वीरगञ्ज, २६ कात्तिक। पर्सा जिल्लाका ६३ मतदानस्थत अति सम्वेदनशिल रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। जिल्लाका १६७ मतदानस्थल मध्येय ६३ वटा अति सम्वेदनशिल ८५ वटा संवेदनशील र १९ वटा मतदानस्थललाई सामान्य मतदानस्थलको रुपमा वर्गिकरण गरिएको हो।
सबै मतदानस्थलको स्थलगत अनुगमनको आधारमा जिल्ला सुरक्षा समितिले ३ समूहमा विभाजन गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए। उनका अनुसार ६३ वटा मतदानस्थललाई अतिसंवेदनशील, ८५ वटा संवेदनशील र १९ वटा मतदानस्थललाई सामान्य संवेदनशीलको सूचीमा राखिएको छ।
प्रमुख व्यापारिक नाका तथा औद्योगिक क्षेत्रको रुपमा परिचित पर्सा जिल्ला भारतीय खुल्ला सीमासँग जोडिएकाले सम्वेदनशिल रहेको बताइएको छ।
यस जिल्लामा ३ लाख ४५ हजार ९ सय २८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पर्साले जानकारी दिएको छ।
आर्थिक एवम् व्यवसायीक हिसावले अत्यन्तै महत्वपूर्ण मानिने पर्सा जिल्ला राजनीतिक हिसावले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पर्सा जिल्लामा २०७८ सालमा गरिएको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार ६ लाख ४९ हजार ३ सय ९७ जनसंख्या रहेको छ।
जिल्ला निर्वाचन कार्यालय पर्साकाअनुसार १ लाख ९४ हजार ९ सय ४ जना पुरुष मतदाता हुँदा १ लाख ५१ हजार ८ जना महिला मतदाता छन्। अन्य १६ जना रहेको जिल्ला निर्वाचन अधिकारी रंजिता झाले जानकारी दिइन्।
जिल्लाभरीका १ सय ६७ मतदानस्थलमा ४ सय ८५ वटा मतदान केन्द्र रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए।
पर्साको क्षेत्र नम्बर १ को ‘क’ मा २२ वटा मतदानस्थल र ४५ वटा मतदान केन्द्र, क्षेत्र नम्बर १ को ‘ख’ मा १२ वटा मतदानस्थल र ४३ वटा मतदान केन्द्र रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। त्यस्तै क्षेत्र नम्बर २ को ‘क’ मा २१ वटा मतदानस्थल हुँदा ५२ वटा मतदान केन्द्र र क्षेत्र नम्बर २ को ‘ख’ मा १७ वटा मतदास्थल र ५१ वटा मतदान केन्द्र रहेका छन्।
क्षेत्र नम्बर ३ को ‘क’ मा २२ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र, ३ को ‘ख’ मा २५ वटा मतदानस्थल र ५८ वटा मतदान केन्द्र छन् भने क्षेत्र नम्बर ४ को ‘क’ मा २५ वटा मतदानस्थल र ५५ वटा मतदान केन्द्र हुँदा क्षेत्र नम्बर ४ को ‘ख’ मा २३ वटा मतदानस्थल र ५७ वटा मतदान केन्द्र रहेका छन्।