वीरगञ्ज, ७ मंसिर। पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्र र (२) बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जयसवाल ७ हजार ३ सय ८१ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धा नेकपा एमालेका अब्दुल रहिम अन्सारी (मञ्जुर) ले ५ हजार ९ सय ३० मत पाए।
कांग्रेसका जनार्दन सिंह क्षेत्रीले जनता समाजवादी पार्टी (जसपा) की नेतृ मधु गुप्तालाई पराजित गरेका हुन्। क्षेत्री नेपाली काँग्रेस पर्साका सभापति हुन्। क्षेत्रीले १० हजार १ सय ७२ मत ल्याउँदा मधुले ७ हजार ४९६ मत पाइन्।
टिकटका लागि पार्टी परिवर्तन गरेर नेकपा एकीकृत समाजवादीबाट चुनाव लडेका प्रल्हाद गिरी गोस्वामीले ६ हजार ५ सय ३ मत पाए।
०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचन लडेका प्रल्हादले जर्नादनलाई पराजित गरेका थिए। प्रल्हाद ६ हजार ३४५ मत ल्याएर विजयी हुँदा जर्नादन ६ हजार २५० मत सहित दोस्रो स्थानमा थिए।