सिरहाको सुखिपुर नगरपालिकाका प्रमुख रामअवतार यादव आफ्नै पालिकामा भएको नेकपा एमाले तथा जसपाको चुनाविसभालाई सम्वोधन गर्दै। साथमा जसपाका तर्फबाट सिरहा क्षेत्र नम्वर २ का उम्मेदवार राजकिशोर यादव र नेकपा एमालेका तर्फबाट प्रदेश सभाका उम्मेदवार सत्रुधन प्रसाद सिंह। -फोटोः सत्रुधन प्रसाद सिंहको फोसबुकबाट।
सिरहा, २० कात्तिक। सिरहाका जनप्रतिनिधीहरु निर्वाचन आचारसंहितालाई वेवास्ता गर्दै आफ्नै नगरपालिकाभित्र चुनावी प्रचार प्रसारमा सक्रियता पूर्वक लागेको पाईएको छ। जिल्लाको सिरहा, सुखिपुर नगरपालिका, अर्नमा गाउँ पालिकाका प्रमुखहरु चुनावी कार्यक्रममा सहभागी भएका फोटाहरु सामाजिक सञ्चालमा पोष्ट भएपछि जनप्रतिधिले आचारसंहिताको खिल्लिा उडाएको सार्वजनिक भएको हो।
निर्वाचन आचारसंहिताको वेवास्ता गर्दै सिरहा नगरपालिकाका मेयर नविन यादवले आफ्नै नपा ६ बसविट्टामा आज भएको चुनावि सभामा सम्वोधन गरेको फोटो सार्वजनिक भएको छ। मेयर यादव निरन्तर रुपमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको संयुक्त चुनाविसभामा सहभागी हुने र सम्वोन गर्दै आएका छन्।
सिरहा नगरपालिकाका प्रमुख नविन यादव आफ्नै पालिकाको वडा नम्वर ६ मा नेकपा एमाले तथा जसपाको चुनाविसभालाई सम्वोधन गर्दै। साथमा सिरहा क्षेत्र नम्वर ३ का प्रतिनिधीसभा उम्मेदवार लिलानाथ श्रेष्ठ र प्रदेशसभाका उम्मेदवार रेणु यादव। -फोटोः सतिशतन्द्र सिंहको फेसबुकबाट।
अर्नमा गाउँ पालिकाका अध्यक्ष अशोक यादव आज आफ्नै पालिकाको १ नम्वर वडामा नेकपा एमाले जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी कार्यालय उद्घाटनमा सहभागी भएको तस्विर सामाजिकमा छाएको छ।
सुखिपुर नगरपालिका प्रमुख रामअवतार यादव नगरपालिकाकै २ र ३ नम्वर वडामा नेकपा एमाले जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी आयोजना गरेको चुनावी प्रचार प्रसार कार्यक्रमलाई सम्वोधन गर्दै गरेको फोटो सिरहा क्षेत्र नम्वर २ प्रदेशसभा ‘ख’ का उम्मेदवार शनुत्रन प्रासद सिंहको फोसबुक आईडी ‘पूर्व रा. मन्त्री मानिनय शत्रुधन प्रसाद सिंह को सचिवालय’ लेखिएको मा पोष्ट गरिएको छ।
चुनावको मिति नजिकिएसंगै सिरहाका जनप्रतिनिधीहरु आचारसंहिता उल्लङ्घन गर्ने होडमै लागेको मतदाताहरु बताउँछन्।
निर्वाचन आचारसंहिता २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचारण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको छ। तर, जनप्रतिनिधीहरु वेवास्ता गर्दै चुनावी शभामा लागिपरेका छन्।
सिरहाको अर्नमा नेकपा एमाले तथा जसपाको चुनावि कार्यालय उद्घाटन गर्दै सिरहा क्षेत्र नम्वर ३ का प्रतिनिधीसभा उम्मेदवार लिलानाथ श्रेष्ठ र साथमा गाउँ पालिका अध्यक्ष अशोक कुमार यादव सेतो वण्डि र हरियो सर्टमा।
-फोटोः सतिशतन्द्र सिंहको फेसबुकबाट।
अर्नमा गाउँपालिका अध्यक्ष अशोक यादवले आफू निर्वाचन कार्यममा सहभागी नभएको बताए। उनले आचारसंहिताले बाँधेकोले आफूहरु चुनावी कार्यक्रममा सहभागी नभएको भन्दै पन्छिए। फोटोको बारेमा पुरानो फोटो भएको भन्दै आफ्नो बचाउन गरे।
सिरहा र सुखिपुर नगरपालिकाका प्रमुखहरुलाई फोन सम्पर्कगर्दा उनीहरुले फोन उठाएनन्।
निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु आफ्नै पालिकाको चुनावी कार्यक्रमहरुमा सहभागी भएको आधिकारीक जानकारी नआएको बताए।