सिरहा, ३ मंसिर। सिराहामा आइतबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक हजार सात सय बढी अस्थायी मतदाताले मत खसाल्न पाउने भएका छन्। सुरक्षाकर्मी, कर्मचारी तथा जिल्ला कारागारमा रहेका थुनुवा र कैदी गरी एक हजार ७१० अस्थायी मतदाताले समानुपातिकतर्फ मत दिन पाउने छन्।
सिराहाकी निर्वाचन अधिकृत इन्दिरा यादवका अनुसार जिल्लाका १७ स्थानीय तहका ५०५ मतदान केन्द्रमा खटाइएका नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ६६२, ९२७ कर्मचारी र सिरहा कारागारमा रहेका एक सय २१ थुनुवा तथा कैदीले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ अस्थायी मतदाताको रुपमा मत खसाल्न पाउने छन्।
निर्वाचन सुरक्षाका लागि जिल्लामा परिचालन गरिएका म्यादी प्रहरीले भने मत दिन पाउने छैनन्। अस्थायी मतदाताको लागि सूची पठाउने समयमा म्यादी प्रहरीको छनौट प्रकृया चलिरहेकाले उनीहरुको नाम अस्थायी मतदाताका रुपमा छुटेकाले उनीहरु मत दिनबाट बञ्चित भएका यादवले बताइन्। सिराहामा दुई हजार ८०९ म्यादी प्रहरी परिचालन गरिएको छ।
‘कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचनमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीहरुको नाम समावेश गरी एक हजार ९२३ जनाको नाम अस्थायी मतदाताका लागि आयोगमा पठाइएको भएपनि रुजु गर्दा २१३ जनाको नाम काटिएर आयो,’ निर्वाचन अधिकृत यादवले भनिन्।
प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार हुने मतदानका लागि जिल्लामा एक हजार चार सय नेपाल प्रहरी, सात सय सशस्त्र प्रहरी बल र दुई हजार आठ सय नौ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए। निर्वाचन अधिकारी यादवका अनुसार मतदानका लागि जिल्लाका पाँच सय पाँच मतदान केन्द्रमा स्वयंसेवकसहित छ हजार ६० कर्मचारी परिचालन गरिने छ।
सिराहाको आठ नगरपालिका र नौ गाउँपालिकामा गरी दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार छ सय ११ महिला तथा दुई तेस्रो लिंगी गरी चार लाख २२ हजार सात सय १२ मतदाता रहेका छन्।
नयाँपत्रिकाबाट।