- सुरेन्द्रकुमार कामती
सिरहा, २३ कााित्तक। एमाले–जसपा गठबन्धनबाट सिराहा ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमालेका लीलानाथ श्रेष्ठ र प्रदेश सभा ३ (ख) का उम्मेदवार जसपाकी रेनु यादवले प्रचारप्रसारका लागि भारतीय नम्बरप्लेटको गाडी प्रयोग गरिरहेका छन् । श्रेष्ठ र यादवले बिआर ०१ पिके ३५९१ नम्बरको भारतीय स्कारपियो प्रयोग गरिरहेका छन् ।
सिराहा ३ बाटै प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जनमत पार्टीका दिनेश यादव र प्रदेश सभा ३ (ख) का उम्मेदवार ज्ञानु यादवले बिआर ०७ पिबी ८६२६ नम्बरको स्कारपियो चुनाव प्रचारमा प्रयोग गर्दै आएका छन् । त्यस्तै, सिराहा २ र ३ मा चुनावी सभालाई सम्बोधन गर्न आएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको पछुवा गाडी भारतीय नम्बरप्लेटको छ । जनमत पार्टीको झन्डा फहराइएको बिआर ०६ पिसी १६४४ नम्बरको सो गाडीमा पार्टीका कार्यकर्ता चढ्छन् ।
सिराहाका चारै निर्वाचन क्षेत्रमा दल र उम्मेदवारले आफू र कार्यकर्तालाई चुनावी सभा, सम्मेलन र घरदैलोमा पुग्न भारतीय नम्बरप्लेटकै गाडी प्रयोग गर्दै आइरहेका छन् । माओवादी कार्यकर्ता अरविन्द यादव नेपालमा भाडाको गाडी अभाव र भारतमा सस्तोमा सजिलै पाइने भएकाले पारिबाटै ल्याइएको बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले नियमअनुसारबाहेक भारतीय नम्बरप्लेटका गाडी प्रयोग गर्न नमिल्ने निर्णय गरेको थियो । ‘निर्वाचन कानुनको पालना सबैले गर्नुपर्छ,’ स्थानीय युवा चन्द्रकिशोर यादवले भने, ‘भारतीय गाडी सस्तोमा भाडामा पाइने भएकाले चुनावमा दुरुपयोग भएको छ । सम्बन्धित निकाय देखेर पनि नदेखेझैंँ गरिरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी सुभाष बुढाथोकी भने १७ कात्तिकयता निर्वाचन प्रचारमा प्रयोग भएका १५ भारतीय गाडीमा उम्मेदवारले राखेको झण्डा हटाएर सचेतसमेत गराइएको बताउँछन् ।
‘जिल्लाका लहान, गोलबजार, मिर्चैया, सिरहा र माडर क्षेत्रमा चुनावी प्रचारमा प्रयोग गरिएका भारतीय नम्बरप्लेटका १५ गाडीसहित ब्लुबुक, सवारी चालक अनुमतिपत्रसमेत नियन्त्रणमा लिएर झण्डा हटाएर सम्झाइबुझाई छाडिएको छ,’ उनले भने, ‘भन्सार तिरेकोलगायत कागजपत्र दुरुस्त भएपछि छाडिएको हो ।’ तर, विगतका निर्वाचनमाभन्दा भारतीय नम्बरप्लेटका गाडीको प्रयोग भने घटेको उनको दाबी छ ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत ध्यानबहादुर राई भने आफू एक्लै भएकाले आचारसंहिता कार्यान्वयन गराउन अप्ठ्यारो भएको बताउँछन् । जिल्लाभर अनुगमन गर्न अप्ठ्यारो भएकाले लिखित उजुरी आए कारबाही हुने उनको दाबी छ ।
धनुषामा चुनाव प्रचारमा प्रयोग भएका भारतीय नम्बरप्लेटका २६ गाडी नियन्त्रणमा लिएर छाडियो
धनुषामा पनि दल तथा उम्मेदवारले चुनावी प्रचारमा भारतीय नम्बरप्लेटका गाडी प्रयोग गर्दै आएका छन् । हालसम्म प्रहरीले भारतीय नम्बरप्लेटका २६ गाडी नियन्त्रणमा लिएर सचेत गराई छाडेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक क्षेत्रीले चुनाव प्रचारप्रसारमा प्रयोग भएका भारतीय नम्बर प्लेटका २६ गाडी नियन्त्रणमा लिएर छाडेको बताए । ‘स्वतन्त्रदेखि ठूला पार्टीका उम्मेदवारले प्रचारप्रसारमा भारतीय नम्बरप्लेटको गाडी प्रयोग गरेका छन् । हामीले त्यस्ता २६ गाडी नियन्त्रणमा लिएर आइन्दा आचारसंहिता उल्लंघन नगर्ने सर्तमा छाडिदिएका छौँ,’ उनले भने ।
नयाँ पत्रिकाबाट।