काठमाडौं, २ कात्तिक। आगामी मंसिर ४ गते देशैभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभाको लागि सत्तारुढ गठबन्धनका साझा उमेदवारको रूपमा सूर्यमान दोङ 'लालध्वज' मैदानमा उत्रिएका छन् । २०६४ सालमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा २८ हजार ८ सय मत ल्याइ विजयी भएका लालध्वज यसपटक विगतको आफ्नै रेकर्ड तोड्ने अभियानमा छन् ।
को हुन् लालध्वज ?
काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, मुक्पामा वि.सं. २०२७ साल बैशाख १ गते बुबा इमान सिं तामाङ र आमा माइली तामाङको माइलो छोराको रूपमा सूर्यमान दोङ (लालध्वज) को जन्म भएको हो ।
माओले भनेझैँ सूर्यमान दोङ (लालध्वज) झुप्रोबाट जन्मिएका सभ्यता हुन् । सामन्ती सुदखोरविरुद्ध ग्रामिण वर्ग संघर्षको एक योद्धा हुन् उनी । उनी ग्रामिण किसानमाथिको अन्याय अत्याचारले कम्युनिष्ट बनेका थिए । युग परिवर्तन गर्ने महान जनयुद्धका एक कुशल कमाण्डर हुन् लालध्वज ।
शान्तिपूर्ण राजनीतिमा आएपछि पनि विपक्षी राजनीतिक दलका नेता, कार्यकर्ताहरूको समेत ढुकढुकी बन्न सफल नेता लालध्वज जनताका सुखदुःखका साथी हुन् । संघर्षशील राजनीतिका एक योद्धा लालध्वजले यसपटक वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको जिम्मेवारी पाएका छन् ।
ग्रामिण वर्गसंघर्ष र राजनीतिमा प्रवेश
गरिब किसान परिवारमा जन्मेका उनले सानैदेखि शोषण र दमनमा परेका किसानको पक्षमा आवाज उठाए । ‘गाउँमा सामन्ती शोषण थियो । सुदखोरी थियो । हामीमाथि निक्कै अन्याय गरेको थियो,’ विगत सम्झिँदै लालध्वज भन्छन्, ‘शोषण, अन्या र अत्याचारको विरुद्ध मैले बोलेँ ।’
यही क्रममा उनले वर्ग संघर्षको सिद्धान्त बोकेको पार्टी, अन्याय अत्याचार, शोषण, दमनका विरुद्ध बोल्ने पार्टी फेला पारे । उनले २०४४ सालमा नेकपा (मशाल) अर्थात बोलिचालीमा मोटो मशाल पार्टीलाई भेट्टाए । प्रचण्डले नेतृत्व गरेको सो पार्टी भेटेपछि सोही सालमै उनी सेल कमिटीको सदस्य भए ।
लालध्वजले पञ्चायतविरोधी आन्दोलनमा पनि भाग लिए । संयुक्त जनआन्दोलन संयोजन समितिको नेतृत्वमा चालेको क्रान्तिकारीहरूको आन्दोलनमा लालध्वज पनि सहभागी भएका थिए । त्यतिखेर नै उनले गणतन्त्रको नारा सडकमा घन्काएका थिए ।
‘हामी नौलो जनवादी क्रान्ति गर्दै थियौँ । हामी जनवसम्म नौलो जनवादी व्यवस्था स्थापना हुँदैन तबसम्म निरन्तर संघर्ष गर्ने पक्षमा थियौँ,’ उनी भन्छन्, ‘तर, सम्झौता भयो । बहुदलीय व्यवस्थाको स्थापना भयो । तैपनि निरंकुश पञ्चायतभन्दा त यो प्रगतिशिल नै थियो ।’
२०४६ सालको परिवर्तनपछि लालध्वज
२०४६ सालको आन्दोलनपछि नेपालमा क्रान्तिकारी ध्रुवीकरणले तिब्रता पायो । सोही क्रममा नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारावादी श्रमिक संगठन र नेकपा (चौम) बीच पार्टी एकता भई नेकपा (एकता केन्द्र) निर्माण भएपछि लालध्वज २०४८ साल नेकपा (एकता केन्द्र) को तेमाल इलाका कमिटी सदस्य भए । २०४९ सालमामा सम्पन्न जनवादी युव लिग काभ्रेको भेलाबाट उनी जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।
त्यसैगरि उनी २०५० मा अखिल नेपाल थाङ्का कला मजदुर संगठनको केन्द्रिय सदस्य भए ।
माओवादी निर्माण देखि २०६२/६३ सालसम्म लालध्वज
