश नयाँ बनेको छ ।

सरकार मिलीजुली बन्ने भो । अब पश्चिमा दबाबका कारण कांग्रेसले राप्रपा, नवोदय शक्ति, मधेशवादीसँगको सहकार्यलाई प्राथमिकता दिनेछ । दक्षिणलाई भने अब एमाले र माओवादी अछुत रहेनन् । अर्कातर्फ कांग्रेस सबै ‘वामपन्थी’ लाई प्रतिपक्ष र सडकमा छोड्न पनि चाहँदैन । यसले गर्दा फेरि कतै २०५० को दशकको कुरूप राजनीतिक खेलको पुनः अभ्यास त हुने हैन ?

कान्तिपुरबाट।