धनुषाधाम, १५ असोज।  धनुषामा टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा पल्टिँदा पुरिएका एक क्रसर सञ्चालकको मृत्यु भएको छ। गिट्टी वालुवाले पुरीएर शख्त घाइतभएका मिथिला नगरपालिका ३, लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उद्योग सञ्चालक ३६ वर्षीय हरि महतोको उपचारको क्रममा मृत्यु भएको हो। 

गिट्टी–बालुवाले पुरिएका उनलाई उद्योगमै रहेको जेसीबीको सहयोगमा तत्काल उद्धार गरी गम्भीर घाइते महतोलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैयामा पठाइएको थियो। तर उपचारकै क्रममा बिहान १०ः२० बजे महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी ओमप्रकाश खनालका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे उद्योगमा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा अचानक पल्टिएको थियो।

दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका ६, गोदारका करिब ३० वर्षीय हरि बहादुर बिश्वकर्मासमेत घाइते भएका छन्।

उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको डिएसपी खनालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।