वीरगञ्ज, ४ कात्तिक। निर्वाचन हुने दिनभन्दा १७ दिन अघिदेखि मात्रै प्रचारप्रसारका गतिविधि गर्न पाउने निर्वाचन आचारसंहिता (२०७९) ले व्यवस्था गरेका छ। जसलाई आधार मान्ने हो भने राजनीतिक दल एवम् उम्मेदवारहरुले कात्तिक १८ गतेदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन्। तर त्यसको विपरित आचारसंहिताको उलंघन गर्दै समयभन्दा अघिदेखि नै दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन्।
ठूलो–ठूलो साउण्ड साउण्ड बक्समार्फत मतदान गर्न आग्रह गर्दै पर्चा पम्पलेट वितरण गर्नुको साथै ब्यानर टाँगेरै प्रचार प्रसारका गतिविधिहरु भइरहेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले चुनावी अभियानका क्रममा आचारसंहितालाई उल्लङ्घन गरीरहेको पाइएको छ। आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरीहरु देशैभरबाट उल्लेख्य मात्रामा पर्नुले पनि यसलाई थप पुष्टि गर्छ।
कोणसभा गर्न बन्द लगाउनुका साथै नाचगान एवम् बाजागाजा केही नगरी बढीमा २५ जनासम्मको उपस्थितीमा घरदैलो गर्न सकिने आचारसंहितामा उल्लेख छ। निर्वाचन अनुगमन समितिले निरन्तर अनुगमन गर्न नसक्दा पर्सासहित देशैभर निर्वाचन आचार संहिता उल्लङघनका घटनामा बृद्धि भएको हो।
कोणसभा, आमसभा, गोष्ठी, सेमिनार लगायतका कुनै पनि विषय निर्वाचन प्रचार प्रसारको प्रयोजनका लागि गर्न नपाउने भनिएपनि आचारसंहिताको पालना भने कसैले गरेको पाइँदैन।
पर्साको निर्वाचन क्षेत्र नम्बर ३ बाट जसपा र नेकपा एमालेको गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ता र प्रदेश सभा सदस्यका उमेदवार मधु रौनियारको चुनावी प्रचारमा डिजेबाजा सहितको गाडी प्रयोग भएको छ ।
पर्सा क्षेत्र नम्बर १ मा पनि निर्वाचन आचार संहित विपरित घरदैलो कार्यक्रम र ब्यानर सहित ठूलो संख्यामा प्रचारप्रसार कार्यक्रम भइरहेको छ।
निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले निर्वाचन आचार संहित उल्लंघनका एउटा मात्र उजुरी परेको र त्यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताले सुचना हटाएपछि समाधान भएको वताए। डिजेबाजा, व्यानर र झण्डा सहित गाउँटोलमा प्रचार भएको विषयमा कुनै जानकारी नभएको उनले वताए ।
आचार संहिता विपरित कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्र कार्कीको संयोजकत्वमा गठित आचार संहिता अनुगमन समितिले प्रभावकारी अनुगमन नगरेका कारण आचार संहिता उलंघनका घटना बढेको सरोकारवालाको बुझाई छ।
आचार संहित जिल्ला अनुगमन समितिका प्रमुख रुद्र कार्कीले आफू कहाँ कुनै उजुरी नपरेकाले त्यस सम्वन्धमा अनविज्ञता प्रकट गरे। बिहिवार मात्र मेरो कार्यालय अगाडी लालटिन छापको ब्यानर देखे र सम्वन्धित उम्मेदवारलाई फोन गरेर हटाउनु भनेको छु कार्कीले भने।
बुधवार पर्साको मुख्य निर्वाचन अधिकृत सहित ४ वटै निर्वाचन क्षेत्रका अधिकृतहरुले अचार संहिता उल्लंघन नगर्न उम्मेदवारहरुलाई आग्रह गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गरेर निर्वाचन आचार संहिता उलंघन गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनीे दिएका छन्।