मकवानपुर, १० कात्तिक। हेटौडा उपमहानगरपालिका १० टिसिएनमा रहेको तरकारी बजारमा आगलागी हुँदा लाखौं मूल्यको सामान जलेर नष्ट भएको छ। स्थानीय मिना साहको होटलबाट बिहीवार सल्किएको आगो तरकारी बजारमा फैलिएको हो।
आगलागीबाट यहाँका आधा दर्जनभन्दा धेरै तरकारी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा निभाइएको थियो।
आगलागी भएपछि बसपार्कभित्र रहेका ग्यासका सिलिन्डर पड्किँदा स्थानीयवासी त्रसित भएका थिए। तरकारी बजार नजिकै रहेको होटलबाट सल्किएको आगो हेटौँडा उपमहानगरपालिकाको दमकल तथा सशस्त्र, जनपथ प्रहरी, स्थानीयवासीको सहयोगमा झन्डै एक घण्टापछि निभाइएको हो।
हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेको यस तरकारी बजारमा टिन र काठले बनाइएका पूर्वाधार भएकाले आगो निभाउन कठिन भएको थियो। आगलागिको कारणभने खुल्न सकेको छैन।