वीरगञ्ज, २० कात्तिक। २०४९ सालदेखि २०७९ सालसम्म पटक–पटक अवसर पाएर पनि केही गर्न नसकेका अजय द्विवेदीले विकास र परिवर्तनका दिवासपना देखाइरहेका छन्। पार्टीबाट टिकट नपाएपछि वागी उम्मेदवारी दिएका द्विवेदीले यसपटक पनि दिवा सपना देखाएर मत माग्दै हिँडीरहेको मतदाताको आरोप लगाएका छन्।

ab-mall 1

तिन दशकदेखि नेपाली कांग्रेसको झण्डा बोकेर पार्टीको लागि मरिमेट्ने जेलनेलसमेत भोगी आजको दिनमा बिरामी भएर थला परेका नेताले दुखेसो पोख्दै पटकपटक अवसर पाएर पनि द्विवेदीले केही गर्न नसकेको बताए।

४ पटक अवसर पाएर २ पटक जित्दा पनि केही गर्न नसकेका द्विवेदीलाई यसपटक पार्टीले अवसर नदिँदैमा पार्टीको निर्देशनविपरित उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०३६ सालमा विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको आरम्भ गरेका द्विवेदीलाई २०४९ सालदेखि नै पार्टीले २०७४ सालसम्म अवसर दिँदै आएको थियो।

२०४९ सालमा तत्कालिन वीरगञ्ज नगरपालिकाको उपमेयरको टिकट पार्टीले उनलाई नै दियो। उनले टिकट मात्रै पाएनन्, जिते पनि । तत्कालिन वीरगञ्ज नगरपालिकाको मेयरमा माधवलाल श्रेष्ठ हुँदा उपमेयर बनेका द्विवेदीले आफ्नो कार्यकालमा नगरबासीको लागि कुनै काम गर्न नसकेको उनकै समकक्षीहरु बताउँछन्।

उपमेयरमा जितेका द्विवेदीलाई नै पार्टीले फेरी अर्काे सुनौलो अवसर दियो। २०६४ सालको पहिलो संविधान सभा सदस्यको निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट टिकट पाएर निर्वाचित भएका द्विवेदीको उक्त कार्यकाल पनि स्मरणयोग्य बन्न सकेन। न त उनले उपमेयर हुँदा केही गर्न सके, न त संविधान सभा सदस्य हुँदा नै।

यति मात्रै हैन, उनी नै पर्सा जिल्लामा नेपाली कांग्रेसको पार्टी सभापति हुँदा पर्सामा कांग्रेस ईतिहासमै कमजोर प्रमाणित भएर पर्साका सबै क्षेत्रमा मधेशवादी दलले कब्जा जमायो। प्रजातान्त्रिक पद्धतीबाट एकपटक र पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा अर्काेपटक गरी २ कार्यकाल सभापतिको जिम्मेवारी सम्हालीसकेका द्विवेदीले जनार्दन सिंह क्षेत्रीलाई पराजित गर्दै तेस्रो कार्यकाल पनि सभापति भएर पार्टीलाई बलियो बनाउने अवसर प्राप्त गरे।

तथापी उनले अवसरको सदुपयोग भने गर्न नसकेको कांग्रेसकै एक बरिष्ठ नेताले द नेपाल टपसँगको संवादमा बताए।

यसअघि नै २ पटक अवसर पाइसकेका द्विवेदीलाई २०७० सालको दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा पनि पार्टीले टिकट दिएर उम्मेदवार बनायो । त्यतिबेला भने उनी नेकपा एमालेका विचारी यादवसँग पराजित भए। पटकपटक अवसर पाउँदा पनि असफल सावित हुँदै गएका द्विवेदीलाई २०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पनि उम्मेदवार बनायो।

त्यसबेला पनि वीरगञ्जबासीले उनलाई पत्याएनन्। यदि उपमेयर हुँदै संविधान सभा सदस्यसमेत भएको बेलामा जनताको लागि र समाजको लागि काम गरेको भए सायद उनले २ पटक लज्जास्पद हार बेहोर्नु पर्दैन्थ्यो होला भन्ने अड्कलबाजी यतिबेला यहाँका स्थानीयले लगाउन थालेका छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट पाएका द्विवेदी तत्कालिन संघिय समाजवादी फोरमका विजय कुमार सरावगीसँग २ हजार १ सय ९६ मतान्तरले पराजित भए । फेरी उनै मधेशवादी दलकै मेयर सरावगीसँगै आर्थिक सहयोग मागेर उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा पार्टी कार्यालय स्थापना गरे। उनको कार्यकालमा भएको एउटा महत्वपूर्ण उपलब्धी यही नै भएको कांग्रेसकै नेता कार्यकर्ताहरु बताउँछन्।

झण्डै ४ दशकसम्म कांग्रेसमा रहेर पटकपटक अवसर पाउँदा पनि मै खाउँ, मै लगाउँ भन्ने भनाईलाई आत्मसाथ गर्दै यसपटक पार्टीकै निर्देशनविपरित उनी चुनावमा होमिएका छन्। पटकपटक अवसर पाएर पनि केही गर्न नसकेका द्विवेदीले यतिबेला स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विकास र परिवर्तनका सपना बाँडीरहेका छन्। ति दिवासपनामा जनता फस्लान् कि सोचविचार गरेर मतदान गर्लान् भन्ने कुरा मंसिर ४ को निर्वाचनको नतिजाले बताउनेछ।

yamaha bg 1