विराटनगर, १३ कात्तिक। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

ab-mall 1

प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार सुदन नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्। एमालेका उम्मेदवार शेरधनलाई भने अन्य पार्टीले सहयोग गरेका छैनन्। यस आधारमा हेर्दा भोजपुरको चुनावी प्रतिस्पर्धामा एमालेका शेरधनभन्दा माओवादी केन्द्रका सुदन अगाडि देखिन्छन्।

अर्कातर्फ केही महिना पहिले भएको स्थानीय तहको निर्वाचनको परिणामले पनि सुदन अगाडि रहेको देखाउँछ। स्थानीय चुनावमा भोजपुरका वडाध्यक्षहरूमा एमालेले कुल २७ हजार ६५६ मत पाएको थियो । उता सत्ता गठबन्धनले वडाध्यक्षहरूमा पाएको कुल मत ३८ हजार ५५६ पुग्छ।

यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा १० हजार ९ सय मतले अगाडि छ। जसका कारण एमालेका शेरधनलाई निर्वाचित हुन जति चुनौतिपूर्ण छ त्यति नै माओवादीका सुदनलाई निर्वाचित हुन सहज छ।

एमालेका उम्मेदवार शेरधन मन्त्रीदेखि मुख्यमन्त्रीसम्म भइसकेका छन्। लामो समय प्रदेश १ को मुख्यमन्त्री हुँदा पनि प्रदेशको नामकरण गर्न नसकेको भन्दै उनको आलोचना हुने गरेको छ।

अर्कातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन भने अहिलेसम्म मन्त्री भएका छैनन् । पटक(पटक सांसद भएका उनी बेदागी छविका नेताका रूपमा चिनिन्छन्। आफ्नो अडान स्पष्टताका साथ राख्ने, जनताको समस्या केन्द्रसम्म पुर्‍याउने र संसदमा हुने तीव्र बहसमा स्पष्टताका साथ प्रस्तुत हुने जस्ता कारणले सुदनप्रति मतदाताको सद्भाव रहेको छ।

चुनावी मैदानमा सुदन र शेरधनको दुईपटक जम्काभेट भइसकेको छ । २०६४ को निर्वाचनमा सुदनले शेरधनलाई पराजित गरेका थिए भने २०७० मा शेरधनले सुदनलाई। २०७४ को निर्वाचनमा भने सुदन र शेरधन दुवै वाम गठबन्धनका उम्मेदवार थिए । त्यतिबेला सुदन प्रतिनिधिसभा र शेरधन प्रदेशसभाका उम्मेदवार थिए । २०७४ मा दुवै निर्वाचित भए।

तर, अहिले परिस्थिति फेरिएको छ। २०७० मा भोजपुरमा माओवादीलाई पराजित गर्ने एमाले फुटिसकेको छ। भोजपुरकै प्रभावशाली नेता राजेन्द्र राई एकीकृत समाजवादीमा छन्। उनी प्रदेश १ को मुख्यमन्त्री भइसकेका छन् । उनी भोजपुरबाटै प्रदेशसभाका लागि गठबन्धनको साझा उम्मेदवार छन्। जसका कारण सुदनलाई शेरधनभन्दा निकै सहज देखिएको स्थानीयहरू बताउँछन्।

yamaha bg 1