नेकपा (एकता केन्द्र) निर्माणपछि पार्टीभित्र मुख्यतः क्रान्तिको मोडलको बारेमा तिब्र बहस चलिरहेको थियो । नेपालको सन्दर्भमा ‘रसियन मोडल या चाइनिज मोडल’ भन्ने बहस निक्कै पेचिलो ढंगले चल्यो । ‘यो बहसमा हामी निक्कै चासो र चिन्ताका साथ लाग्यौँ । निक्कै ठूलो बहस भयो,’ लालध्वज भन्छन्, ‘अन्ततः २०५१ सालमा पार्टी विभाजन भयो । हाम्रो लाइनले ‘नेकपा (माओवादी) पार्टी निर्माण गरेर अघि बढ्यौँ ।’
२०५१ सालमा पार्टी विभाजन भएपछि उनले नेकपा (माओवादी) को पूर्वाञ्चल ब्यूरोको कार्यालय स्टाफ भएर काम गरे । भूमिगत अवस्थमा समेत पार्टी हेडक्वार्टरसँग सिधा सम्बन्ध भएका नेताहरूमध्ये लालध्वज पनि एक थिए । पार्टीको तत्कालीन पूर्वाञ्चल ब्यूरो इन्चार्ज यानप्रसाद गौतम (आलोक) सँगै भएको कारण अध्यक्ष प्रचण्डसँग त्यतिखेर देखि नै चिनजान भइसकेको थियो ।
जनयुद्धको तयारी र शुरुवातमा लालध्वज
पार्टीले शसस्त्र जनयुद्ध गर्ने रणनीति लिएपछि लालध्वज यसको तयारीमा पूरै लागेका थिए ।
‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गरौं,’ भन्ने मूल नाराका साथ २०५२ साल फागुण १ गतेका दिन सुरु भएको जनयुद्धको पहिलो मोर्चा सिन्धुलीगढी प्रहरी चौंकी आक्रमणमा उनी सहभागी भएका थिए । ‘हाम्रो पहिलो फौजी मोर्चा थियो । सफल भयो,’ उनी भन्छन् ।
यसैगरी २०५३ साल पौष १९ गते रामेछापको वेथान मोर्चामा समेत उनी सहभागी भए । सो मोर्चामा जिल्ला सेक्रेटरी समेत रहेका पार्टी नेता तिर्थ गौतमको सहादत भएपछि लालध्वज पार्टीको काभ्रे–रामेछाप जिल्ला समिति सदस्यमा चयन भए ।
त्यसपछि उनले मुख्यतः तेमाल, महाभारत, खानीखोला र ललितपुरको दक्षिणी इलाकामा पार्टी र आन्दोलनलाई स्थापित गर्ने काममा लागे । कठोरपूर्ण भूमिगत अवस्थामा समेत पार्टीको संगठन निर्माण, विस्तार र सुदृढीकरणमा लागेका थिए ।
सो क्रममा तत्कालीन सरकारले २०५५ सालमा चलाएको किलोसेरा टु अप्रेसनको प्रतिरोध गर्दै पार्टी, कार्यकर्ता र जनताको रक्षाका लागि इलाका सेक्रेटरीको भूमिकामा रहेर कुशल नेतृत्व गरेका थिए उनले ।
निरन्तर अगाडि बढ्ने क्रममा २०५७ सालमा उप–क्षेत्रीय ब्यूरो सदस्य, २०५८ सालमा क्षेत्रीय ब्यूरो सदस्यमा चयन भएका थिए । साथै २०५८ मा काभ्रे जिल्ला सेक्रेटरी समेत भए ।
जनमुक्ति सेनाको कम्पनी कमिसार, बटालियन कमिसार हुँदै २०५९ सालमा रामेछाप, सिन्धुली र काभ्रेको जनमुक्ति सेना नेपालको रेजिनल कमान्डको कमिसारको भूमिका समेत उनले निर्वाह गरेका थिए ।
विभिन्न समयमा जिल्ला इन्चार्जको समेत भूमिका निर्वाह गर्दै २०६३ सालमा पार्टी केन्द्रीय समिति सदस्य समेत भएका थिए । निरन्तर केन्द्रीय सदस्य हुँदै हाल आठौँ महाधिवेशनबाट पोलिटब्युरो सदस्य चयन भएका छन् भने काभ्रे जिल्ला इन्चार्जको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् । स्थानीय तहको निर्वाचनमा उनको कुशल नेतृत्वका कारण काभ्रेको १३ स्थानीय तह मध्य ४ वटामा अध्यक्ष र ४ वटामा उपाध्यक् सहित २५ वटा वडामा आफ्नो पार्टीको बर्चस्व कायम गराउन सफल भएका छन् ।
जनप्रतिनिधिको रुपमा लालध्वज
माओवादी जनयुद्धको जगमा सम्पन्न २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाको सदस्यमा उनी चयन भएका थिए । २०६४ सालमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा २८ हजार ८ सय मत ल्याइ विजयी भएका लालध्वज डा. बाबुराम भट्टराई पछिको लोकप्रिय मत ल्याउनेमा पर्छन् ।
