वीरगञ्ज, १८ कात्तिक। पर्साको क्षेत्र नम्बर ३ (ख) मा त्रिपक्षिय भिडन्त हुने देखिएको छ। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट डा. मधु गुप्ता, नेपाली कांग्रेसबाट जनार्दन सिंह क्षेत्री, नेकपा एकिकृत समाजवादी (एस) पार्टीबाट प्रहलाद गिरी गोस्वामीबिच प्रतिस्पर्धा हुने अवस्थाको पूर्वानुमान अहिलेदेखि नै हुन थालेको छ।
जसपा र एमालेको गठबन्धनबाट डा. गुप्ता साझा उम्मेदवार भएपनि पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार को हो भन्ने नै अन्यौल अँझै छ । एकथरी जमातले कांग्रेसका क्षेत्रीलाई आधिकारीक उम्मेदवार भन्छ भने अर्काे थरीले नेकपा एसका गिरीलाई आधिकारीक भनेर प्रचारप्रसार गरीरहेका छन्।
गिरी सोही क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् । चुनावलक्षित विभिन्न कार्यक्रम एवम् घरदैलोका क्रममा उनले आफु नै सत्ता गठबन्धनको साझा उम्मेदवार भएको भन्दै प्रचारप्रसार गरीरहेका छन् । पर्सा क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र चौधरीसँगै फेटो जोडी ब्यानर बनाएर गिरीका समर्थकहरुले सार्वजनिक गर्दा क्षेत्रीका समर्थकहरुले भने गिरी आधिकारीक उम्मेदवार नभएको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना गरीरहेका छन्।
कम्प्युटरबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँगै फोटो जोड्दैमा बाम गठबन्धनको उम्मेदवार बन्न नसकिने नेपाल विद्यार्थी संघ पोखरिया नगर समितिका सभापति सन्तोष महतो सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्। सत्ता गठबन्धनको साझा उम्मेदवार भए क्षेत्र नम्बर ३ बाट सत्ता गटबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्र चौधरीसँगै घरदैलोमा जान महतोले चुनौती दिएका छन्।
जनतालाई झुक्याएर भ्रम फैलाउने काम नगर्न पनि उनले आग्रह गरेका छन्। साथै कुनै पनि संगठनको उम्मेदवार बन्नका लागि संगठनभित्र रहेर काम एवम् योगदान गरेपछि मात्रै टिकट पाइने हुँदा नेकपा एसभित्र गिरीको योगदान के छ भन्ने कुराबाट सबै जानकार रहेको महतोको भनाइ छ।
तर यथार्थ के हो भने, पर्साको निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा सत्ता गठबन्धनको तर्फबाट कोही पनि उम्मेदवार छैन । माथिबाटै आफै मैत्रिपुर्ण प्रतिस्पर्धा गर्न निर्देशन आएपछि यहाँबाट सत्ता गठबन्धनको उम्मेदवार कोही नभएको नेपाली कांग्रेस पर्साको सभापतिसमेत रहेका सोही क्षेत्रका प्रदेश सभा सदस्यका उम्मेदवार जनार्दन सिंह क्षेत्रीले बताए । जसले जे भ्रम छरेपनि जनता सचेत भएको बताउँदै क्षेत्रीले आगामी निर्वाचनको नतिजाले जवाफ दिने बताएका छन्।