वीरगञ्ज, ७ मंसिर। पर्साको क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः दोहोरिएका छन्। २०४६ सालदेखि कोही पनि दोहोरिएर नजितेको यस क्षेत्रमा यादवलाई जनताले फेरी जिताएका छन्। निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका बागी उम्मेदवार अजय कुमार द्विवेदीलाई १ हजार ६ सय २० मतान्तरले पराजित गर्दै यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
२२ हजार ५ सय ३७ मत प्राप्त गरेर यादव निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी द्विवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन्। त्यस्तै राप्रपाका किरण मान डंगोलले २ हजार ६ सय ५९ मत ल्याएका छन् भने पाँच दलीय गठबन्धनको साझा उम्मेदवार लोसपाका लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । कर्णले मात्र १ हजार १ सय १७ मत प्राप्त गरेका छन्।
निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले गठबन्धनले साथ नदिएको आरोप लगाए। जसपा र नेकपा एमालेको चुनावी तालमेल भएपनि एमालेका प्रभावशाली नेताहरु नै हराउने षड्यन्त्र रचेको आरोप लगाउँदै अन्ततः उक्त षड्यन्त्रलाई चिरेर आफुलाई निर्वाचित गराएकोमा जनताप्रति आभार पनि उनले प्रकट गरेका छन्। वर्षाै देखि अड्किएको नागरिक विद्येयकलाई पास गराउने आफ्नो पहिलो प्राथमिकता रहने यादवको भनाई छ।
द्विवेदी कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई नै सहयोग गर्न कांग्रेसले लक्ष्मणलाल कर्णसँग धोका गरेको कर्णको मतपरिणामले बताउँछ।
यादव यस अघि २०७४ को निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए। त्यसबेला उनले नेपाली कांग्रेसका अनिल रुङ्टालाई ४ हजार ६ सय ५१ मतले पराजित गरेका थिए। रुंगटाले १६ हजार ४ सय ८१ मत ल्याउँदा यादव २१ हजार १ सय ३२ मत ल्याएर निर्वाचित भएका थिए। क्षेत्र नम्बर १ को (क) मा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन्। निवर्तमान प्रदेश सभा सदस्य जसपाका बागी उम्मेदवार जन्नत अन्सारीलाई पराजित गर्दै रहबर विजयी भएका हुन्। यसअघि दुई पटक चुनाव हारेका रहबरलाई तेस्रो पटकको चुनावमा सफलता मिलेको हो।
क्षेत्र नम्बर १ (ख) मा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पुनः निर्वाचित भएका छन्। उनले पाँच दलीय गठबन्धनका रामनारायण कुर्मीलाई पराजित गरेका हुन्।
पर्साको क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका श्याम प्रसाद पटेल जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन्। २ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रमेश प्रसाद कुर्मी विजयी भएका छन्। उनले जसपाका बागी उम्मेदवार रुपेशमान सिंह श्रेष्ठलाई पराजित गरेका हुन्।
क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोद जैसवाल निवर्तमान प्रदेश सभा सदस्य नेकपा एमालेका अब्दुल रहिम अन्सारीलाई हराउँदै निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ (ख) मा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री विजयी भएका छन्। उनले जसपा र नेकपा एमाले गठबन्धनकी डा. मधु गुप्तालाई हराएका हुन्।
पर्साको क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन्। नेकपा एमालेका जालिम मियाँ मंसुरीलाई हराउँदै उनले चौथो पटक संसदसम्मको यात्रा तय गरेका हुन्।
क्षेत्र नम्बर ४ (क) मा नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी पुनः दोहोरिएका छन्। उनले नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुलाई हराएका हुन्। क्षेत्र नम्बर ४ (ख) मा जसपाका सिंगासन सा कलवार पुनः निर्वाचित भएका छन्।
पर्सा जिल्लामा हालसम्म भएको मतपरिणामअनुसार जसपाले १ प्रतिनिधि सभा र २ प्रदेश सभामा जित हाँसिल गरेको छ। नेपाली कांग्रेसले २ प्रतिनिधि सभा र ३ प्रदेश सभा जित्दा लोसपा, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले १÷१ प्रदेश सभा हात पारेका छन्।
पर्साको क्षेत्र नम्बर २ मा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक नभएपनि नेपाली कांग्रेसका अजय चौरसियाको जिन सुनिश्चित छ। क्षेत्र नम्बर ३ मा भने नेकपा एमाले र नेपाली कांग्रेसबिच कडा टक्कर चलीरहेको छ।