वीरगञ्ज, २५ कात्तिक। पञ्चायती व्यवस्थादेखि स्थानीय तह केन्द्रीत राजनीति गरेका जालिम मियाँ मन्सुरी र केन्द्रीय राजनीतिमा सक्रिय रहेका रमेश रिजालबिचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।

पर्साको क्षेत्र नम्बर ४ बाट सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रिजाल र नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका उम्मेदवार जालिम दुवै जनाको लामो राजनीतिक पृष्ठभूमि छ। ३ पटक जित र ३ पटक पराजय बेहोरिका रिजाल सातौँ पटक चुनावी मैदानमा छन्। ६५ वर्षीय रिजाल २०४८ सालदेखि लगातार चुनाल लड्दै आएका छन्। २०४८, २०५१ र २०६४ को चुनाव जितेका रिजाल २०५६, २०७० र २०७४ मा पराजित भए।
२०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनी मधेशी मोर्चाका साझा उम्मेदवार लक्ष्मणलाल कर्णसँग पराजित भएका थए। रिजाल १४ हजार ७ सय २ मतका साथ दोस्रो स्थानमा रहँदा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गरेर निर्वाचित भएका थिए।
वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत पाएकी थिइन्। २०५६ सालको चुनावमा अर्यालले जितेकी थिइन् भने २०७० मा नेकपा एमालेका जयप्रकाश थारुले चुनाव जितेका थिए। यसअघिको निर्वाचनमा रिजाललाई हराएका कर्ण यसपटक पर्साको क्षेत्र नम्बर १ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका छन्।
सातौ पटक संसदीय चुनाव भिडिरहेका रिजाललाई पहिलो पटक चुनाव लडीरहेका जालिम पनि चुनौती बनेका छन्। संसदीय चुनावमा पहिलो पटक होमिएका जालिम २०२९ सालको पञ्चायती व्यवस्थामा तत्कालिन जगरनाथपुर गाविस वडा नम्बर १ को वडाअध्यक्षमा निर्वाचित भएका थिए। विजवनिया जगरनाथपुर गाउँ पञ्चायतबाट २०३५ सालमा प्रधानपञ्चसमेत बनेका जालिम बहुदलीय व्यवस्थापछि भने नेपाली कांग्रेसमा आवद्ध भए।
कांग्रेसबाटै चुनाव लडेर इलाका सदस्यमासमेत निर्वाचित भएका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। ३ हजार ४ सय १ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका जालिम ८ पुस २०७८ मा नेकपा एमालेमा प्रवेश गरेका हुन्।
प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने उद्घोष गरेका जालिमलाई हेलिकप्टरसहित जगरनाथपुर पुगेका एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। सोही कार्यक्रममा जालिमले ओलीलाई १ सय ५१ किलोको मालासमेत लगाइदिएका थिए। जालिमले गरेको त्यो शक्ति प्रदर्शनबाटै प्रभावित भएका ओलीले क्षेत्र नम्बर ४ बाट प्रतिनीधि सभा सदस्यको उम्मेदवार जालिमलाई बनाएका हुन्।
एकातिर पाँच दलीय सत्ता गठबन्धनबाट पूराना राजनीतिक खेलाडी रिजाल र अर्काेतिर जसपा एमालेको गठबन्धनबाट पनि स्थानीय स्तरमा लामो समय दबदबा कायम गरेका जालिम। दुबै गठबन्धनका उम्मेदवारको आआफ्नो पकड भएका कारण एकअर्काको मत कति तान्न सक्छन् भन्नेमा यस क्षेत्रको जित निर्भर हुने ।
३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा सबैभन्दा बढी २३ हजार ९१ मत कांग्रेसलाई परेको देखिन्छ। एमालेलाई १८ हजार ११८, जसपालाई १३ हजार ६२७, माओवादीलाई ५ हजार ८९६, लोसपालाई २ हजार १२ र एकीकृत समाजवादीलाई १ हजार ३३६ मत खसेको देखिन्छ।























