सिरहा, ७ मंसिर। मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी मङ्गलबार दिउँसोबाट धनुषा क्षेत्र नं ४ र महोत्तरी क्षेत्र नं ४ मा मतगणना सुरु भएसँगै प्रदेशका सबै निर्वाचन क्षेत्रको मतगणना भइरहेको मधेश प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकार दिए।
मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही , रौतहत बारा र पर्सा सबै जिल्लामा चार–चारवटा प्रतिनिधिसभा र आठ–आठवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्।
यहाँका ३२ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस आठ, नेकपा (एमाले) छ, स्वतन्त्र उम्मेदवार पाँच, जनता समाजवादी पार्टीका उम्मेदवार पाँच, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी दुई–दुई स्थानमा अगाडि रहेका छन्।
निर्वाचन आयोगको परिणाम अनुसार प्रदेशका विभिन्न जिल्लाका आठ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।
नेपाली कांग्रेसबाट सिरहा–१ मा पदमनारायण चौधरी, रौतहट–४ मा देवप्रसाद तिमलसेना, महोत्तरी–४ मा महेन्द्रकुमार राय, सप्तरी–३ मा दिनेशकुमार यादव, सप्तरी–४ तेजुलाल चौधरी, पर्सा–२ अजयकुमार चौरसिया, पर्सा–३ सुरेन्द्रकुमार चौधरी र पर्सा–४ मा रमेश रिजाल अगाडि छन्।
एमालेका आठ उम्मेदवारले पनि प्रदेशका विभिन्न आठ क्षेत्रमा अग्रता लिइरहेका छन्। यहाँ एमालेबाट धनुषा ३ मा जुलीकुमारी महतो, धनुषा–२ मा उमाशङ्कर अरगरिया, धनुषा ४ रघुवीर महासेठ, सिरहा ३ मा लीलानाथ श्रेष्ठ, बारा १ मा अच्युतप्रसाद मैनाली र महोत्तरी १ मा लक्ष्मी काइतो कोइरी अगाडि रहेका छन्।
यसैगरी, माओवादी केन्द्रका दुई उम्मेदवारले अग्रता कायम गरेका छन्।। सर्लाही–२ मा माओवादी केन्द्रका महिन्द्र राय यादव, सर्लाही ३ मा नरेन्द्र साह कलवारले अग्रता लिइरहेका छन्। एकीकृत समाजवादीबाट रौतहट १ मा पार्टी अध्यक्ष माधवकुमार नेपाल र बारा क्षेत्र नं ४ मा कृष्णकुमार श्रेष्ठ अगाडि छन्।
मधेश आन्दोलनका मुख्य दलहरूमध्ये जनता समाजवादी पार्टी (जसपा) बाट सिरहा ४ वीरेन्द्रप्रसाद महतो, सप्तरी १ मा नवलकिशोर साह सुडी, पर्सा १ मा प्रदीप यादव, धनुषा १ मा दीपक कार्की र बारा ३ मा रामबाबुकुमार यादवले अग्रता लिईरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महोत्तरी २ मा शरदसिंह भण्डारी, सर्लाही १ रामप्रकाश चौधरीले अग्रता कायम गरेका छन्, भने जनमत पार्टीबाट सप्तरी २ मा पार्टी अध्यक्ष सिके राउत र सिरहा २ मा विनोदकुमार यादव अगाडि छन्।
मधेस प्रदेशका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये पाँच जना स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्। महात्तरी ३ मा रामआधार कापर, रौतहट २ मा किरणकुमार साह, रौतहट ३ मा प्रभु साह, सर्लाही ४ मा अमरेशकुमार सिंह र बारा २ मा स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव अग्रस्थानमा छन्।
महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर प्रतिस्पर्धामा छन्। यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले दुई हजार आठ सय ९३ मतसहित अग्रता लिइरहँदा ठाकुरले एक हजार पाँच सय ४५ मत प्राप्त गरेको छ।