सोही क्रममा २०६८ सालमा उर्जा राज्यमन्त्री समेत भएका उनले उर्जा क्षेत्रमा निक्कै विकास गरेका छन् । २०७० सालमा सप्पन्न संविधान सभा निर्वाचनमा भने झिनो मतले पराजित भएका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन–२०७४ मा भने उनी उम्मेदवार बनेनन् तर आफ्ना पार्टीको उम्मेदवारलाई जिताउन उनले पार्टी जिल्ला इन्चार्जको हैसियतले भूमिका खेले । उनको कुशल नेतृत्वकै कारण वाम गठबन्धनका सबै उम्मेदवारहरुले काभ्रेको सबै क्षेत्रमा जीत हाँसिल गर्न सफल भयो ।
काभ्रेमा समृद्धिको जग बसाल्ने लालध्वज
माओवादी जनयुद्धकै बेला पनि लालध्वजको नेतृत्वमा विकासको पूर्वाधारको जग निर्माण गरिएको थियो । सडक निर्माण देखि शिक्षा र बिजुलीसम्मको कार्य उनकै नेतृत्वमा भएको थियो । ग्रामिण क्षेत्रको कष्टकर जीवनलाई सहजमा बदल्न उनले भूमिगत कालमा समेत धेरै काम गर्न खेजे ।
सहिद मार्गको नामाकरण गरेर उनकै नेतृत्वमा जनमुक्ति सेनाले मकवानपुरको भोर्लेनी देखि महाभारतको घर्तिछापसम्म सडक निर्माण युद्धकालमै निर्माण गरेको थियो ।
त्यस्तै विभिन्न ठाउँमा भत्केको विद्यालय भवन समेत उनकै नेतृत्वमा जनमुक्ति सेनाले निर्माण गरेको थियो ।
काभ्रेको तेमालमा विद्युतिकरणको योजनाकार र पहलकर्ता नै लालध्वज थिए । भूमिगत कालमा समेत जनतालाई अन्धकारबाट हटाएर उज्यालो दिन चाहने नेता लालध्वजकै कारण आज तेमालबासी उज्यालोमा छन् ।
जनप्रतिनिधि भइसकेपछि विकास र समृद्धिको अभियानमा लाग्न झन सहज भयो । मुख्यतः ग्रामिण क्षेत्रलाई सडक र विद्युतसँग कसरी जोड्ने भन्ने चिन्ता उनमा थियो । सोही अनुसार उनले विकट क्षेत्रको रुपमा परिचित डाँडापारी क्षेत्र र कोशिपारी क्षेत्र, अनि तेमाल र रोशी क्षेत्रमा सडक निर्माणको पहल नै उनले गरे । साविकको सबै गाविस छुने गरि सडक सञ्जालको जग बसाल्ने शुरुवात कर्ता नै लालध्वज हुन् ।
खोपासी तालढुंगा सडक निर्माण अलपत्रमा थियो । उनकै सचेत पहलमा आज व्यवस्थित भएको छ । दोलालघाटदेखि कोशिपारी क्षेत्रको भुम्लु हुँदै वाङथली, ढाँडखर्क भञ्ज्याङ, बिर्तादेउराली–कात्तिके देउराली सडक, ढाँडखर्क देखि माझीफेदा हुँदै नाग्रेगगर्चेसम्मको सडक निर्माणको पहल लालध्वजले नै गरेका थिए ।
तेमाल र रोशी क्षेत्रमा समेते सडकहरु निर्माणकार्यको शुरुवात उनले नै गरेका थिए ।
काकाकुल तेमालका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजनाकार समेत लालध्वज हुन् । उनकै परिकल्पना र पहलमा आएको तेमाल बृहत खानेपानी योजना हाल अन्तिम चरणमा पुगेको छ । साथै तेमालमा तामाङ संग्रहालय निर्माण समेत शुरुवात भइसकेको छ ।
अन्य क्षेत्रमा खानेपानी, विद्यालय भवन निर्माण लगायतका कार्यहरु भएको छ ।
लालध्वजः नामै काफी
गठबन्धन दलहरूको साझा उम्मेदवारको रुपमा लालध्वजलाई पार्टीले उभ्याएको छ । जनता प्रति इमान्दार, राष्ट्र प्रति वफादार र युवाहरुको ढुकढुकीको रुपमा आफूलाई उभ्याउदै आएका उनलाई मन नपराउने सायद कोही पनि छैनन् । बालकालिकादेखि ज्येष्ठ नागरिकसम्मको प्यारो नेताको रुपमा जिल्ला भरि चिन्दछ उनलाई । समस्याको उपायको पर्याय बनेको लालध्वज काभ्रेको प्रभावशाली नेताको रुपमा परिचित छ ।
राजनीतिक रुपमा विभेद नगर्ने समान रुपमा व्यवबहार गर्ने नेताको रुपमा उनी काभ्रेमा स्थापित छ । आगामी निर्वाचनमा विजयी हुने आधार नै जनताको उनी प्रतिको विश्वास र अपेक्षा हो । सिधै अध्यक्ष प्रचण्डसँग सम्बन्ध भएको काभ्रेको नेताको रुपमा उनलाई चिनिन्छ ।