सूर्य वि.क.

वीरगञ्ज, २९ कात्तिक। पर्सा क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार अजय चौरसियाको अवस्था मजबुत देखिएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौरसियाको पकड क्षेत्र मानिने क्षेत्र नम्बर २ मा उनीसँग प्रतिस्पर्धीको अवस्था कमजोर आँकलन गर्न थालिएको छ। दलका ८ जना र स्वतन्त्र ३ गरी ११ जना उम्मेदवार रहेको यस क्षेत्रमा चौरसिया नै अहिलेसम्मका अब्बल उम्मेदवार देखिन्छन्।

ab-mall 1

५७ वर्षीय चौरसिया विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न व्यक्ति हुन्। २०४६ सालदेखि पार्टीगत रूपमा सक्रिय भएका उनी २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि सद्भावना पार्टी प्रवेश गरी सोही पार्टीको टिकटमा चुनाव लडेका थिए। निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसमै फर्किएका चौरसियालाई २०५६ सालको आम चुनावमा पर्सा क्षेत्र नम्बर २ बाट कांग्रेसबाट निर्वाचित भएका थिए। सोही अवधिमा उनी २०५८ सालमा स्थानीय विकास सहायक मन्त्रीसमेत बनेका थिए।
राजनीतिक यात्रामा दुई पटक गरेर तीन महीना जेल जीवनसमेत बिताएका चौरसिया २०६४ सालमा भको पहिलो संविधान सभा सदस्यको निर्वाचनमा पर्साको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

२०७० सालको दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा पराजित भएका चौरसिया २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि तत्कालिन संघिय समाजवादी फोरमका बिमल प्रसाद श्रीवास्तवसँग पराजित भए। २१ हजार १ सय ६९ मतका साथ बिमल बिजयी हुँदा १९ हजार ७ सय ४ मतका साथ अजय दोस्रो स्थानमा रहेका थिए।

चौरसिया यसपाली छैठौँ पटक चुनावी मैदानमा होमिएका छन्। २ पटक जित र ४ पटक हार बेहोरेका चौरसियाले यसपाली फेरी जित आफ्नो पक्षमा पार्ने देखिन्छ।

हालसम्मको चुनावी माहोलअनुरुप चौरसिया अगाडी देखिएपनि उनलाई जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीले पछ्याइरहेका छन्।

२०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरका आकाङ्क्षी रहेका कुर्मीले अवसर नपाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) देखि असन्तुष्टी पोखीरहेका थिए। लोसपाबाटै उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झाको विरुद्ध षड्यन्त्र गरेको भन्दै लोसपा जिल्ला समितिले कारवाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि असन्तुष्ट भएका कुर्मीले जसपा रोजेका हुन्।

अधिवक्तासमेत रहेका कुर्मी सिरसिया नदि प्रदुषण मुक्त अभियानका अभियानता पनि हुन् । यसअघि कहिलै पनि चुनाव नलडेका कुर्मीलाई २ पटक निर्वाचित भइसकेका पूर्व मन्त्रीसमेत रहेका चौरसिया भारी पर्ने देखिएको हो।

क्षेत्र नम्बर २ मा जसपाबाट कुनै बलियो उम्मेदवार नभएपछि कुर्मीलाई उम्मेदवार बनाएको विश्लेषण यहाँको राजनीतिक बृतान्तमा हुने गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता स्वर्गीय गोखुल प्रसाद कुर्मीका छोरा कुर्मी जसपाका उम्मेदवार भएपनि उनको पारिवार भने राप्रपामा आस्थावान परिवार हो।

कुर्मीका भाई जगरनाथ प्रसाद कुर्मी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हुन् । राप्रपाबाट स्थानीय तहको चुनावमा उपमेयरमा लडेकी बिना जैसवाल उनकी बुहारी हुन्। उनी राप्रपाबाट समानुपातिकमा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार पनि हुन्। यसले गर्दा कुर्मीलाई घरैबाट असहयोग हुने स्पष्ट हुन्छ। किनभने यही क्षेत्रबाट राप्रपाका उम्मेदवार नरेश कुमार साह छन् । तसर्थ उनका भाई, बुहारीसहितका परिवारबाटै राप्रपालाई भोट जाने हुँदा कुर्मीले घरकै पारिवारीक भोट पनि नपाउने देखिएको हो।

राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाबाट उम्मेदवार बनेका नरेश भारतीय नागरिक हुन्। भारतको विहार राज्य सितामढी जिल्ला बेल निवासी नरेश साहले २०६३ सालको नागरिकता टोलीबाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय पर्साले पुष्टि नै गरीसकेको छ। पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले भारतीय नागरिक नरेश साहको नागरिकता खारेजीको लागी गृह मन्त्रालयमा सिफारिस समेत गरीसकेको छ।