वीरगञ्ज, १ कात्तिक। २०७४ सालको निर्वाचनमा पराजय बेहोरेका ३ जना नेता प्रतिनिधि सभा सदस्यको दौडमा दौडीरहेका छन्। पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका ३ जना नेताहरु पुनः चुनावमा होमिएका हुन्।

garden

सत्तारुढ ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी, जसपा र नेकपा एमालेको गठबन्धनबाट नेकपा एमालेका राजकुमार गुप्ता र नेपाल सुशासन पार्टीबाट राजकुमार यादव क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा होमिएका हुन्।

यी तिनै जनालाई हराएर यसअघिको निर्वाचनमा निर्वाचित भएका हरिनारायण रौनियार निलम्बीत भएपछि पराजित भएकाहरुमध्येबाटै एक जनाले यसपाली बाजी मार्ने पक्का छ।

यसअघि तत्कालिन संघिय समाजवादी फोरमबाट रौनियार १५ हजार १ सय ६८ मत पाएर निर्वाचित हुँदा पूर्व मन्त्रीसमेत भइसकेका सुरेन्द्र प्रसाद चौधरी १३ हजार ८ सय १ मतका साथ दोस्रो, १० हजार ९ सय ८६ मत ल्याएर राजकुमार गुप्ता तेस्रो र नेपाल संघीय समाजवादी पार्टीबाट चुनाव लडेका राजकुमार यादव १० हजार ९ मतका साथ चौथो स्थानमा रहेका थिए त्यो बेलाको मत परिणामलाई हेर्ने हो भने पनि यि तीन नेताबिचको टक्कर रोचक हुने अनुमान लगाउन सकिन्छ। सुरेन्द्र प्रसाद चौधरी र राजकुमार गुप्ता यसअघि पनि निर्वाचित भइसकेका व्यक्ति हुन् भने राजकुमार यादव अवसर पाउने होडबाजीमा छन्।

आफु उम्मेदवार बन्न नपाउने भएपछि रौनीयारले आफ्नी छोरी मधु गुप्तालाई अघि सारेका थिए। प्रतिनिधि सभा सदस्यका लागि छोरीलाई अघि सारेका रौनियारले अचानक जसपा र एमालेको गठबन्धन भएपछि प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएका छन्। गुप्ता पर्साको क्षेत्र नम्बर ३ (क) की जसपा र एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यकी उम्मेदवार हुन्।
क्षेत्र नम्बर ३ का जनता भने नयाँ र सक्षम अनुहार कोही नआएको भन्दै असन्तुष्टी पोखिरहेका छन्।

यसअघि रौनियारलाई मत दिएर जिताएपनि उनी निलम्बीत भएपछि सो क्षेत्रमा अपेक्षित विकास निर्माणका काम नभएको स्थानीय रामप्रित महतोको गुनासो छ। महतोको मात्रै नभएर क्षेत्र नम्बर ३ का अधिकांश मतदाताको मत यस्तै छ। कोही पनि आश लाग्दो उम्मेदवार नभएपछि पुरानै मध्य एक जनालाई मत दिनुपर्ने बाध्यता रहेको सोही क्षेत्रका हिरालाल कुशवाहाले बताए।

ab mall